Incident Reports

घरवारविहिन अग्निपीडितहरूको घर बनाउन माग

2015-03-26

Madhes, Saptari, Rupani

 जिल्ला भूमि अधिकार मञ्च सप्तरीले कंचनरूप नगरपालिका–६ परेमारास्थित दलित बस्तीमा आगलागीबाट घरवारविहिन भएकाहरूको लागि तत्काल घर निर्माण गर्न माग गर्दै चैत १७ गते जिल्ला प्रशासन कार्यालय र जिल्ला विकास समितिमा ज्ञापनपत्र बु्झाएको छ । चैत १२ गते भएको आगलागीपछि परेको वर्षाले आगलागीबाट घरवारविहिन ३३ परिवारको बिचल्ली भएको भन्दै मञ्चले उनीहरूको घर तत्काल निर्माण गर्न माग गरेको हो । मञ्चका जिल्ला संयोजक सबुरलाल राम, सल्लाहकार सुरैत सदा, सुकुम्बासी समस्या समाधान आयोगका सदस्य शिवकुमार पासवान, भूमिअभियानकर्ता राजकुमार पासवानलगायतको टोलीले सिडिओ बिरेन्द्रकुमार यादवसमक्ष माग पत्र बुझाएका हुन् । ज्ञापनपत्रमा नगरपालिका र गाविसले सरकारी, ऐलानी, पर्ति जग्गा बहालमा लगाउँदा भूमिहीन सुकुम्वासीलाई प्राथमिकता दिनुपर्ने, भूमिहीन तथा सुकुम्वासीहरूलाई जोतभोगको आधारमा जोतभोग प्रमाण–पत्र दिनुपर्ने, स्थायी बसोबासको व्यवस्था गरी निःशुल्क शौचालय निर्माण गर्नुपर्ने, नगरपालिका तथा गाविसहरूमा कृषि तथा वातावरण समिति गठन गरी किसानको लागि अनुदान रकम छुट्याउनु पर्ने, भूमिमा महिलाको पहुँच स्थापित गर्नका लागि पति र पत्नीको नाममा संयुक्त रूपमा जग्गा दर्ता गर्ने कार्यलाई प्रोत्साहन गर्ने कार्यक्रम लागु गर्नुपर्ने, सुकुम्बासी समस्या समाधान आयोगको काम तत्काल सुचारु गरी भूमिहीन, सुकुम्बासीहरूको समस्या समाधान गर्नुपर्नेलगायतको माग रहेको छ । सिडिओ यादब र स्थानीय विकास अधिकारी कोमलप्रसाद धमलाले विभिन्न संघ, संस्था र सरकारी निकायबीच समन्वय गरेर घर बनाउन पहल गरिने बताए । जिल्ला दैवी प्रकोप उद्धार समितिका अध्यक्ष समेत रहेका सिडिओ यादवले चैत १९ गते बस्ने सो समितिको बैठकमा घरवारविहिन अग्निपीडितहरूका लागि घर बनाउने विषयमा छलफल र पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । चैत १२ गते भएको आगलागीबाट कञ्चनरुप नपा–६ स्थित परेमाराका ३३ परिवारको ७९ घर जलेर नष्ट भएको थियो भने ६५ वर्षीय चलितर सरदारको मृत्यु भएको थियो । मनोहरकुमार पोखरेल

0 Comments