Incident Reports

पाल्पा जनस्वास्थ्य प्रमुखलाई भ्रष्टाचार मुद्दा

2015-04-08

Lumbini, Palpa, Tansen

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला जनस्वाथ्य कार्यलय पाल्पाका प्रमुख केहरसिहं गोदारसहित ६ जनालाई काठमाण्डौं विशेष अदालतमा मुद्दा दायर गरेको छ। जनस्वास्थ्य कार्यलय चितवनमा औषधी र मेडिकल सामाग्री खरीदमा ब्यापक भ्रष्टाचार गरेको भन्दै गोदारविरुद्ध सोमबार मुद्दा दर्ता भएको हो। गोदारलाई सोमबार नै पाल्पाबाट काठमाण्डौं झिकाइ आवश्यक अनुसन्धान सुरु गरिएको छ। कार्यालय प्रमुख भ्रष्टाचार मुद्दामा तानिएपछि कार्यालयको कामकाज प्रभावित बनेको एक कर्मचारीले बताए। ‘वहाँ सोमबार अख्तियारबाट खबर आएर राजधानी जानुभयो,’ एक कर्मचारीले नागरिकसंग भने, ‘प्रमुख नहुँदा कार्यालयको काम त रोकिने नै भयो।’ अख्तियारले गत साउन १ गते जिल्ला स्वास्थ्य कार्यालय चिनवनमा छापा मारेर आर्थिक बर्ष ०७१/७२ को कारोबारका कागजात नियन्त्रणमा लिएको थियो। अख्तियारले जारी गरको पत्रमा गोदारसँग १६ लाख ९२ हजार चारसय रुपैयाँ विगो दाबी गरिएको छ। आयोगका अनुसार निःशुल्क वितरण गरिने एमोक्जिसिलोन पाँचसय एमजीको क्याप्सुल लगाएतका औषधी खरिद गर्ने क्रममा सार्वजनिक खरिद ऐन र नियमको उल्लंघन गरेको आधारमा मुद्दा अघि बढाइएको हो। जनस्थास्थको स्टोरमा पर्याप्त औषधी हुँदाहुँदै मौज्दात नभएको झुटो विवरण पेश गरेर नक्कली विल भर्पाइ गराएको पनि आरोप पत्रमा उल्लेख गरिएको छ। गोदारसहित जनस्वास्थ्य चितवनका लेखा अधिकृत पूर्णप्रसाद रेग्मी, नायवसुब्बा लक्ष्मीभक्त उपाध्याय, लेखापाल लक्ष्मीकान्त शर्मा, नायव सुब्बा कृष्णप्रसाद ढुंगाना र आपूर्तीकर्ता जगन्नाथ ओझाको पनि अख्तियारको आरोप पत्रमा नाम छ।

0 Comments