Incident Reports

जनकपुर बमकाण्डका नाइकेलाई थुनामै राख्न सर्वोच्चको आदेश

2015-08-05

Bagmati, Kathmandu, Kathmandu

सर्वोच्च अदालतले पाँच जना सर्वसाधरणको ज्यान जाने गरी भएको जनकपुर बमकाण्डका अभियुक्तहरुलाई थुनैमै राखी थप कारवाही प्रक्रिया अगाडि बढाउन निर्देशन दिएको छ। प्रधान न्यायाधीश कल्याण श्रेष्ठ र न्यायाधीश ओमप्रकाश मिश्रको इजालसले बुधबार यस्तो फैसला सुनाएको हो। आरोपित मध्ये एक सद्भावना पार्टीका नेता सञ्जयकुमार साह जिल्ला अदालत धनुषाको थुनामा राख्ने आदेशविरुद्ध सर्वोच्च आइपुगे थिए। तर सर्वोच्चले साहको मागलाई अस्वीकार गर्दै जिल्लाको आदेशलाई सदर गरेको हो। यसअघि सर्वोच्चको इजलाशले घटना सम्वन्धी सम्पूर्ण मिसिलहरु माग गरेको थियो। सद्भावनाका नेता साहकै योजना र निर्देशनमा २०६८ वैशाख १८ गते जनकपुरमा बम विस्फोट गराएको दाबी गर्दै दायर मुद्दामा सुनुवाई गर्दै धनुषा जिल्ला अदालतले पूर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो। शुरुमा साहको नाम किटानी जाहेरीमा नरहे पनि अनुसन्धानका क्रममा पक्राउ परेका एक अभियुक्तले पोलेको भनि प्रहरीले साहलाई पक्राउ गरेको थियो। पहिलो अभियोग पत्र दायर भएपछि सार्वजनिक भएको सिडी र सह अभियुक्तको पोललाई आधार बनाउँदै प्रहरीले साहलाई पनि विपक्षी बनाएको थियो। अलग्गै मिथिला राज्यको माग गर्दै धर्नामा रहेका व्यक्तिहरुलाई लक्षित गर्दै भएको बम विस्फोटनमा परी पाँच जनाको मृत्यु भएको थियो। ३२ जना घाइते भएका थिए। २०६९ साल वैशाखमा धर्ना दिइरहेको समयमा १० बजे बम बिस्फोट भएको थियो । अनुसन्धानका क्रममा साहसँग विभिन्न व्यक्तिको टेलिफोन कुराकानी भएको प्रहरीले पाएपछि उनलाई पक्राउ गरी पूरक मुद्दा दायर गरेको थियो। प्रत्यक्ष निर्वाचित भएका साह सद्भावना पार्टीका उपाध्यक्ष थिए। फौजदारी मुद्दामा पक्राउ परेपछि साहको सभासद पद निलम्बन भएको थियो। घटनामा संलग्न भएको भन्दै प्रहरीले त्यतिबेला जयप्रसाद चौधरी, मुकेशकुमार कर्ण, निपेन्द्र झालाई पक्राउ गरेको थियो। मुकेशको नेतृत्वमा बम विस्फोट भएको भन्दै सरकारी बकिलको कार्यालयले पहिलो अभियोगपत्र दायर गरेको थियो। घटना भएको दुई महिनापछि असार २९ गते प्रहरीले उनीहरुविरुद्ध कर्तव्य ज्यान मुद्दा दायर गरेको थियो। जितेन्द्र कर्ण,राजनमुक्ती मोर्चाका रञ्जित झा ,मुकेशकुमार चौधरी,र आदित्यदेव बाबु फरार रहेको भनी उनीहरुलाई पनि विपक्षी बनाइएको थियो। तराईमा हिसांत्मक कार्य गर्दै आएका सशस्त्र समूह सञ्चालन गर्दै आएका उनीहरुको योजनामै बम विस्फोट भएको प्रहरीले निष्कर्ष निकालेको थियो। फरार रहेका अभियुक्त मुकेश चौधरी पक्राउ परेपछि मुख्य योजनाकार साह भएको खुलेको थियो।

0 Comments