Incident Reports

अनुदानको चामल बाटोमै बिक्री

2015-07-11

Karnali, Humla, Namkha

हुम्ला सर्केगार्ड खाद्य डिपोका लागि मुगुबाट ढुवानी गरिएको अनुदानको चामल बाटोमै बिक्री भएको पाइएको छ। हुम्लाका तल्ला ७ गाविसका लागि गमगढी खाद्य डिपोबाट ठेकेदारले खच्चडमार्फत ढुवानी गर्दै आएको खाद्यान्न मुगुको बाम र चंखेली क्षेत्रका होटलमा बिक्री गरेको स्थानीय बासिन्दाले बताएका हुन्। ठेकेदारले अनुदानको चामल सर्केगार्ड डिपोमा नपुर्‍याउँदै बाटोमै नाफा लिएर बिक्री गरेको हुम्लाको दार्म गाविसका हंसबहादुर ऐडीले बताए। ‘गाउँका सर्वसाधारणले भने एक दाना चामल पाएका छैनन्,’ उनले भने। सरकारले सहुलियत दरमा उपलब्ध गराएको चामल ठेकेदार लक्ष्मीप्रसाद जैसीले बोरा परिवर्तन गरि सिमकोटसम्म पुर्‍याएर प्रतिबोरा ६ हजार ५ सयका दरले बिक्री गरेको ऐडीको भनाइ छ। खडेरीका कारण हुम्ला जिल्लाको तल्लो भेगका दार्म, रोडीकोट, मिमी, श्रीमस्ट, मेल्छाम गाविसमा भोकमरी फैलिएको छ। ठेकेदारले अनुदानको चामल बिक्री गर्दा स्थानीयवासीले खान पाएका छैनन्। सर्केगार्ड डिपोका लागि खच्चडद्वारा ठेकेदारले ढुवानी गरेको चालू आर्थिक वर्षको कोटाको चामल बीच बाटोमै बिक्री गरेको गुनासो सुनिएकाले अनुसन्धान अघि बढाइएको खाद्य संस्थानका कार्यालय प्रमुख टेकप्रसाद खत्रीले बताए। गमगढी खाद्य डिपोबाट सर्केगार्ड डिपोमा ढुवानी हुने खाद्यान्न कोटा १ हजार २ सय क्विन्टल छ। अहिलेसम्म ठेकेदार जैसीले ७ सय क्विन्टल बुझेर लिएको खाद्य संस्थानले जानकारी गराएको छ।

0 Comments