Incident Reports

जाजरकोटमा महामारी अझ तीव्र, ज्यान गुमाउने २५ पुगे

2015-04-19

Karnali, Jajarkot, Kuse

  जाजरकोटमा तीन साताअघि देखिएको संक्रमणप्रति 'राज्य गम्भिर नहुँदा' यसले महामारीकै रूप लिइसकेको छ। जाजरकोटका केही गाविसमा मात्रदेखा परेको संक्रमण अहिले दर्जनभन्दा बढी गाविसमा फैलिसकेको छ। राज्यले सामान्य संक्रमण भएको र नियन्त्रणमा आउन लागेको बताए पनि महामारीकै कारण शनिबार साँझसम्म जाजरकोटमा २५ जनाले ज्यान गुमाइसकेका छन्। जाजरकोटमा संक्रमण नियन्त्रणका लागि परिचालन गरिएको संयन्त्रको लापरबाही र सरकारसमेत गम्भिर नहुँदा महामारी मध्यपश्चिमका अन्य जिल्लामा झाँगिन थालेको छ। जाजरकोटमा शनिबार थप तीनजनाको ज्यान गएको छ। संक्रमणका कारण थला परेका नायकबाडाका ६१ वर्षीय वीरबहादुर कामी, गर्खाकोटका ६० वर्षीय धने दमाईं र दसेराका २८ वर्षीय शेरबहादुर रावतको ज्यान गएपछि जिल्लामा महामारीका कारण ज्यान गुमाउनेको संख्या २५ पुगेको छ। जाजरकोटको महामारी नियन्त्रण गर्न सरकारले प्रभावकारी कदम नचाल्दा छिमेकी जिल्ला रुकुम र जुम्लामा समेत संक्रमण फैलिएको छ। अन्य जिल्ला पनि संक्रमणको उच्च जोखिममा छन्। रु कुममा संक्रमणका कारण चौखावाङमा ५० जनाभन्दा बढी बिरामी परेका छन्। जुम्लामा समेत संक्रमण देखा परेको क्षेत्रीय स्वास्थ्य निर्देशनालय सुर्खेतले जनाएको छ। सरकारी अधिकारीहरूले जिल्लाको अवस्था नियन्त्रणमा आउन लागेको भन्दै सदरमुकाम खलंगामै बसेर केन्द्रमा रिपोर्टिङ गरिरहेकाले पनि महामारी नियन्त्रणमा कठिनाइ भइरहेको छ। अहिले जिल्लामा कति बिरामी छन् भन्ने यकिन तथ्याकं कसैसँग छैन। सदरमुकाममा रहेका स्वास्थ्यका कर्मचारीहरूले संक्रमण नियन्त्रणमा आउन लागेको बताए पनि महामारी नयाँ स्थानमा देखापर्न थालेको छ। जिल्लाका दसेरा, गर्खाकोट, नायकबाडा र टालेगाउँलगायत स्थानमा महामारी फैलिएको छ। ती गाविसमा अहिले सयौं बिरामी रहेको स्थानीयले बताएका छन्। प्रभावित क्षेत्रमा पर्याप्त औषधि पुग्न सकेको छैन। गाउँमा स्वास्थ्यकर्मी अभाव भएका कारण बिरामीले प्रभावकारी उपचार पाउन नसकेको स्थानीयले जानकारी दिए। लामो समयदेखि काम गर्दा थाकेको भन्दै केही डाक्टर र स्वास्थ्यकर्मी प्रभावित क्षेत्रबाट सदरमुकाम फिर्ता भएका छन्। यसले बिरामी थप बिचल्लीमा परेको स्थानीय बासिन्दाको भनाइ छ। लामो समयदेखि सदरमुकाम खलंगामा थन्किएको औषधिमध्ये शनिबार मात्र केही औषधि हेलिकोप्टरबाट प्रभावित क्षेत्रमा पु:याइएको प्रजिअ जगतबहादुर बस्नेतले जानकारी दिए। प्रभावित क्षेत्रमा रहेका स्वास्थ्यकर्मीहरूले त्यो औषधिले नपुग्ने बताएका छन्। प्रभावित क्षेत्रका निश्चित स्थानमा मात्र स्वास्थ्यकर्मी शिविर स्थापना गरेर बसेकाले बिरामीहरू विकटताका कारण उपचारका लागि आउनसमेत सकेका छैनन्। प्रभावित क्षेत्रबाट फिर्ता भएका स्वास्थ्यकर्मीको स्थानमा अरू स्वास्थ्यकर्मी स्थानान्तरण गर्न समय लाग्ने भएकाले गाउँमा बिरामीले उपचार नपाउने अवस्था छ। सरकारले जाजरकोटमा महामारी नियन्त्रणको मुख्य जिम्मेवारीसहित खटाएका क्षेत्रीय स्वास्थ्य निर्देशक डा. राजेन्द्र पन्त एक गैरसरकारी संस्थाको गोष्ठीमा सहभागि हुन नेपालगन्ज