Incident Reports

विश्व खाद्य कार्यक्रम र रेडक्रसलाई कारबाही गर : आयोग

2015-05-27

Bagmati, Kathmandu, Kathmandu, Ward 10

मानवअधिकार आयोगले भूकम्प पीडितलाई गुणस्तरहीन चामल बाँडेको भन्दै वितरणकर्ता विश्व खाद्य कार्यक्रम र नेपाल रेडक्रसमाथि कानुनी कारबाही गर्न मंगलबार सरकारलाई निर्देशन दिएको छ । रेडक्रसमार्फत विश्व खाद्य कार्यक्रमले बाँडेको चामल खाँदा काभ्रेका बालबालिकामा झाडापखाला लागेपछि आयोगले थप बाँड्न ठीक पारिएका चामलको गुणस्तर परीक्षण गराएको थियो । परीक्षणबाट चामलको गुणस्तर खान नहुने प्रमाणित भएपछि आयोगले विश्व खाद्य कार्यक्रम र रेडक्रसलाई कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ । रेडक्रसले विश्व खाद्य कार्यक्रमको चामल पीडितलाई बाँड्ने गरेको छ । ‘मानिसको स्वास्थ्य तथा जीवनसँग सम्बन्धित खाद्यान्नमा खेलबाड गर्ने संस्थाहरूलाई कानुनी दायरामा ल्याई कारबाही गर्न आयोग सरकारको ध्यानाकर्षण गराउँछ,’ आयोगद्वारा मंगलबार जारी विज्ञप्तिमा छ । आयोगले यसअघि २०६६ मा विश्व खाद्य कार्यक्रमबाट जाजरकोटमा वितरित चामल गुणस्तरहीन भएको ठहर गरी नेपाललाई आवश्यक कारबाहीका लागि सिफारिस गरेको थियो । आयोगका अनुसार काभ्रेको महादेवस्थानको समाजसेवा भवनमा राखिएको चामल खानयोग्य नभएको पाइएको हो । त्यसलाई आयोगले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा परीक्षण गराएको थियो । प्रतिवेदनमा सरकारले चामलका लागि तोकेको अनिवार्य गुणस्तरअनुरूप नरहेको उल्लेख छ । ‘टुक्रेको चामलको मान नेपाल सरकारले चामलका लागि तोकेको अनिवार्य गुणस्तरअनुरूप नरहेको देखिएको छ,’ खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण विभागको ल्याबको प्रतिवेदनमा उल्लेख छ । आयोगका अनुसार प्रचलित कानुनअनुसार पनि उक्त चामल वितरण र उपभोगमा रोक लगाइनुपर्ने अवस्थाको छ । खाद्य ऐन, २०२३ को दफा ३ मा गुणस्तरहीन खाद्य पदार्थ वितरण गर्न रोक लगाउने प्रावधान समावेश छ । आयोगका अनुसार काभ्रेमा उक्त चामलको भण्डारणमा राखिएको ‘स्वस्तिक, सुरज चामल, उत्पादक ठाकुर एग्रो इन्डस्ट्रिज लेखिएको पहेँलो बोरा र सादा सेतो प्लास्टिकको बोरा’ भित्रको चामलको गुणस्तर कमसल भेटिएको थियो । ‘पहेँलो बोरामा उत्पादन मिति मे, २०१५ र उपभोग मिति उत्पादन भएको मितिले ६ महिनाभित्र प्रयोग गरिसक्नुपर्ने समेत उल्लेख भएको र नांगो आँखाले हेर्दासमेत कालो रंगको झन्डै आधा कनिका मिसावट रहेको आयोगको अनुगमनबाट देखिएको छ,’ आयोगकी प्रवक्ता मोहना अन्सारीले मंगलबार विज्ञप्ति जारी गर्दै लेखेकी छन्, ‘चामलको उपभोगको सम्बन्धमा अनुगमन टोलीले स्थानीय बासिन्दाहरूसँग प्रतिक्रिया लिँदा चामल पकाएपश्चात् अमिलो, तीतो, खाँदा स्वाद नमिठो र नराम्रो बास्ना आउने, त्यसकारण स्थानीय बासिन्दाले कुँडोमा मिसाएको भन्ने कुरा बताएका थिए ।’ आयोगको टोलीलाई स्थानीय बालबालिकाले उक्त चामलको भात खाएपछि झाडापखाला भएर जीवनजल खाएको बताएका थिए ।

0 Comments