Incident Reports

दुई जिल्लाका ६ इन्जिनियरसहित १४ विरुद्ध विशेष अदालतमा मुद्दा

2015-01-06

Sudurpashchim, Kailali, Ghodaghodi

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुदूपश्चिमका दुई जिल्लामा विकास बजेट दुरुपयोग गरेको अभियोगमा संलग्न ६ जना इन्जिनियर सहित १४ जना विरुद्ध विशेष अदालतमा मुद्वा दायर गरेको छ। ग्रामीण सडक तथा भवन निर्माणमा अनियमितता भएको पाइएपछि संलग्न सरकारी कर्मचारी तथा उपभोक्ता समितिका पदाधिकारी विरुद्व हालै विशेष अदालतमा मुद्वा दायर गरिएको अख्तियारको सुदूरपश्चिम क्षेत्रीय सम्पर्क कार्यालयले जनाएको छ। 'उजुरी परेको थियो, छानविन गर्दा अनियमितता भएको पाइएपछि मुद्वा दायर गरेका हौं' अख्तियारको क्षेत्रीय सम्पर्क कार्यालय महेन्द्रनगरका उपसचिव बिष्णुसिंह बिष्टले भने–'कार्यालय अधिकृत, इन्जिनियर, ओभरसियर तथा उपभोक्ता समितिको मिलेमतोमा रकम हिनामिना भएको पाइएको छ।' दुवै योजना गत आर्थिक वर्षका हुन्। डोटीको घाँगल–सुनालेख ग्रामीण सडक निर्माणमा गत आर्थिक वर्षमा करिब २५ लाख रुपैयाँ अनियमितता भएको पाइएको उनले बताए। कामको खाद्यान्न कार्यक्रम अन्तरगत जिल्ला विकास समिति डोटीले निर्माण गरिरहेको उक्त सडकका लागि गत आर्थिक वर्षमा ५० लाख रुपैयाँ बजेट विनियोजन गरिएको थियो। क्रमागत योजनामा पर्ने सडकमा इन्जियिनर, प्रशासनका कर्मचारी, उपभोक्ता समितिसहित ८ जनाको मिलेमतोमा करिब २५ लाख रुपैयाँ अनियमितता भएको अनुसन्धानले देखाएको बिष्टले बताए। उक्त योजनाको रकम हिनामिनामा संलग्न रहेको अभियोगमा सव–ईन्जिनियर रामचन्द्र भण्डारी, ओम थापा र रविन्द्रबहादुर सिंह, जिल्ला प्रशासन कार्यालय डोटीका खरिदार तेज बहादुर खड्का, सडक निर्माणका लागि गठन भएको उपभोक्ता समितिका अध्यक्ष भजनसिंह मल्ल, समितिका कोषाध्यक्ष चन्द्रा घर्ती, सचिव नेत्रबहादुर जेठारा र समाजिक परिचालक शिव सार्की विरुद्ध मुद्दा दायर गरिएको हो। यस्तै बाजुरामा महिला विकास कार्यालय अन्तरगत सहकारी भवन निर्माणमा महिला विकास अधिकृत सहित ६ जना विरुद्व मुद्वा दायर गरिएको छ। साप्पाटा गाविसमा सिर्जन महिला सहकारी संस्थाको भवन निर्माणका लागि छुट्याइएको ११ लाख रुपैयाँ बजेट हिनामिना भएको पाइएको अख्तियारको क्षेत्रीय सम्पर्क कार्यालयले जनाएको छ। गत वर्ष नै निर्माण सक्नुपर्ने उक्त भवन निर्माणमा छुट्याइएको ११ लाख नै निकासा भइसकेको तर काम भने ४ लाख जतिको मात्रै भएको पाइएको बिष्टले जानकारी दिए। 'भवन बनेको छैन। तर बजेट भने सबै निकासा गरेको पाइयो' उपसचिव बिष्टले भने–'७ लाखजति रकम हिनामिना भएको देखिएको छ।' रकम अनियमिततामा महिला विकास कार्यालयका अधिकृत गीता महत, ईन्जिनियर दिपक रोकाया, प्रेम लाल जैसवाल, यज्ञ प्रसाद ढुङगाना, भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष बाजुरी बिक र कोषाध्यक्ष मथरी न्यौपाने विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको हो। अख्तियारको क्षेत्रीय सम्पर्क कार्यालय खुलेपछि विकाससंग सम्बन्धित ठूला योजनामा पहिलो पटक मुद्वा दायर गरिएको हो। क्षेत्रीय सम्पर्क कार्यालय खुले पनि भ्रष्टाचार निवारण र परेका उजुरीमाथि छानविन ढिलो हुने गरेको आरोप लागिरहेका बेला अख्तियारको क्षेत्रीय सम्पर्क कार्यालयले मुद्वा दायर गरेको हो। क्षेत्रीय सम्पर्क कार्यालय खुलेको एक वर्षभन्दा बढी समयमावधिमा सबैभन्दा बढी शिक्षासंग सम्बन्धित मुद्धाहरु परेका छन्। नौ वटै जिल्लामा शिक्षाका ३ सय भन्दा बढी उजुरी परेका उपसचिव बिष्टले बताए। यस्तै विकास निर्माण, वन, स्वास्थ्य सम्बन्धी उजुरीहरुको संख्या बढी रहेको र उजुरीमाथि छानविन भईरहेको उनले बताए।
National/Online Media

0 Comments