Incident Reports

सप्तरीमा भिषण आगलागी, ५० परिवारको डेढ सय घर खरानी

2015-04-09

Madhes, Saptari, Hanumannagar Kankalini, Ward 1

सप्तरीको रम्पुरा मल्हनियाँ गाविसमा बिहीवार भिषण आगलागी भएको छ । वडा नम्बर ५ स्थित मल्हनियाँ टोलमा भएको भिषण आगलागीले स्थानीय ५० परिवारको डेढसय बढी घर डढेर नष्ट भएको हो । आगलागीबाट झण्डै डेढ करोड बढीको क्षति भएको हुनसक्ने प्राराम्भिक अनुमान छ । स्थानीय दशरथ यादवको घरबाट अचानक सुरु भएको आगो टोल भरि फैलिएको थियो । उक्त आगलागीमा एक दर्जन बढी गाई, गोरु, बाख्रा-बाख्रीको डढेर मृत्यु भएको छ । आगलागीले स्थानीय सुखराम यादव, छेदी यादव, अनिरुद्ध यादव, रामचरित्र यादव, असर्फी सुतिहार, जादुराम यादव, नारायण सुतिहार, बलदेव यादव, गङ्गा यादवसहितका घर डढेर नष्ट भएको घटनास्थलमा रहेका जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक नारायणप्रसाद चिमरियाले जानकारी दिए । सदरमुकाम राजविराजबाट आगलागीस्थल झण्डै १४ किलोमिटर दक्षिण-पूर्व रहेको र जिल्लामा रहेका एउटा मात्र राजविराज नगरपालिकाको दमकललेसमेत उक्त आगोलाई निभाउन सकेन । गाउँको बाटो साँगुरो रहेको र पश्चिमबाट चलेको हावाले केही क्षणमै आगोले टोललाई सखाप पारेको हो । जसोतसो स्थानीय बासिन्दा, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरीले दिउँसो २ देखि सुरु भएको आगोलाई साँझ ५ बजे मात्रै नियन्त्रणमा लिन सकेको थियो । पछि बाटो बनाएर पुगेका दमकलले पनि छिटफुटरुपमा रहेको आगो निभाउन सहयोग गरेका थिए । 'आगलागीबाट के-कति क्षति भएको एकिनकासाथ अहिले नै भन्न सकिंदैन', आगलागीस्थलमा रहेका जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डीएसपी नारायणप्रसाद चिमरियाले भने, 'लगत संकलनको काम भईरहेको छ, अहिलेसम्म ५० परिवारको डेढसय बढी घर नष्ट भएको कुरो आईरहेको छ, यसो हेर्दा डेढ करोड भन्दा बढीकै क्षति भएको हुनुपदर्छ ।' आगलागीबाट घरमा रहेका नगद, गरगहना, खाद्यान्न तथा लताकपडा गरी कुनै पनि समान कसैले पनि जोगाउन नसकेको स्थानीय अग्निपीडित अनिरुद्ध यादवले बताए । 'एकाएक आगलागी भएपछि सपरिवार जसोतसो ज्यान जोगाएँ', उनले भने, 'पछि आगो निभाउनेतर्फ लाग्यो, एक रुपैयाँ पनि जोगाउन सकिएन ।' यता बिहीवार साँझसम्म सबै निकाय आगो नियन्त्रणमै लागेकाले हालसम्म स्थानीय अग्निपीडितलाई कुनै पनि राहत सामग्री उपलब्ध हुन सकेको छैन । 'आगलागीबारे जानकारी हुनासाथ आफूहरु घटनास्थलतर्फ पुग्यौं', प्रमुख जिल्ला अधिकारी एवं जिल्ला दैवी प्रकोप राहत तथा उद्धार समितिका अध्यक्ष वीरेन्द्रप्रसाद यादवले भने, '८ बजे राती मात्रै घटनास्थलबाट सदरमुकाम फर्कियौं, लगत संकलनको काम भईरहेको छ, भोलि बिहानै अग्निपीडितलाई नगदसहित राहत सामग्री उपलब्ध गराउनेछौं ।'

0 Comments