Incident Reports

कतारमा २१ नेपालीलाई आममाफी

2015-08-13

Nepal

कतार सरकारले लागू औषधसम्बद्ध मुद्दामा सजाय तोकिएका दुई नेपाली कैदीको २/२ लाख रियाल (करिब ५६ लाख रुपैयाँ) जरिवाना मिनाहा गरेको छ। सरकारले विभिन्न मुद्दामा जेल परेका बाँकी १९ जनालाई समेत आममाफी दिएको छ। कतारका अमिर शेख तमिम बिन हमाद बिन खालिफा अलथानीले इदको अवसरमा आममाफी दिएका हुन्। नेपाली दूतावासका अनुसार ५६ लाख रुपैयाँ जरिवाना मिनाहा पाउनेमा गणेशबहादुर र अच्युत दरासाई रहेका छन्। उनीहरूलाई लागू औषध मुद्दामा तीन वर्ष जेल र दुई लाख रियाल जरिवाना तोकिएको थियो। उनीहरू सन् २०१३ जुलाई १३ मा जेल चलान भएका हुन्। दूतावासका प्रवक्ता नितेश सापकोटाका अनुसार आममाफी पाउने अरू कैदीहरू चोरी, बलात्कार, ठगी र मादक पदार्थ सेवन मुद्दासम्बद्ध छन्। उनीहरूलाई प्रक्रिया पुर्‍याएर नेपालमा डिपोर्ट गरिने बताइएको छ। आममाफी पाउनेमा समिम अन्सारी, दलबहादुर विश्वकर्मा, रफिल मोहमद दुनियाँ, तपेश्वर बरही, आर्शद केन्ती, प्रेमसुन्दास दर्जी, मोहनबहादुर बानियाँ, युवराज खडा, सन्तकुमार राई, दिनेश कार्की, राजकुमार राई, मोहन लिम्बु, पुन गुणहरी र कमलकुमार केसी छन्। त्यस्तै, डिल्लीराम भण्डारी, अदिराज बीके, गणेश बहादुर, अच्युत दरासाई, सुमन पुन, सुरेन्द्र घिमिरे र रामप्रसाद चौधरीले आममाफी पाएका छन्। अन्सारी र विश्वकर्माको ५० हजार रियाल (१४ लाख रुपैयाँ) जरिवाना मिनाहा भएको हो। उनीहरूलाई झूटो विवरण भरेर गाडीको तस्करी गरेको मुद्दा लागेको थियो। अदालतले तीन वर्षको जेल सजाय तोकेको थियो। भण्डारी, बीके, सुमन, रफिल, बराही, अर्शदलाई एक/एक वर्ष, प्रेमसुन्दासलाई ९ महिना जेल र २२ हजार जरिवाना, मोहनबहादुर बानियाँलाई ३ वर्ष, युवराज खडकालाई ६ महिना कैद र २२ हजार रियाल जरिवाना तोकिएको थियो। त्यस्तै, दिनेश कार्कीलाई दुई वर्ष जेल र १० हजार रियाल, राजकुमार राई, मोहन लिम्बू र पुनलाई ६/६ महिना जेल सजाय तोकिएको थियो। कमलकुमार केसी र सुरेन्द्र घिमिरेलाई एक वर्ष र १० हजार रियाल, रामप्रसाद चौधरीलाई एक वर्ष जेल र २० हजार जरिवाना तोकिएको थियो। उनीहरूमध्ये धेरैजसोले आफूलाई निर्दोष भएको दाबी गर्दै आएका छन्।

0 Comments