Incident Reports

घुस लिँदै गरेका प्रहरीलाई पक्राउ गर्दा अख्तियार टोलीनै प्रहरी नियन्त्रणमा

2015-02-07

Lumbini, Banke, Nepalgunj

नेपालगन्ज-घुस लिइरहेको अवस्थामा बाँकेका प्रहरी नायब निरीक्षक सुमन खरेल रंगेहात अख्तियार दुरुपयोग अनुसन्धान आयोगको फन्दामा परेका छन्। मुद्दा मिलाईदिने भन्दै सेवाग्राहीसँग घुस लिने गरेको जनगुनासो बढेपछि आयोगले खरेललाई निग्रानीमा राखेको थियो। उनलाई शुक्रबार राती नेपालगन्जको धम्बोझीस्थित क्रसरोड रेष्टुरेन्टबाट पक्राउ गरेको हो। आयोग सम्पर्क कार्यालय कोहलपुरबाट पुगेको टोलीले घुस लिइरहेको अवस्थामा पक्राउ गरेको जनाएको छ। आयोगका सम्पर्क कार्यालय प्रमुख बसन्त कुँवरले २५ हजार घुससहित खरेललाई पक्राउ गरिएको जानकारी दिए। ‘मुद्दा मिलाइदिन्छु भन्दै सेवाग्राहीबाट २५ हजार रुपौंया लिइरहेको अवस्थामै पक्राउ गर्‍यौं,’ उनले भने। खरेललाई पक्राउ गर्दा शुक्रबार बेलुका करिब तीनघण्टा अख्तियार टोली र अन्य प्रहरीबीच क्रसरोड रेष्टुरेन्टमा घम्साघम्सी भएको थियो। अख्तियार सम्पर्क कार्यालय प्रमुख कुँवरका अनुसार, प्रहरीको क्षेत्रीय अनुसन्धान व्यूरो (सिआइबी) र अन्य प्रहरीले अख्तियारको टोलीलाई चारैतिरबाट घेरा हालेका थिए। खरेललाई पक्राउ नगर्न दवाव दिँदै ठुलो संख्यामा पुगेका प्रहरीले उल्टै अख्तियार टोलीलाई घेरामा हालेर लैजान नदिएको कुँवरले गुनासो पोखे। ‘हामीले आफ्नो कार्यालयमा उसलाई ल्याउन खोज्दा प्रहरीले सहयोग गर्नुको साटो प्रतिरोध गरे, त्यस क्रममा हाम्रा केही कर्मचारीमाथि प्रहरीबाट हातपात भयो,’ कुँवरले भने। खरेललाई अख्तियारको फन्दाबाट छुटाउन सिआइबी प्रहरी र अन्य प्रहरीले हरसम्भव प्रयास गरेपनि अन्ततः सकेनन्। रेष्टुरेन्टलाई घेरा हालेर बसेका प्रहरीले खरेललाई कोहलपुर लैजान नदिएपछि अख्तियार सम्पर्क कार्यालय कोहलपुरका प्रमुख कुँवरले अख्तियारको केन्द्रिय कार्यालय काठमाडौंमा समेत गुहार माग्नु परेको थियो। अख्तियार प्रमुख लोकमानसिंह कार्की र प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालबीच कुराकानी भएपछि मात्र प्रहरीले रेष्टुरेन्टबाट खरेललाई लैजान दिएको कुँवरले जानकारी दिए। उनले भने, ‘प्रमुख आयुक्त ज्युले आइजिपी उपेन्द्रकान्त अर्यालसँग कुरा गरेपछि मात्र प्रहरीले हामीलाई छोडे। प्रहरीले हामीलाई असहयोग गर्योइ।’ हालै सरुवा भएका जिल्ला प्रहरी प्रमुख शेखर कोइरालाले विश्वास पात्र बनाएपछि खरेल सादा पोशाकमा खटिने जिम्मेवारी पाएको जिल्ला बताए। खरेललाई अख्तियारको कोहलपुर सम्पर्क कार्यालयमा आवश्यक अनुसन्धानका लागि राखिएको प्रमुख कुँवरले जानकारी दिए। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायव उपरीक्षक सुशीलसिंह राठौरले पनि खरेल घुस लिइहेको अवस्थामा पक्राउ परेको बताए। ‘सुमनलाई अख्तियारले पक्राउ गर्योल,’ उनले भने ‘अरु कुरा बुझ्न बाँकी छ।’ इलाका प्रहरी कार्यालय जमुनाहामा दरबन्दी भएका खरेल आर्थिक अनियमितताको आरोपमा एक वर्षअघि जिल्ला प्रहरी कार्यालय बाँकेमा तानिएका थिए। भेरी अञ्चल प्रहरी कार्यालयको कारबाहीमा तानिएका उनलाई जिप्रकाले अपराध सम्बन्धी सुचना संकलनका लागि सादा पोशाकमा खटाएको थियो। केहीदिन अघि माघ १९ गतेपनि अख्तियार टोलीले बाँके, बेतहनीस्थित प्रहरी चौकी इन्चार्ज, प्रहरी सहायक निरीक्षक परवीर बैगारलाई ८ हजार घुस लिंदालिंदै पक्राउ गरेको थियो।

0 Comments