Incident Reports

गार्डियनको समाचारप्रति श्रम मन्त्रालयको असन्तुष्टि

2015-05-29

Bagmati, Kathmandu, Kathmandu, Ward 10

कतारमा रहेका नेपाली श्रमिकबारे दी गार्डियनले छापेको समाचारप्रति श्रम तथा रोजगार मन्त्रालयले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । बेलायती समाचारपत्र दी गार्डियनले कतारमा कार्यरत नेपाली श्रमिकका बारेमा आइतबार प्रकाशन गरेको समाचार आधारहीन भएको दावी गर्दै मन्त्रालयले बिहीबार विज्ञप्ती जारी गरेको छ । वैशाख १२ को भूकम्प र कतारमा रहेका नेपाली कामदारका विषयमा श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङलाई उद्धृत गर्दै छापिएको समाचार विवरणले मन्त्री गुरुङको अभिव्यक्तिलाई प्रतिविम्वित नगरेको मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । मन्त्री गुरुङले असल नियतले भूकम्पबाट प्रभावित भएका कामदारका आफन्तजनलाई भेट्न नेपाल फर्काउने वातावरण तयार गर्न कतारी रोजगारदाता कम्पनीसँग गरेको आग्रहलाई गार्डियनले विपरीत ढंगले छापेको मन्त्रालयको भनाई छ । मन्त्रालयले जारी गरेको विज्ञप्तिमा कतारी रोजगारदाता कम्पनीले राज्यमन्त्री गुरुङको आग्रहलाई सकारात्मक रुपमा लिएर नेपाली कामदारलाई स्वदेश फर्काउन सहजकर्ताको भूमिका निर्वाह गरिरहेको समेत उल्लेख गरिएको छ । यस्ता समाचारले दुई देशबीचको सम्बन्धलाई नै असर पर्ने हुनाले ख्याल गरेर समाचार लेख्न भन्दै उक्त समाचारपत्रलाई समेत पत्राचार गरिएको विज्ञप्तीमा जनाइएको छ ।

0 Comments