Incident Reports

संयमित र संवेदनशील बन्न आयोगको आग्रह

2015-08-23

नयाँ संविधान बन्ने क्रममा भइरहेको बन्द, हड्ताल, धर्नामा भएको जनधनको क्षति, मानव अधिकार हनन् लगायतको विषयमा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका नेताहरु र राष्ट्रिय मानव अधिकार आयोगका पदाधिकारीबीच छलफल भएको छ । मधेशी मोर्चाद्वारा देशका विभिन्न स्थानमा भइरहेको आन्दोलनका विषयमा आयोगले मोर्चाका नेताहरूसँग छलफल गरेको हो । छलफलका क्रममा आयोगका अध्यक्ष अनुपराज शर्माले आन्दोलनको लक्ष्यको बारेमा मधेशी मोर्चाका नेतासँग जिज्ञासा राख्दै आन्दोलनलाई थप संयमित र सद्भावपूर्ण बनाउन आग्रह गर्नुभयो । आन्दोलनको बारेमा आयोगले प्रभावकारीरूपमा स्थलगत अनुगमन गरिरहेको बताउँदै अध्यक्ष शर्माले आगामी दिनमासमेत अनुगमनलाई निरन्तरता दिने बताए । कार्यक्रममा तराई मधेश लोकतान्त्रिक पार्टीका वरिष्ठ उपाध्यक्ष हृदयेश त्रिपाठीले शान्तिपूर्णरूपमा भइरहेको आन्दोलनमा सरकारले निर्ममतापूर्वक दमन गरेको बताए । लोकतान्त्रिक आन्दोलनमा मधेशीलगायतको ऐक्यबद्धता आवश्यक भए पनि मधेश आन्दोलनमा मधेशी एक्लै रहेको अनुभूति उपाध्यक्ष त्रिपाठीले व्यक्त गरे । सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले बल र बन्दुकको प्रयोग राज्यले संयमतापूर्वक गर्नुपर्ने बताए । तराई मधेश सद्भावना पार्टी नेपालका वरिष्ठ नेता राम नरेश रायले विगतमा मधेशी दलका नेतासँग गरेको सम्झौता अनुसार चल्नुपर्ने भन्दै मधेशी र पहाडी बीचको विभेद झल्किने गरी सरकारलाई व्यवहार नगर्न आग्रह गरे । सङ्घीय समाजवादी फोरम नेपालका नेता अशोक राईले "शान्तिपूर्ण आन्दोलनभन्दा धेरै बल हतियारमा नहुने" विश्वास व्यक्त गरे । कार्यक्रममा आयोगका सदस्य प्रकाश वस्ती, सुदिप पाठक, गोविन्द शर्मा पौड्याल, कामु सचिव वेदप्रसाद भट्टराई लगायतको सहभागिता रहेको थियो ।

0 Comments

Related Trend Analysis