Incident Reports

बन्द, आम हड्ताल नगर्न नेपाल उद्योग वाणिज्य महासंघको अपिल

2015-02-03

Bagmati, Kathmandu, Kathmandu

विगतमा भएका वन्द हड्ताल, राजनीतिक अस्थिरताका कारण मुलुकको आर्थिक विकासमा नराम्रो असर परेको सवैमा विदितै छ र महासंघले पटक पटक यस सम्बन्धमा सवै सम्बन्धित पक्षको ध्यानाकर्षण गराउंदै आएको हो । हिजोका दिनमा राजनीतिक दलहरुले नेपालमा प्रजातान्त्रिक परिवर्तनका लागि बन्द हड्ताल लगायतका आन्दोलनका कार्यक्रमहरु गर्दा घाटा सहेर भएपनि निजी क्षेत्रले साथ दिएको इतिहास छ । मुलुकमा लोकतन्त्र स्थापित भैसकेपछि सवै समस्याका समाधान लोकतान्त्रिक विधिबाट हुनुपर्दछ र बन्द हड्ताललाई माध्यम बनाइनु हुदैन भन्ने हाम्रो प्रष्ट मान्यता छ । तसर्थ अव, आमबन्द, हड्ताल जस्ता कार्यक्रम नगर्न महासंघ सवैमा अपिल गर्दछ । प्राप्त राजनीतिक उपलव्धीहरुलाई संस्थागत गर्न अव राजनीतिक दलहरुले संयमता र वुद्धिमत्तापूर्वक सवैको पूर्ण सहभागिता र सहमतीमा नेपालको आर्थिक विकास र समृद्धिलाई सहयोग गर्न संविधान दिएर मुलुकलाई संक्रमणकालको बन्दनबाट मुक्त राख्न निजी क्षेत्रको अपिल छ । नेपाल बन्द, आम हड्ताल जस्ता कार्यले अर्थतन्त्रमा प्रतिदिन रु. २ अरव भन्दा बढीको प्रत्यक्ष नोक्सानी हुने मात्र नभई दिनदिनै कामगरि खाने, दैनिक ज्यालादारी गर्ने मजदुर, सार्वजनिक यातायात चढेर आफ्नो गन्तव्यमा जाने सर्वसाधारण, आफ्नो उत्पादन बजारमा लगि वेच्ने किसान, ससानो व्यवसाय गर्ने व्यवसायी, नेपाल भ्रमणका लागि महिनौ अगाडी देखि कार्यक्रम बनाएर आउने पर्यटकलाई सवभन्दा धेरै मार पर्दछ । विकास निर्माण र पूर्वाधार निर्माणका कार्यहरु अवरुद्ध भई राष्ट्र अझ पछाडी धकेलिन्छ । अभाव, अनिश्चितता र अन्यौलता अझ बढ्दै जानेछ । हिडडुल गर्ने र पेशा व्यवसाय गर्ने अधिकार प्रत्येक व्यक्तिको लोकतान्त्रिक मानव अधिकार हो र मानव अधिकारको हनन जोकसैबाट पनि हुनुहुदैन भन्ने हाम्रो मान्यता छ । बन्द हड्ताल लगायतका कार्यक्रमहरु अव सदाका लागि बन्द हुनुपर्दछ । मुलुकभित्र सवैले स्वतन्त्र र निर्वाध काम गरिखान पाउने वातावरण बन्नुपर्दछ । निजी क्षेत्रको प्रतिनिधिमुलक संस्था महासंघले अव सवै सरोकारवाला निकायहरुसंग छलफल गरि बन्द हड्ताल लगायतका कार्यक्रमहरुका विरुद्धमा सकारात्मक अभियान चलाउने निक्र्यौंल गरेको छ । आम नागरिक र सम्पूर्ण व्यवसायीहरुको आकंक्षा अनुसार महासंघले मुलुकभर रहेको ९६ वटा जिल्ला नगर उद्योग वाणिज्य संघहरु, ९१ वटा वस्तुगत संघहरु, २० वटा द्विराष्ट्रिय उद्योग वाणिज्य संघहरु र ६ सय ३५ वटा विभिन्न उद्योग प्रतिष्ठानहरु सहितको आफ्नो नेटवर्क लगायत अरु व्यवसायिक, पेशागत संघ संस्थाहरुको परिचालन मार्फत मुलुकभरै यो अभियान लैजाने छ । उक्त अभियान अन्तरगत महासंघले आम नागरिक सहित पेशाकर्मी उद्यमी व्यवसायीलाई सवै प्रकारका बन्दको विरोधमा स्वस्फूर्त रुपमा परिचालन गर्ने, यसका लागि चेतनामुलक कार्यक्रम चलाउने, लोगो, पर्चा पोष्टरिङ गर्ने, छलफल, अन्तरक्रिया, शान्तिपूर्ण र्याली लगायतका कार्यक्रमहरु हुनेछन् ।  सम्बन्धित पक्षसंग छलफल र अन्तरक्रिया गरि अरु आगामी कार्यक्रमहरु तय गरिने योजना महासंघको छ । महासंघले उद्योग व्यवसाय लगायत आम जनताको हितलाई मध्यनजर गर्दै विरोधका वैकल्पिक उपायहरु अपनाउन र बन्द हड्तालका कार्यक्रमहरु कहिल्यै पनि नगर्न सम्बन्धित सवै पक्षसंग निरन्तर आव्हान समेत गर्दै आएको छ । बन्द हड्ताल लगायतका विरोधका कार्यक्रमबाट आम जनताको स्वतन्त्रता पूर्वक पेशा व्यवसाय गरि जिउने र काम गरि खान पाउने अधिकारनै हनन भएको ठहर गरि महासंघले यो अभियान ल्याउन लागेको र महासंघको यस अभियानमा सवैको साथ रहने विश्वास समेत महासंघले गरेको छ ।

0 Comments