पुगेका छन्। यसअघि जाजरकोटमा संक्रमण सामान्य भएको र नियन्त्रणमा आइसकेको दाबी गर्ने गरेका पन्तले भने, 'जुम्लामा पनि संक्रमण देखिएको छ, त्यहाँको अवस्था बुझ्न आइतबार जान लागेको छु। रुकुममा पनि मान्छेहरू बिरामी भएका छन्, हामी उपचारमा लागिरहेका छौं, सबै ठिक भइहाल्छ।' नमुना लिन हेलिकोप्टर महामारीका कारण दिनहुँ सर्वसाधारणको ज्यान गइरहेका बेला रोगको नमुना लिन भन्दै शनिबार जाजरकोटमा हेलिकोप्टर आएको छ। भोगोलिक विकटताका कारण गाउँमा औषधि र स्वास्थ्यकर्मी समयमै पुग्न समस्या भइरहँदा रोगको नमुना लिन भन्दै राजधानीबाट केही विषेशज्ञ डाक्टर शनिबार हेलिकोप्टरमा खलंगा पुगेका थिए। यसअघि पनि हेलिकोप्टर चढेर आएका स्वास्थ्यमन्त्री खगराज अधिकारीसहितको टोलीले नमुना लिएको प्रचार गरे पनि नमुना नलिएको खुलेपछि पुन: नमुना लिन शनिबार हेलिकोप्टर आएको हो। यसअघि पैंकका तीन बिरामीमा स्वाइन फ्लु भएको पुष्टि भएपनि अन्य बिरामीमा अहिलेसम्म रोगको पहिचान हुन सकेको छैन। संक्रमण फैलिएको तीन सातापछि मात्र बल्ल नमुना लिन राजधानीबाट टोली आएको छ। जाजरकोटका प्रजिअ बस्नेतले राजधानीबाट शनिबार आएको टोलीले जिल्लाका अर्छानी र टालेगाउँबाट रोगको नमुना संकलन गरेको र आइतबार थप नमुना लिएर काठमाडैं फिर्ता हुने जानकारी लिए। उनका अनुसार राजधानीबाट आएको हेलिकोप्टरमार्फत शनिबार जिल्लाका थल, पजारु र पैंकमा थप औषधि छोडिएको छ। अहिले पनि औषधि सदरमुकाममा स्टक रहेको छ। प्रजिअ बस्नेतले थप औषधिसहित डाक्टरलाई प्रभावित क्षेत्रमा पठाउने तयारी भइरहेको जानकारी दिए। एक सातामा महामारी नियन्त्रणमा आउने सरकारी दाबी जाजरकोटमा तीन सातादेखि फैलिएको महामारी आगामी शुक्रबारसम्म पूर्ण रूपमा नियन्त्रणमा आउने दाबी सरकारी अधिकारीले गरेका छन्। महामारी तथा रोग नियन्त्रण महाशाखा प्रमुख डा. बाबुराम मरासिनीले उपचार र औषधि वितरण प्रभावकारी बन्दै गएको र नयाँ बिरामी भेटिने क्रम पनि घट्दै गएकाले शुक्रबारसम्म महामारी नियन्त्रणमा आउनेमा आफू विश्वस्त रहेको बताए। 'छोटो समयमा हामीले रोग नियन्त्रणका लागि अथक प्रयास गरिरहेका छौं', उनले शनिबार अन्नपूर्णसँग भने, 'अब नयाँ केस देखिन बन्द हुने हामीलाई विश्वास छ।' मरासिनीले जोखिम न्यूनीकरणका लागि केन्द्रबाट शनिबार तीन चिकित्सक र नौजना स्वास्थ्यकर्मीको टोली जाजरकोट पठाइएको बताए। 'यतिका दिन निरन्तर उपचारमा खटिँदा चिकित्सकलाई अप्ठेरो परेको छ', उनले भने, 'पालो पनि दिन मिल्ने भएपछि थप चिकित्सक पठाइएको हो।' स्वास्थ्य तथा जनसंख्यामन्त्री खगराज अधिकारीले पनि बिरामीको उपचारमा सरकार सफल हुँदै गएको भन्दै आगामी सात-आठ दिनमा संक्रमण नियन्त्रणमा आउने दाबी गरे। 'गाउँगाउँमा चिकित्सक र स्वास्थ्यकर्मी खटिएका छन्', मन्त्री अधिकारीले भने, 'उनीहरूको प्रयास सफल हुँदै गएको छ।' मन्त्री अधिकारीले सरुवा रोगको प्रकोप जाजरकोटमा मात्र नभई अन्य जिल्लामा पनि फलिन सक्ने भएकाले लामो बिदामा नबस्न सरकारी चिकित्सक र स्वास्थ्यकर्मीलाई निर्देशन दिएका छन्। महामारी तथा रोग नियन्त्रण महाशाखाले शनिबार विज्ञप्ति जारी गर्दै तीन हजार ८८ जना बिरामीको उपचार गरिएको जनाएको छ।

0 Comments