Incident Reports

राहत खाद्यान्न लुकाएर बिक्री

2015-06-10

बनेपा-भूकम्प पीडितलाई बाँड्न काभ्रेको विकट कोसीपारि, चौबास गाविसमा लगिएको सरकारी राहतको चामल र चिउरा बेच्ने उद्देश्यले लुकाइएको खुलासा भएको छ। स्थानीयको उजुरीका आधारमा काभ्रे प्रहरीले तीन पसलबाट ४५ बोरा चामल र २० बोरा चिउरा बरामद गरेको हो। 'चौबासमा वितरण गर्ने भनेर लगिएको खाद्य संस्थानको चामल र चिउरा गोठपानी, सानो वाङथली र धुसेनी शिवालयका तीनवटा पसलमा बेच्ने उद्देश्यले लुकाइएको फेला पारेका हौं,' जिल्ला प्रहरी कार्यालयका डिएसपी राजकुमार केसीले भने। प्रहरीले खाद्यान्न बरामदलगत्तै गोठपानी–९ का गुणप्रसाद चौलागाईं र कृष्णप्रसाद चौंलागाईं, धुसेनी शिवालयका इन्द्र लामा, पुन्जु शेर्पा र ट्रक चालक प्रकाश तामाङलाई पक्राउ गरेको छ। यस्तै, सरकारी राहत बेच्ने प्रयोजनले लुकाउन संलग्न भएको भन्दै चौबास–७ का सूर्यबहादुर तामाङ र छोरा विजयलाई समेत पक्राउ गरेको छ। 'सूर्यका छोरा अशोक भनिने जितमान लामा र केवल लामाले काठमाडौंबाट ल्याइएको खाद्यान्नमध्ये ४७ बोरा चामल र २० बोरा चिउरा गोठपानी–९, मझुवास्थित चौलागाईंको पसलमा लगेर स्टोर गरेको पाइयो,' डिएसपी केसीले भने। नेसनल ट्रेडिङ लिमिटेडस्थित राहत शिविरबाट जिल्ला प्रशासन कार्यालय काभ्रेका नाममा वैशाख २२ गते साँझ ना३ख ५६१३ नम्बर ट्रकमा २ सय बोरा चामल, १ सय बोरा चिउरा, ५ बोरा नुन, २ सय कार्टुन चाउचाउ र १ सय ८० थान ब्लांकेट निकासा भएको थियो। तर, उक्त सामग्री जिल्ला दैवी प्रकोप उद्धार समितिको धुलिखेलस्थित भण्डारमा दाखिला नगरी चौबासकै केवल लामाले गाउँतर्फ लगेका थिए। 'चौबास प्रहरी चौकीमा खाद्यान्न बुझाउने र गाविस सचिवको रोहबरमा बाँड्ने भनिए पनि प्रहरी र गाविस सचिवलाई समेत झुक्याउँदै अन्यत्रै लगिएको रहेछ,' चौबासका एक शिक्षकले भने। २२ गतेकै राति चौबास–८, दूधगाउँमा ओरालेर बचाएको ४५ बोरा चामल र २० बोरा चिउरा गोठपानीमा लगेको देखेको ती शिक्षकको दाबी छ। नेसनल ट्रेडिङबाट खाद्यान्न पठाइएको भनिए पनि पीडितले पर्याप्त नपाएपछि खोजी तीव्र पारिएको थियो। गाविसस्तरीय राहत वितरण समिति र वडा नागरिक मञ्चले चामल र चिउरा निकासा भएजति परिमाणमा गाउँ नभित्रिएको पाएपछि प्रमाणित गर्नसमेत रोक लगाएको गाविस सचिव टंकप्रसाद ढकालले जानकारी दिएका छन्। चामल र चिउराको सोधीखोजी गर्दा बाटैमा गायब भएको भन्दै विवरण प्रमाणित गर्न स्थानीय एक नेताले सचिवलाई दबाब दिइरहेका थिए। 'दलका गाउँस्तरीय नेता सूर्यबहादुर तामाङले पटक–पटक रजिस्टर ल्याएर दबाब दिए। पूरै परिमाण नआएसम्म सही नगर्ने अड्डी कसेँ,' ढकालले भने। सरकारी प्राविधिक टोली, परिचयपत्रलगायत विभिन्न कारणले महिनौंसम्म पनि लुकाइएको चामल र चिउरामा कसैको ध्यान नगएको उनको भनाइ छ। 'लुकाइएको चामल र चिउरा शनिबार बा३ख ६३०९ नम्बरको ट्रकमा ओसार्दै वाङथली, गुम्पडीतर्फ लगेको देखेपछि स्थानीयले खबर गरे,' गाविस सचिव ढकालले भने, 'मैले जिल्ला दैवीप्रकोप उद्धार समितिलाई चामल र चिउरा बोकेको ट्रक चौबास प्रहरीमा नआएको र आफूले नबुझेको जानकारी पहिल्यै गराइसकेको थिएँ,' उनले भने। समितिको राहत भण्डार सचिवालयको रेकर्डमा दर्ता नं ५३ मा उक्त राहत सामग्री सोझै चौबास गाविसमा गएको उल्लेख छ। नजिकैको प्रहरीचौकीले सामान बुझेको भरपाईका आधारमा समितिले ट्रकभाडा भुक्तानीका लागि नेसनल ट्रेडिङलाई सिफारिस गर्दै आएको भए पनि चौबासमा सामान ढुवानी भएको सो ट्रकका चालक र सवारीधनी हालसम्म सम्पर्कमा नआएको सदस्य–सचिव एवं काभ्रेका स्थानीय विकास अधिकारी चिरञ्जीवी तिम्सिनाले जानकारी दिए। समिति अध्यक्ष एवं प्रजिअ सुदर्शनप्रसाद ढकालले चौबासको घटना सार्वजनिक भएलगत्तै जिल्लास्थित भण्डारबाट निकासा भएबाहेक काठमाडौंबाट सोझै गाउँ लगिएको सरकारी राहत वितरणको अवस्था बुझ्ने बताए। 'जिविसमार्फत सबै गाविस सचिवलाई गाउँमा आएको सरकारी राहत वितरणको भरपाई उपलब्ध गराउन निर्देशन दिएका छौं। राहतमा मनपरी गर्ने जोसुकैलाई कानुनबमोजिम कारबाही हुन्छ,' उनले भने।
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Black Marketing
Primary Cause Issues related to the delivery of government aid programs (e.g. earthquake rehab/recon)
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Other private sectors
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Group of civilians (only Target)
Actor 2 - Youth na
National/Online Media

0 Comments