Incident Reports

समयमा खाद्यान्न आपूर्ति नहुँदा दुर्गम गाविसमा खाद्यान्न अभाव

2015-02-08

Karnali, Jajarkot, Bheri

 जाजरकोट जिल्लाका दुर्गम गाविसहरूमा खाद्यान्न अभाव भएको छ । ढुवानी अनुदानमा चामल वितरण गर्दै आएको खाद्य संस्थानले दुर्गम गाउँका खाद्य डिपोहरूमा चामल नपठाउँदा खाद्यान्न सङ्कट भएको हो । सरकारले खाद्यान्न उत्पादन कम हुने जिल्लाका नागरिकलाई भोकमरीबाट बचाउन र राष्ट्रसेवक कर्मचारीहरूका लागि समेत ढुवानी अनुदानमा नेपाल खाद्य संस्थानमार्फत चामल वितरण गर्दै आएको छ । नेपाल खाद्य संस्थानको जाजरकोट सदरमुकाम स्थित गोदाममा अनुदानको चामल सकिएको छ । नेपाल सरकारले खाद्यान्न अभाव हुने जिल्लामा समयमै यथेष्ट खाद्यान्नको मौज्दात गर्ने बताउँदै आएको भएता पनि आठ महिना बितिसक्दा पनि जाजरकोट जिल्लाका दुर्गम गाउँमा रहेका चारओटा खाद्य डिपोहरूमा एक दाना पनि चामल नभएको नायकबाडा गाविस -५ का भक्तबहादुर बस्नेतले बताए । जिल्लाका उत्तरपूर्वी क्षेत्र बारेकोटको नायकबाडास्थित घाट डिपो, रग्दाको चौखा डिपो, पश्चिम क्षेत्रको दशेरा डिपो र पजारुको घोगी डिपोहरूमा चामल ढुवानी नहुँदा त्यस क्षेत्रका स्थानीय जनता भोकमरीको चपेटामा परेको दशेरा गाविस-६ का गणेश थापाले बताए । जिल्लामा यस पटक मकै, कोदो उत्पादन कम भएका कारण दुर्गम गाउँमा स्थानीयलाई भोकमरीले सताएको छ । जिल्लाका रग्दा, भगवती, नायकबाडा, रोकायगाउँ, दह, पजारु, गर्खाकोट, कोर्ताङ, मजकोटलगायतका एकदर्जन भन्दा बढी गाविसहरूमा खाद्यान्न सङ्कट भएको छ । खाद्य संस्थानले अघिल्ला आर्थिक वर्षमा डुवानी गरेको प्रति डिपो ८ सय क्वीन्टल र जिल्ला शाखाका लागि ४ हजार २ सय क्वीन्टल चामलको कोटा सकिएको जनाएको छ । चार ओटा डिपोमा चामल पुर्‍याउनका लागि दईपटक टेण्डर आह्वान गरिएको भए पनि ठेक्का स्वीकृति नभएको खाद्य संस्थान जाजरकोटका निमित्त शाखा प्रमुख रामप्रसाद पौडेलले बताए । सदरमुकाममा दुई सय क्वीन्टल चामल मौजदात रहेको भए पनि सदरमुकाम आसपासका स्थानीयहरूले मात्र लिने गरेकोसमेत पौडेलले बताए । जिल्लामा उपलब्ध अनुदान कोटको चामल खाद्य संस्थानबाट वास्तविक चामल आवश्यक भएकाहरूलाई भन्दा पनि अवैध रूपमा मदिरा उत्पादन गर्नका लागि प्रयोग गर्ने व्यक्तिहरूलाई वितरण गर्ने गरिएको र गाउँमा रहेका खाद्य डिपोका लागि भनिएको कोटाको चामल सम्बन्धित डिपोमा नै नपुग्नाले गाउँमा भोकमरी शुा लागेको नागरिक समाजका अध्यक्ष केशवजङ्ग शाहले बताए । त्यसैगरी, रग्दामा रहेको खाद्य संस्थानको डिपोमा विगत आठ महिनादेखि एक गेडा पनि चामल छैन । गोदाम घर रित्तो भएको र भवनमा चामल भन्दा विभिन्न राजनीतिक दलको कार्यक्रम हुने गरेका छन् । गाउँमा सरकारी अनुदानको चामल नआउँदा सरकारी अनुदानको कोटाको चामलको भरमा पर्दा पूरै गाउँ भोकमरीको चपेटामा परेको स्थानीय नेत्रबहादुर बस्नेतले बताए । उनले भने यस वर्षमकै र गहुँ उत्पादन राम्रो नहुँदा पनि भोकमरी परेको बताए । सरकारले दुर्गम गाउँका डिपोहरूमा खाद्यान्न ढुवानी बिक्री वितरणको उचित व्यवस्थापन गर्न नसक्दा विकटका जनता वर्षदिनदेखि ढुवानी अनुदानको चामल पाउनबाट बञ्चित भएका छन् । द्वन्द्वको समयमा बन्द भएका दुर्गमका डिपोबाट नियमित चामल वितरण हुन सकिरहेको छैन । जाजरकोट, रुकुम र डोल्पा जिल्लाका केही गाविसलाई समेटेर ०३३ सालमा स्थापना गरिएको जाजरकोट जिल्लाको रग्दास्थित दुई हजार क्वीन्टल क्षमताको चौखा खाद्य डिपो यतिबेला प्रयोगविहिन अवस्थामा रहेको छ । चालु आर्थिक वर्षमा ७ हजार २ सय क्वीन्टल कोटामध्ये सदरमुकाममा रहेको जिल्ला शाखाका लागि चार हजार क्वीन्टल र गाउँमा रहेका चार ओटा छुट्टाछुट्टै डिपोमा आठ सय क्वीन्टलका दरले चामलको वाषिर्क कोटा निर्धारण गरेको खाद्य संस्थान जाजरकोटले जनाएको छ । तर, संस्थानको अञ्चल कार्यालय नेपालगञ्जमा नै चामल अभाव रहेको र धान खरिदको काम भइरहेकोले केही महिनापछि मात्र चामल ढुवानी हुने निमित्त शाखा प्रमुख पौडेलले बताए ।

0 Comments