अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल पर्यटन बोर्डका तत्कालीन कामु प्रमुख कार्यकारी अधिकृत सुवास निरौलासहित चार दर्जन व्यक्तिले झन्डै ७५ करोड रुपैयाँभन्दा बढी भ्रष्टाचार गरेको दाबी गरेको छ।
आयोगले सार्वजनिक खरिद ऐन मिचेर बोर्डको ढुकुटीबाट निरौलाले ३३ करोड र अन्य पदाधिकारी, कर्मचारी र तत्कालीन सचिवले गरी ४२ करोड रुपैयाँ भ्रष्टाचार गरेको भन्दै बिहीबार विशेष अदालतमा मुद्दा लगे पनि ‘समय अभावका कारण' मुद्दा दर्ता हुन सकेन।
विशेष अदालतका रजिस्ट्रार नातिबाबु लामिछानेले सवा ४ बजे मात्रै ल्याएकाले मुद्दा दायर हुन नसकेको बताए। ‘५२ जनाविरुद्ध ७५ करोडभन्दा बढी बिगो मागदाबीसहित अख्तियारका प्रतिनिधिले आरोपपत्र ल्याएका थिए,' रजिस्ट्रार लामिछानेले नागरिकसँग भने, ‘झन्डै ६ सय पेजभन्दा बढीको आरोपपत्र भएकाले पनि पढ्न भ्याइएन, शुक्रबार बिहान दर्ता हुन्छ।'
यसअघि संसदको सार्वजनिक लेखा समितिद्वारा बोर्डका कामु सिइओ निरौलाले झन्डै एक अर्ब रुपैयाँभन्दा बढी भ्रष्टाचार गरेको भन्दै निलम्बन गरी छानबिन गर्न अख्तियारलाई निर्देशन दिएको थियो। लेखा निर्देशनको महिनौंपछि मात्र आयोगले बिहीबार मुद्दा तयार गरेको थियो। समितिको निर्देशनपछि निरौला गत कात्तिक ९ गते निलम्बित भएका थिए।
अख्तियारले बिहीबार मुद्दा दायर गरेर सार्वजनिक गर्न दिउँसो साढे ५ बजे पत्रकार सम्मेलन आयोजना गरे पनि मुद्दा दायर हुन नसकेपछि पत्रकार सम्मेलन स्थगित भएको थियो। अख्तियार स्रोतका अनुसार भ्रष्टाचारमा संग्लन हुनेमा निरौलासहित तत्कालीन बोर्ड अध्यक्ष एवं पर्यटन सचिव सुशील घिमिरे, बोर्डका पदाधिकारी र कर्मचारी छन्।
अख्यितारले सार्वजनिक खरिद ऐन पालना नगरी र औचित्यबिना खरिद गरेको, विदेश भ्रमणका नाममा करोडौं खर्च गरेको, टेन्डर नै नगरी आफूनिकट व्यक्तिलाई करोडौंको काम दिएर अनियमितता गरेको आरोप लगाएको छ। त्यसैगरी बोर्ड सञ्चालक समितिको निर्णयबिना निरौलाले डेढ करोड रुपैयाँसम्म आफूखुसी खर्च गरेको, एउटै कम्पनीबाट सामान खरिद गर्दा थरीथरी बिल पेस गरेको पाइएको छ।
अख्तियारका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले बिहीबार मुद्दा दायर हुन नसकेकाले कस–कसविरुद्ध दायर भएको हो, पूर्ण विवरण सार्वजनिक नभएको बताए। ‘समय अभावका कारण मुद्दा दायर हुन नसकेपछि पत्रकार सम्मेलनमार्फत विवरण सार्वजनिक गर्न सकिएन,' घिमिरेले नागरिकसँग भने, ‘शुक्रबार मुद्दा दायर भएपछि दिउँसो पत्रकार सम्मेलनमार्फत विस्तृत विवरण सार्वजनिक हुन्छ।'