Incident Reports

झुठा मुद्दा खारेजको माग गर्दै पत्रकार आन्दोलनमा

2015-03-04

अख्तियार निर्देशनमा लगाइएको झुठा मुद्दा खारेज र मुद्दा लगाउने अधिकारीलाई निलम्बन गरी कारबाही माग गर्दै पत्रकारहरुले आन्दोलन थालेका छन् । प्रेस चौतारी नेपाल बाँके शाखाको अगुवाईमा आन्दोलन थालिएको हो । त्यसमा अन्य पेशागत संघठनहरुको पनि ऐक्यबद्धता रहेको छ । पत्रकार, अधिकारकर्मी, कानुन व्यवसायी लगायतले मंगलबार जिल्ला प्रशासन कार्यालयमा धर्ना दिए । दुई जना पत्रकारलाई लगाइएको झुठा मुद्दा निसर्त खारेज गरेर त्यस्तो मुद्दा लगाउने अधिकारीमाथि कारबाही माग गरिएको हो । प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष राजेन्द्र अर्याल नेतृत्वको टोलीले मंगलबारनै बाँकेका प्रमुख जिल्ला अधिकारी बेदप्रकाश लेखकलाई ज्ञापनपत्र दिएको छ । ‘यो दुईजना पत्रकार माथिको मुद्दा मात्र होइन, प्रेस स्वतन्त्रतामाथि अंकुश लगाउने सरकारी षडयन्त्र हो,' ज्ञापनपत्र दिँदै अर्यालले भने, ‘तत्काल मुद्दा खारेज नगरिए देशव्यापी आन्दोलन घोषणा गर्नेछौं । त्यसको सुरुवात बा“केबाट गरिएको हो ।'धर्ना कार्यक्रममा बोल्दै प्रेस यूनियनका उपमहासचिव प्रेम केसीले प्रधानमन्त्रीकै गृहजिल्लामा सरकारी संयन्त्रहरुका कारण पत्रकारहरु असुरक्षित भएको बताए । ‘प्रधानमन्त्री शुशील कोइराला २४ गते बाँके आउने कार्यक्रमलाई बहिष्कार गरी हामी बिरोध जनाउनेछौं,' उनले भने, ‘मुद्दा फिर्ता नलिए बाँकेका सबै पत्रकारहरुले स्वइच्छुक गिरफतारी दिनेछन् । प्रशासन कार्यालय खाली गरेर बस्नुस् ।' पत्रकार महासंघका मध्यपश्चिम संयोजक झलक गैरेले क्यारेमका गोटी प्रहरी प्रशासन भएपनि हात अर्कैको भएको बताउदै अख्तियारले अन्य सरकारी अंग मार्फत प्रेस माथि योजनाबद्ध आक्रमण गरेको बताए । धर्नालाई महासंघका पूर्र्व उपाध्यक्ष हेमन्त कर्माचार्य, पूर्र्व केन्द्रीय सदस्य मोहम्मद हारुन, सुर्खेतका अध्यक्ष गणेशकन्चन भारती, बाँके अध्यक्ष रुद्र सुवेदी, पुनराबेदन बारका पूर्र्र्व अध्यक्ष ध्रुब बस्नेत, क्रान्तिकारी पत्रकार महासंघका चिरन्जिवी वली, प्रगतिशिल पत्रकारका अशोक बिष्ट लगायतले सम्बोधन गरेका थिए । ज्ञापनपत्र लिंदै प्रजिअ लेखकले मुद्दा आफुकहा पेश नभइसकेकाले कुन कारणले मुद्दा लगाइएको हो त्यसबारे बुझेर पहल थाल्ने बताए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पत्रकारमाथि मुद्दा दर्ताका लागि कुनै निर्देशन नदिएको दावी गरेपनि स्थानीय अधिकारीहरुलाई प्रमुख आयुक्त लोकमानसिंह कार्कीबाटै त्यस्तो दबाब आएको थियो । ‘फुटेज'उपलब्ध नगराएको भन्दै सगरमाथा टेलिभिजनका समाचारदाता समेत रहेका पत्रकार महासंघ बाँके शाखा सचिव तिलक गाउले र माउन्टेन टेलिभिजनका समाचारदाता क्षेत्रनाथ देवकोटा (आकाश) माथि केही सार्बजनिक ऐन सम्बन्धि मुद्दा लगाइएको छ । माघ २३ गते साँझ अख्तियारले नेपाल प्रहरीका सई सुमन खरेललाई घुस सहित समातेको तथा प्रहरीहरुनै अख्तियारको कार्यसम्पादनमा बाधक बनेको समाचार रिपोर्टिङ्गका क्रममा पत्रकारद्वय गाउले र देवकोटा घटनास्थल पुगेका थिए । अख्तियार टोली र घुमुवा प्रहरी बीच खरेललाई लग्न दिने कि नदिने बारेमा घम्साघम्सी परेको थियो । त्यसमा पत्रकारको समेत संलग्नताको आरोपमा मुद्दा दर्ता भएको प्रहरीले जनाउदै आएको छ ।

0 Comments