Incident Reports

मंगलबारको भूकम्पबाट ६४ जनाको मृत्यु, हजारभन्दा बढी घाइते (अपडेट)

2015-05-13

Bagmati, Kathmandu, Kathmandu, Ward 10

मंगलबार आएको शक्तिशाली भूकम्पका कारण ६४ जनाको ज्यान गएको छ। ७ दशमलव ६ रेक्टरस्केलको भुकम्पको १८ औं दिन मंगलबार लगातार तीन पटक आएको भूकम्पका कारण ४१ जनाको ज्यान गएको हो। गृहका अनुसार बैशाख १२ गतेबाट पटक पटक आएको भूकम्पमा परी मृत्यु हुनेको संख्या ८ हजार १ सय ५१ पुगेको छ । १७ हजार ८ सय ६६ जना घाइते भएका छन् । गृह मन्त्रालयका अनुसार मंगलबार दोलखाको भ्याकुसुरी र चिलंगखाको केन्द्रविन्दु रहेकोे भुकम्पबाट सबैभन्दा धेरै दोलखा, सिन्धुपाल्चोक, काभ्रे, काठमाडौं, ललितपुर,भक्तपुर र रसुवा गरी ३२ जिल्लालाई क्षति पूर्याएको छ । मंगलबार आएको भूकम्पका कारण काठमाडौं, ललितपुर, सुनसरी, सिन्धुपाल्चोक, दोलखा। धनुषा, सर्लाही, सिन्धुली, रौतहट, रामेछाप र गोरखामा मानविय र भौतिक क्षति भएको छ । गृह मन्त्रालयका अनुसार मध्यान्ह १२ ५२ मा आएको भूकम्पमा परी भूकम्पबाट मध्यक्षेत्रमा सबैभन्दा धेरै मानवीय क्षति भएको छ । मध्यमा ३४ जनाको ज्यान गएको छ । काठमाडौं उपत्यकामा ८ जनाको ज्यान गएको छ । महानगरीय प्रहरी आयुक्त कार्यालयका प्रवक्ता नारायणसिंह खड्काका अनुसार काठमाडौंमा ५ जनाको ज्यान गयो, भक्तपुरमा २ जना मारिए भने ललितपुरमा एक जनाको मृत्यु भएको छ । काठमाडौंको माछापोखरी, बालाज, सामाखुसी, मित्रनगर, कपन र निलोपुलमा घरहरु भत्किए । मित्रनगरमा ४ वटा घर ढलेका छन् । भक्तपरको सल्लाघारी क्षेत्रमा सबैभन्दा धेरै क्षति पुगेको छ भने ललितपुरको नक्खु र हरिसीद्धी क्षेत्रमा घरहरु भत्किए । घर भत्किएका स्थानमा खोजी र उद्धारमा सुरक्षाकर्मी परिचालित भएका थिए । प्रभावित क्षेत्रमा भत्किएका घरमा कोही च्यापिएको बारे जानकारी नआएको खड्काले जानकारी दिए । भूकम्पका कारण पुर्वमा १, र पश्चिम क्षेत्रमा १ जनाको मृत्यु भयो । प्रहरी प्रधान कार्यालयका अनुसार भूकम्पका कारण १ हजार १ सय १५ जना घाइते भएका छन् । उपत्यकामा घाइते हुनेहरुको संख्या सबैभन्दा धेरै छ । उपत्यकामा घाइते भएका ९ सय ७७ जनामध्ये सबैभन्दा धेरै काठमाडौंमा घाइते भएका छन् । आयुक्त कार्यालयका अनुसार भूकम्पका कारण काठमाडौंमा ७ सय ५७, ललितपुरमा २७० र भक्तपुरमा २ सय ५० जना घाइते भए । मध्यमा ३ सय ३३, पश्चिममा ४७, पुर्वमा १८ र मध्य पश्चिममा १० जना घाइते भएका छन् । निरन्तर पराकम्पन आइरहे पनि ठुलो धक्का नआएकाले जनजीवन सनमान्य बन्दै गएको बेला मंगलबार दिउस ठुलो धक्काको भूकम्प आउँदा भागदौड भएको थियो ।मंगलबारबाट शहरी क्षेत्रका कार्यालय, व्यापारिक केन्द्र र विद्यालय समेत सञ्चालनमा आएका थिए । अधिकांश पसलहरु खुलेका थिए । ठुला मल र सिनेमाहल समेत शुरु भएको अवस्थामा एक्कासी आएको भुकम्पको धक्काले भागदौड मच्चिदा धेरै घाइते भए । त्रिवि शिक्षण अस्पताल आकस्मिक कक्षका प्रमुख चिकित्सक रमेश आचार्यका अनुसार अस्पतालमा उपचारका लागि आएका घाइतेमध्ये ८० प्रतिशत भागदौडका कारण घाइते भएकाहरु धेरै छन् । दोलखामा गम्भिर घाइते भएका ३८ जनालाई उद्धार गरी हेलिकोप्टर मार्फत उपचारका लागि काठमाडौं ल्याइएको छ । गृहका अनुसार अन्य जिल्लाहरुबाट समेत गरी ४६ जनाको उद्धार गरी उपचारका लागि काठमाडौं ल्याइयो । भूकम्प लगत्तै शहरी क्षेत्रका मुख्य सडक मार्गमा सवारी जामहुँदा आपतकालीन अवस्थामा परिचालीत हुने सवारीसाधनको आवागमनमा अवरोध पुगेको छ । भुकम्पको धक्का लगत्तै सवारीसाधन लिएर सुरक्षित स्थान जान चाहनेहरु एक्कासी सडकमा निस्कदा जाम भएको थियो । महानगरीय टाफिक प्रहरी महाशाखाका अनुसार भुकम्पपछि मुख्य शहरी क्षेत्रको सडकको आवागमन सहज बनाउन करिव १ घन्टा लागेको थियो । घाइते हुनेहरुमा काठमाडौंमा ३५५, ललितपुरमा १६८, भक्तपुरमा १८२, सिन्धुपाल्चोकमा १००, दोलखामा २४, काभ्रे ३८, रामेछाप ५, दाङमा २, तेह्रथुम ४, सिराहा ५, सप्तरी ३ र सुनसरी २ जना गरी ८८९ जना रहेका छन्। भूकम्पबाट काठमाडौं माछापोखरीमा १ घर, डल्लु पुल पारी १ घर, दोलखाको सदरमुकामको बैंक रहेको भवन, गोरखाको ताकुकोट गाबिसका ५ घर भत्किएर क्षति पुगेको छ। नेपाल प्रहरीको विपद व्यवस्थापनसमेतको संयुक्त टोली तत्काल काठमाडौं उपत्यका लगायतका प्रभावित क्षेत्रहरुमा खटिई उद्धारलगायतका कार्यमा जुटीरहेको छ।

0 Comments