Incident Reports

जाहेरी दर्ता नगरेको भन्दै महिलाहरुद्धारा प्रहरी कार्यालय घेराउ

2015-04-08

Province 1, Sunsari, Dharan

महिला हत्याको किटानी जाहेरी लिन नमानेको भन्दै महिलाहरुले इलाका प्रहरी कार्यालय धरान घेराउ गरेका छन्। कुटपिट गरेर हत्या गरेको घटनालाई प्रहरीले आत्महत्या भनेर किटानी जाहेरी लिन नमानेको महिलाहरुले बताएका छन्। पचास भन्दा बढीको संख्यामा बुधबार बिहानैदेखि प्रहरी कार्यालय पुगेका महिलाहरुले दबाब दिइरहे पनि प्रहरीले किटानी जाहेरी दर्ता गरेको छैन। गएको आइतबार राती धरान १६ प्रगति टोलका सुजन श्रेष्ठले आफ्नी २२ बर्षीय श्रीमति अञ्जली राईको हत्या गरेको स्थानीय र माइती पक्षको आरोप छ। हत्यामा सुजनका बुबाको पनि संलग्नता रहेको उनीहरुको भनाई छ। तर, प्रहरीले भने घटनास्थलको मुचुल्का र पोष्टमार्टम रिपोर्टको आधारमा सलले पाशो लागेर आत्महत्या गरेको जनाउँदै किटानी जाहेरी दर्ता गर्न नमिल्ने जिकिर गर्दै आएको छ। जाहेरी दर्ता नगरे पनि प्रहरीले श्रीमान सुजन र ससुरासँग सोधपुछ भइरहेको जनाएको छ। मृतकका माइती पक्ष र छरछिमेकीहरुले भने प्रहरीले आर्थिक र राजनीतिक दबाबमा परेर वास्तविकता बङ्ग्याएर फितलो अनुसन्धान गरेको आरोप लगाएका छन्। आइतबार राती अञ्जली घरभित्र मृत अवस्थामा भेटिइएकी थिइन्। सलले पासो लागेर झुण्डिएको भनिएको उक्त घटना आत्महत्या हुनै नसक्ने स्थानीयबासीको दाबी छ। मृतकको जिउमा कुटपिटको डाम भएपनि प्रहरीले सामान्य हो भन्दै गैरजिम्मेवार जवाफ दिने गरेको छिमेकी सिरु राईले बताइन्। 'पिट्दा पिट्दै मारेको घटनालाई मिलेमतो गरेर पाशो लगाएको बनाए। घाटीको पाशोको डोब सलले बेरेको हुदै होइन'–प्रहरी कार्यालयमा भेटिएकी उनले भनिन्–'यत्रो समाजले भनेको कुरा डिएसपी सुन्नै मान्दैन। समाजको कुरै नसुन्ने यो कस्तो कानुन हो? अनुसन्धान गरेर कारबाही गरिपाउँ भन्दा पनि जाहेरी दर्ता गर्न किन मान्दैन?' मृतक अञ्जली र सुजनबीच करिब ३ बर्षअघि प्रेम बिवाह भएको थियो। सुजनसँग अञ्जलीको दोस्रो विवाह हो। उनीहरुबाट एक छोरी पनि जन्म भइसकेको छ। छिमेकीका अनुसार पति पत्नीबीच झगडा भने भइरहन्थ्यो। घटनाको दिन दुवैबीच बिहानैदेखि झगडा भइरहेको थियो। राती घरबाट सडकमा निस्किएर समेत दुवै बीच झगडा भएको र त्यसको १० देखि १५ मिनेट पछि नै अञ्जली मृत्यु भएकोले आत्महत्या हुनै नसक्ने उनीहरुको दाबी छ। झगडा हुँदै गर्दा घरभित्र पस्न खोज्दा छिमेकीलाई ससुराले छिर्न नदिएको छिमेकी शान्ता खतिवडाले बताइन्। प्रत्यक्षदर्शी मनमाया कोइरालाका अनुसार मेरो अञ्जलीलाई कसले मार्यो भन्दै सुजन बाहिर निस्किएपछि भित्र जाँदा टिनको ढोका बन्द थियो भने ससुराले अञ्जलीको टाउको काखमा राखेर सुम्सुम्याउँदै गरेका थिए। ससुरा र श्रीमान घरभित्रै भएको र सल पनि आफूले नदेखेकोले आत्महत्या हुनै नसक्ने कोइरालाले बताइन्। डिएसपी सुदम कुमार सिजापति भने निष्पक्ष छानबिन भइरहेको दाबी गर्दै भिसेरा रिपोर्ट आएपछि मात्रै जाहेरी दर्ता भएर थप अनुसन्धान हुने बताए। 'घटनास्थलको मुचुल्का र पोष्टमार्टम रिपोर्ट वमोजिम पाशो लागेर आत्महत्या भएको भन्ने देखिन्छ, अझै प्रष्ट हुनको लागि भिसेरा रिपोर्ट पर्खिएका छौं'–डिएसपी सिजापतिले भने–'घटनाको निष्पक्ष अनुसन्धान गर्दैछौं, श्रीमान् र ससुरासँग सोधपुछ हुदैछ। दोषी उम्कन नपाउन् तर निर्दोष पनि पर्नहुन्न भन्ने मान्यताले तत्काल जाहेरी दर्ता नगरेको हो।'
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people More than 50
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Police
Actor 2 - Youth na
National/Online Media

0 Comments