Incident Reports

अधिकारी हत्यासम्बन्धी मुद्दा सर्वोच्चमा

2015-07-03

गोरखा फुजेल-७ का १६ वर्षीय कृष्णप्रसाद अधिकारीको हत्यासम्बन्धी मुद्दा सर्वोच्च अदालतमा प्रवेश गरेको छ । कृष्णप्रसादका बाबु नन्दप्रसाद अधिकारी आमा गङ्गामायाको तर्फबाट ०७२ असार १६ गते अदालतमा दर्ता भएको रिट निवेदन असार १७ गतेका लागि पेशी तारेख तोकिएको थियो । तर हेर्न नभ्याएपछि रिट उपर १७ गते सुनुवाइ हुन सकेन । सर्वोच्चका न्यायाधीश दीपकराज जोशीको इजलासले सो रिट हेर्नेछ । दायर रिटमा छविलाल पौडेलसहित १२ जनालाई विपक्षी बनाइएको छ । यस अघि पुनरावेदन र जिल्ला अदालतले आरोपितहरूलाई धरौटीमा रिहा गरेको थियो । चितवन जिल्ला अदालतले रामप्रसाद अधिकारी, छविलाल पौडेल र भीमसेन पौडेललगायत आरोपितहरू घटनाको मुख्य अभियुक्त नदेखिएको भन्दै साधारण धरौटीमा रिहा गरेको थियो । त्यस्तै सरकारी वकिलको कार्यालयले पुनः पुनरावेदन अदालत हेटौँडामा रिट दायर गरेकोमा अदालतले जिल्ला अदालतकै आदेशलाई सदर गरेको थियो । छोरा कृष्णप्रसादको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै आमरण अनसनमा बसेका अधिकारी दम्पती मध्ये नन्दप्रसाद अधिकारीको अनसनकै क्रममा गत वर्ष वीर अस्पतालमा मृत्यु भएको थियो । हाल गंगामाया अधिकारी वीर अस्पताल ट्रमा सेन्टरमा आमरण अनसन बसिरहेकी छन् । स्मरण रहोस् दम्पतीका कान्छा छोरा कृष्णप्रसाद अधिकारीलाई तत्कालीन माओवादीका कार्यकर्ताले ०६१ जेठ २४ गते चितवनमा अपहरण गरी हत्या गरेका थिए । विवेक ढुङ्गाना

0 Comments

Related Reports