Incident Reports

नापी कार्यालयका सर्वेक्षक घुस लिँदालिँदै फेरि रंगेहात पक्राउ

2015-01-07

सर्वसाधारण सेवाग्राहीसँग घुस लिँदै गर्दा नापी कार्यालय भैरहवाका सर्वेक्षक राजाराम यादव रंगेहात पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धन आयोगको सम्पर्क कार्यालयले उनलाई भैरहवास्थित युनिभर्सल मेडिकल कलेज अगाडिबाट पक्राउ गरेको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोग पश्चिमाञ्चल क्षेत्रिय कार्यालयको टोलिले अनुगमन गरेको केही घण्टा बित्न नपाउँदै सेवाग्रहीसँग घुस लिएका थिए। सेवाग्राहीसँग जग्गाको हाल साविक गर्ने क्रममा दुःख दिई घुस लिँदै गरेको भन्ने उजुरीका आधारमा पुगेको आयोगको टोलीले यादवलाई नियन्त्रणमा लिएको हो। नापी कार्यालय परिषर अगाडिबाट सेवाग्राहीसँग घुस लिएर फरार भएका यादवलाई पिछा गरेको आयोगको टोलीले मेडिकल कलेज परिसरबाट नियन्त्रणमा लिएको कार्यालयका निमित्त प्रमुख प्रहरी नायव उपरीक्षक तुलबहादुर कार्कीले बताए। यादवले सेवाग्राहीसँग लिएको ६ हजार रुपैया मुखमा हालेर निल्ने प्रयत्न गरेका थिए भने मुखमा राखेको नोट निकाल्न आयोगको टोलीलाई हम्मे हम्मे परेको थियो । सेवाग्राहीसँग लिएको १ हजार दरका ६ वटा नोटहरु मध्ये २ वटा फेला नपरेको र एउटा नोट कामै नलाग्ने गरी चपाएको अवस्थामा भेटीएको थियो। ३६ वर्ष देखि सर्वेक्षकको रुपमा काम गर्दै आएका यादको साथबाट थप १२ हजार ५ सय रुपैया समेत बरामद गरेको छ। यसअघि नापी कार्यालयका सर्वैक्षकहरु जाकीर राई र राजेन्द्र श्रीवास्तव सेवाग्राहीसँग घुस लिदै गर्दा रंगेहात समातीएका कारण निलम्वनमा परीसकेका छन्। यादव २ महिना बिचमा पक्राउ पर्ने सो कार्यालयका तेश्रा कर्मचारी हुन्। बिहान मात्रै अख्तियार दुरुपयोग अनुसन्धान आयोग पश्चिमाञ्चल क्षेत्रिय कार्यालयका प्रमुख शंकर थापा सहितको टोलिले जिल्लका नापी मालपोत लगायतका कार्यालयको अनुगमन तथा निरीक्षण समेत गरेको थियो। -भगवती पाण्डे

0 Comments