Incident Reports

रुपन्देही जिल्ला कुस्थरोगको जोखिममा, ४ महिनामा ४३ कुस्थरोगी भेटिए

2015-01-26

Lumbini, Rupandehi, Tillotama

देवदह, मक्रहर, करहिया, पर्रोहा, दुधराक्ष, सालझण्डी, रुद्रपुर बितेका चार महिनामा रुपन्देही जिल्लामा ४३ जना नयाँ कुष्ठरोगी भेटिएका छन्। जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार गत साउनदेखि कात्तिक महिनासम्म जिल्लामा ४३ जना कुष्ठरोगी भेटिएका हुन्। जिल्लामा अघिल्लो आर्थिक वर्षमा पनि १ सय ६५ जना कुष्ठरोगी भेटिएका थिए। ६२ औं विश्व कुष्ठरोग दिवशको अवसरमा जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देहीले आयोजना गरेको अन्तरकृया कार्यक्रममा उक्त जानकारी गराईएको हो। कार्यक्रममा वरिष्ठ जनस्वास्थ्य प्रशासक ऋषिप्रसाद लामिछानेले पछिल्ला वर्षहरुमा रुपन्देहीमा कृष्ठरोगीको संख्या थपिदै गएको बताए। कार्यालयका अनुसार कुष्ठरोगीका हिसाबले देवदह क्षेत्र अत्यन्त जोखिमपूर्ण क्षेत्र रहेको छ। त्यसैगरी तिलोत्तमा नगरपालिका पनि कुष्ठरोगी भेटिएको अर्को क्षेत्र भएको कार्यालयले जनाएको छ। रुपन्देहीको दक्षिणी क्षेत्रभन्दा उत्तरी क्षेत्रका गाविसहरुमा कुष्ठरोगको समस्या देखिएको जनस्वास्थ्य कार्यालयले जनाएको छ। रुपन्देहीका देवदह, मक्रहर, करहिया, पर्रोहा, दुधराक्ष, सालझण्डी, रुद्रपुर लगायतका गाविसमा कुष्ठरोग प्रभावित व्यक्तिहरु फेला परेको तथ्याङक छ। पश्चिमाञ्चलका १६ जिल्लामध्ये रुपन्देही जिल्लामा सबै भन्दा बढि कुष्ठरोग प्रभावित व्यक्तिहरु रहेको तथ्याङ फेला परेको छ। पछिल्ला वर्षहरुमा विभिन्न जिल्लाहरुबाट बसाई सरी रुपन्देहीका बुटवल लगायत आसपासका क्षेत्रहरुमा बसोबास गर्ने क्रम बढेसंगै कुष्ठरोगीहरुको संख्यापनि थपिदै गएको कार्यालयले जनाएको छ। गतवर्ष जिल्लामा ४५ जना व्यक्तिहरु कुष्ठरोगबाट मुक्त भएको सो अवसरमा जानकारी गराईएको थियो। कुष्ठरोग लागेको पत्ता लागेपछि ६ महिनादेखि १ वर्षसम्म औषधी सेवन गरे कुष्ठरोगबाट मुक्त भएको मानिन्छ। सन् २०१० मै नेपालबाट कुष्ठरोग निबारण भईसकेको सरकारले घोषणा गरेपनि पश्चिम नेपालका केहि जिल्लाहरुमा भने कुष्ठरोगीहरुको संख्यामा अझै पनि कमी आएको छैन। दश हजारमा एक जना भन्दा कम व्यक्तिमा कुष्ठरोग भेटिएको जनाउँदै नेपाल सरकारले सन् २०१० को जनवरीमा नेपालबाट कुष्ठरोग निवारण भएको घोषणा गरेको थियो। दशहजारमा एकजना भन्दा कम व्यक्तिमा कुष्ठरोग नभेटिए कुष्ठरोग निवारण भएको मानिन्छ। कुष्ठरोगको बारेमा समाजमा अझैपनि गलत धारणा रहेको बताउँदै समयमै उपचार गर्न सके कुष्ठरोग निको हुने चिकित्सकहरु बताउँछन्।
National/Online Media

0 Comments