Incident Reports

घर परीक्षण गर्दै इन्जिनियर

2015-05-02

Bagmati, Kathmandu, Kathmandu, Ward 10

महाभूकम्पबाट क्षतिग्रस्त बनेका घर बस्नलायक छन् कि छैनन् भनेर घरधनीलाई सुझाव दिन नेपाल इन्जिनियर एसोसिएसनले शुक्रबारबाट काठमाडौं उपत्यकामा अध्ययन सुरु गरेको छ। विज्ञ टोलीले सार्वजनिक सरोकारका भवन, अस्पताल, व्यापारिक कम्प्लेक्स, सिनेमा हल, अपार्टमेन्ट र निजी घरको अवस्था अध्ययन गरेर सरोकारवालालाई सुझाव दिइरहेको एसोसिएसनका अध्यक्ष ध्रुव थापाले बताए। ‘भूकम्पपछि सर्वसाधारण घर फर्कने कि नफर्कने भन्ने कन्फ्युजनमा छन्,' थापाले नागरिकसँग भने, ‘कतिपय त्रिपालमुनि नै बसिरहेका छन्। हाम्रो टोलीले घरको अवस्था हेरेर बस्न हुने, बस्नै नहुने र एलर्ट भएर बस्न मिल्ने भनेर सुझाव दिन्छ।' एसोसिएसनका पाँच सय स्वयंसेवक काठमाडौं महानगरपालिकासहित ललितपुर, भक्तपुर, मध्यपुर र कीर्तिपुर नगरपालिकामा खटिएका छन्। भूकम्प प्रभावित सबै जिल्लाको अध्ययन गर्ने एसोसिएसनको योजना छ। ‘स्वयंसेवक थपिँदै छन्,' थापाले भने, ‘हामी भूकम्प प्रभावित सबै क्षेत्रमा पुग्नेछौं। सबैतिर अध्ययन गर्न महिना दिन लाग्न सक्छ।' घरको अवस्था देखाएर सुझाव लिन टोलीलाई रकम तिर्नुपर्दैन। एसोसिएसनको हटलाइन ५०१०२५१, ५०१०२५२, ९८४१२६००२६ मा सम्पर्क गरेपछि विज्ञ टोली घरमै आइपुग्छ। टोलीले बिहान ८ देखि बेलुकी ८ बजेसम्म अध्ययन गर्ने जनाएको छ। सहयोगका लागि सम्बन्धित नगरपालिका र वडा कार्यालयलाई एसोसिएसनले पत्राचारसमेत गरेको छ। स्ट्रक्चर, जियो टेक्निकिल र आर्किटेक्ट इन्जिनियरको नेतृत्वमा टोली बनेको छ। ‘यो तत्कालका लागि जनहितमा चालिएको कदम हो,' भवन इन्जिनियर एवं सोसाइटी अफ नेप्लिज आर्किटेक्टका अध्यक्ष किशोर थापा भन्छन्, ‘दोस्रो चरणमा हामी सबै घरको डिटेल एनालाइसिस गर्नेछौं।' सहरी भेगका अग्ला भवन चर्केपछि सर्वसाधारण त्रसित छन्। शुक्रबार दिनभर सुन्धारा क्षेत्रमा ओहोरदोहोर गर्नेहरू चर्किएको सिटिसी मल नजिक हतारहतार हिँडिरहेका थिए। सबैका आँखामा भय देखिन्थ्यो। महाभूकम्पले ललितपुर बालकुमारीस्थित वेबस्टार कोलोनीका घर चर्केपछि नजिकै बस्ने गणेशमान कार्की पनि त्रासमा छन्। ‘चर्किएको घर ढल्यो भने वरपरका धेरै घरलाई असर पुग्छ', उनले भने, ‘मन आत्तिइरहन्छ।' चर्केका घरबाट इँटाका टुक्रा खस्ने डर हुन्छ। इन्जिनियर थापाका अनुसार त्यस्ता घर नजिकबाट हिँड्न, सवारी साधन पार्किङ गर्नुहुँदैन। ‘त्यस्तो ठाउँमा डोरी टाँगेर सूचना राख्नुपर्छ,' उनले भने, ‘बेलैमा सावधानी अपनाउनुपर्छ।' सरकारी भवनहरूको अध्ययन भने सहरी विकास तथा भवन निर्माण विभागले बुधबारदेखि नै सुरु गरिसकेको जनाएको छ। काठमाडौंमा १७ तलेसम्म घर ठडिएका छन्। सरकारको भवन निर्माण संहिताअनुसार घर बनाए सुरक्षित हुने विज्ञले बताएका छन्। भवन ऐन २०५३ अनुसार बनेको संहितामा सहरमा बन्ने आधुनिक भवनदेखि गाउँमा बन्ने सामान्य घरसम्म सुरक्षित बनाउने विधि उल्लेख छ।

0 Comments