Incident Reports

गौरको कर्फ्यु हट्यो, बजार अझै खुलेन

2015-04-05

Madhes, Rautahat, Gaur

प्रशासनले शनिबार दिउँसो २ बजेदेखि लगाएको कर्फ्यु आइतबार बिहान ४ बजेदेखि हटाइएको छ। चन्द्रनिगाहपुरमा सेवा केन्द्र राख्ने निर्णय फिर्ताको माग गर्दै भएको आन्दोलनमा प्रहरीले ज्यादति गरेको, प्रहरीको गाडीको ठक्करबाट एक जना प्रर्दशनकारीको ज्यान गएको विरोधमा आन्दोलन चर्किएपछि स्थानीय प्रशासनले स्थिति नियन्त्रणमा लिन गौर नगरक्षेत्रमा कर्फ्यु लगाएको थियो। जिल्ला प्रशासन कार्यालयले उद्योग बाणिज्य संघको नेतृत्वमा आन्दोलनरतपक्षलाई वार्ताको लागि आह्वान गरेको थियो। नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष सजिव कुमार मल्लिकको मध्यस्थतामा गएराति नै भएको वार्तामा आन्दोलनरत पक्षका अगुवाहरुले कर्फ्यु हटाउने, प्रहरीलाई व्यारेकमा फिर्ता बोलाएपछि मात्रै वार्ता गर्ने माग राखेपछि बिहान कर्फ्यु हटाइएको हो। राति वार्तामा सहमति हुन नसकेपछि आइतबार बिहान नौ बजेदेखि पुनः बस्ने रौतहटका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले जानकारी दिए। आन्दोलनकारीले प्रहरीको गाडीको ठक्करबाट मृत्यु भएका राम आशिष ठाकुरलाई शहिद घोषणा, घाइतेहरुको उपचार, ज्यादति गर्ने प्रहरीलाई कारबाहीलगायत ७ बुँदे माग राखेका छन्। गौर बजार आइतबार पनि बन्द छ। चार दिनदेखि प्रर्दशनमा उत्रिएका आन्दोलनकारीहरु बिहानैदेखि सडकमा निस्कन थालेका छन्। वार्ताका लागि क्षेत्रीय प्रशासक रामकुमार आचार्य, मध्यमाञ्चल क्षेत्रका डीआइजी देवेन्द्र सुवेदी र सशस्त्र प्रहरी रुद्र बाहिनीका डीआइजी रामशरण पौडेललगायतका सुरक्षा निकायका अधिकारीहरु आउने भएका छन्।

0 Comments