Incident Reports

नखुट्टिएको रोगले ११ को मृत्यु

2015-04-10

Karnali, Jajarkot, Kuse

जाजरकोटका ग्रामीण भेगमा दुई सातायता फैलिएको रोगले ११ जनाको मृत्यु भएको छ। हजारभन्दा बढी बिरामी छन्। कुन रोग फैलिएको भन्ने अहिलेसम्म खुट्टिएको छैन जसले गाउँमा प्रकोप झन् फैलने त्रास छ। दुई सातादेखि फैलिएको संक्रमणले पैंक र अर्छानीलगायत गाविसमा शुक्रबारसम्म ११ जनाको ज्यान गएको स्थानीयले बताएका छन्। मृत्यु हुनेमा अर्छानी–५ की सुस्मिता जैसी, पैंक–५ का वीरबहादुर रोकाय र खम्बबहादुर नेपाली, वडा नं ४ की कल्दरी रोकाय, धनबहादुर रोकाय, ३ की जयरूपा उपाध्याय, ४ का जयसरी रोकाय र जयसरा रोकाय, २ का तिलकबहादुर गिरी र लक्ष्मी रोकाय तथा टालेगाउँ–१ की कल्दरा शाही छन्। बिरामीमा टाउको दुख्ने, ज्वरो आउने, हातखुट्टा झमझमाउने, रुघाखोकी लाग्ने लक्षण देखिएको छ। रोगबाट सबैभन्दा बढी उत्तरी गाविस पैंकका सर्वसाधारण पीडित छन्। पैंकका मात्रै ९ जनाको ज्यान गएको छ। अर्छानीका वडा नं. ४ र ५, पैंकका २, ३, ४, ५, ६ र ७, सक्लाको ६, नायकवाडाको ९, पजारुका ४ र ९ वडामा अझै एक हजारभन्दा बढीमा उक्त संक्रमण देखिएको छ। पैंकमा मात्रै ३ सयभन्दा बढी बिरामी रहेको स्थानीय जनता उच्च माविका प्रधानाध्यापक तुल्सीदास चौधरीले जानकारी दिए। ‘एसएलसी परीक्षा चलिरहँदा संक्रमण सुरु भएको थियो। अहिलेसम्म ९ जनाको मृत्यु भइसकेको छ,' उनले भने, ‘सरोकारवाला निकायले नियन्त्रण तथा रोकथामका लागि पहल गरेका छैनन्।' रोग नखुट्टिनु र उपचार पनि नपाउँदा स्थानीयमा त्रास फैलिएको उनले बताए। अर्छानीबाट फैलिएको रोगले अन्य चार गाविस छोपिसक्दा पनि सरोकारवाला निकायले गम्भीरतापूर्वक नलिएको स्थानीयको गुनासो छ। ‘गाउँभरि प्रकोप मच्चिएजस्तो अवस्था छ। रोग पहिचान हुन सकेको छैन। गाउँमा सामान्य औषधिसमेत पाउन मुस्किल छ,' अर्छानी, भेटुखानाका देवबहादुर बस्नेतले भने। रोग पहिचान हुन नसक्दा उपचार अघि बढाउन नसकिएको स्वास्थ्यकर्मीको भनाइ छ। जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख धीरजंग शाहले रोगप्रभावित क्षेत्रमा डा. दीपक पुनको नेतृत्वमा स्वास्थ्यटोली पठाए पनि रोग पहिचान हुन नसकेको बताए। जिल्लाबाट सम्भव नभएपछि क्षेत्रीय स्वास्थ्य निर्देशनालय, सुर्खेतले रोगपहिचानका लागि डा. चेतन वाग्लेलाई प्रभावित क्षेत्र पठाएको उनले जानकारी दिए। ‘क्षेत्रीय कार्यालयले आवश्यक स्रोतसाधनसहित डा. वाग्लेलाई खटाएको छ। अझै पनि रोग पहिचान गर्न कम्तीमा तीन दिन लाग्ने देखिएको छ,' कार्यालयप्रमुख शाहले भने। जिल्लामा प्रयोगशाला र दक्ष जनशक्ति अभावका कारण बिरामीको रक्तनमुना राजधानीस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइने र त्यसपछि मात्र रोग पहिचान हुने कार्यालयले जनाएको छ। कार्यालयका अनुसार डा. वाग्लेको टोली शनिबार प्रभावित क्षेत्र पुग्नेछ। संकलित रक्तनमुना २४ घन्टाभित्र राजधानीस्थित प्रयोगशाला पुर्यायइने वाग्लेले जनाए। ‘नमुना परीक्षण पूरा हुन अझै तीन दिनभन्दा बढी लाग्छ,' उनले भने।

0 Comments