Incident Reports

पत्रकार डेकेन्द्र थापा मुद्दाको फैसला

2014-12-07

Yagya Raj Thapa जिल्ला अदालत दैलेखमा २० महिनादेखि विचाराधिन रहेको पत्रकार डेकेन्द्रराज थापा हत्यासम्बन्धी मुद्दाको जिल्ला अदालतले मङ्सिर २१ गते फैसला गरेको छ । जिल्ला न्यायाधीस डिल्लीरत्न श्रेष्ठले मङ्सिर १५ गते वादी र प्रतिवादी दुवै पक्षका कानुन व्यवसायीको बहस सुनेपछि फैसला सुनाएका हुन् । जिल्ला न्यायाधीश श्रेष्ठले पुर्पक्षका लागि थुनामा रहेका माओवादी कार्यकर्ताहरू निरकबहादुर घर्ती मगरलाई दुई वर्ष लक्षीराम घर्ती मगरलाई एक वर्ष६ महिना, वीरबहादुर केसीलाई एक वर्षकैद सजाय तोकेका छन् । साधारण तारेखमा छुटेका जयबहादुर शाही र हरिलाल पुनलाई पनि दुई वर्षकैद सजाय तोकिएको छ । त्यसैगरी फरार रहेका माओवादी कार्यकर्ता मुक्ति भनिने बमबहादुर खड्का, अरुण भनिने बमबहादुर खड्का, भक्तिराम लामिछाने र केशव खड्कालाई हाजिर भएको वा गिरफ्तार भएको वखत कारबाही र किनारा गर्ने गरी मुल्तवीमा राखिएको न्यायाधीश श्रेष्ठले वताए। दुवै पक्षका कानून व्यवसायीद्वारा इजलासमा पेश गरिएका लिखित बहस नोट र प्राप्त मिसिल अध्ययन गरी फैसला सुनाईको र फैसलामा चित्त नबुझे वादी प्रतिवादीले पुनरावेदन गर्न सक्ने जानकारी पनि न्यायाधीश श्रेष्ठले जानकारी गराए । पत्रकार डेकेन्द्र हत्याका आरोपितहरू लक्षीराम घर्ती मगर, वीरबहादुर केसी ०६९ पुष २१ गतेदेखि पुर्पक्षका लागि थुनामा रहेकाले निजहरूको ठहरे बमोजिम कैद सजाय भुक्तान भइसकेकाले कैद मुक्त गर्न जिल्ला कारागार शाखा दैलेखलाई फैसलामा आदेश गरिएको छ । सोही फैसलामा अन्य तीन जनालाई सोही मितिमा पुर्पक्षका लागि थुनामा राख्न आदेश दिइएकोमा सोही मितिबाट कैद कट्टा हुने गरी कैदी पुर्जी दिई बाँकी कैद असुल गर्न आदेश गरिएको छ। जाहेरवाला पत्रकार डेकेन्द्रकी पत्नी लक्ष्मी थापाका तर्फबाट बहस गर्ने अधिवक्ताहरुले सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन आकषिर्त हुन नसक्ने भएकाले विद्यमान फौजदारी कानुनको अधिनमा रहेर अभियोग माग दावीबमोजिम कारबाही हुनुपर्ने जिकिर गरेको र सङ्क्रमणकालीन न्याय संरचनाले नियमित न्याय प्रणालीलाई विस्थापित गर्न नसक्ने हुँदा मुलुकी ऐनको ज्यानसम्बन्धी महल बमोजिम सजाय हुनुपर्ने र प्रतिवादी पक्षका कानुन व्यवसायीले डेकेन्द्रजस्ता सशस्त्र द्वन्द्वकालीन घटना सम्बन्धमा राजनैतीक दलबीच भएको १२ बुँदे समझदारी, विस्तृत शान्ति सम्झौता, अन्तरिम संविधानको मर्म अनुरुप सरकारले विशेष कानुन ल्याएकाले सोही कुरालाई आधार बनाएर फैसला हुनपर्ने जिकिर रहेको उक्त फैसलामा उल्लेख गरिएको छ । सदरमुकाममा अवरुद्ध खानेपानी सुचारु गराउन तत्कालीन विद्रोही माओवादीसँग वार्ता गर्न भनी पत्रकार डेकेन्द्र ०६१ असार ९ गते गाउँ गएका थिए । वार्तापश्चात घर फिर्दै गरेका डेकेन्द्रलाई माओवादी मिलिसियाले पुनः अपहरण गरी तोली, बालुवाटार हुँदै द्वारीमा ४५ दिन बन्धक बनाई ०६१ साउन २७ गते निर्मम हत्या गरेका थिए । पत्रकार डेकेन्द्र की पत्नी लक्ष्मी थापाले मुद्दा दर्ता गरेको ५ वर्षछि ०६९ पुसमा प्रहरीले अनुसन्धान सुरु गरी माघ १५ गते अदालतमा अभियोगपत्र दायर गरेको थियो ।

0 Comments

Related Reports