Incident Reports

उपत्यकाबाट दैनिक ६ जना बेपत्ता

2015-09-02

Bagmati, Kathmandu, Kathmandu

दक्षिणकाली जान भनेर अघिल्लो मंगलबार घरबाट हिँडेकी ४८ वर्षीया पूर्णदेवी शाही अझै घर फर्किएकी छैनन् । खोजीका लागि प्रहरीलाई उजुरी दिए पनि प्रहरीले पूर्णदेवीलाई भेट्न सकेको छैन । श्रीमान् धनबहादुर श्रीमती सकुशल फर्किने आशामा अझै बाटो हेरिरहेका छन् । छोराछोरी आमाको प्रतीक्षा गरिरहेका छन् । तर, आठ दिनदेखि पूर्णदेवीको पत्तो छैन । पूर्णदेवी मात्र होइनन्, राजधानीबाट दैनिक ६ जना यसरी नै बेपत्ता हुने गरेका छन्, प्रहरीकै तथ्यांकले यसो भन्छ । बेपत्तामध्ये अधिकांशको कुनै पत्तो लाग्दैन, जसरी आठ दिनदेखि पूर्णदेवीको लागेको छैन। देशको राजधानीसमेत रहेको काठमाडौं उपत्यकामा नागरिक सुरक्षा बढी होला भन्ने जोकोहीलाई लाग्न सक्छ । तर, यथार्थ त्यस्तो छैन । सरकारका सबै एजेन्सीका मुख्य कार्यालय, प्रमुख प्रशासनिक निकाय मात्र होइन, सबै सुरक्षा निकायको बाक्लो उपस्थिति रहेको राजधानीमा दैनिक रूपमा नागरिक बेपत्ता भइरहेका छन् । महानगरीय प्रहरी आयुक्तको कार्यालयका अनुसार बेपत्ता हुनेमा सबैभन्दा धेरै महिला छन् । त्यसपछि बालिकाको संख्या धेरै छ । बेपत्ता हुनेमा बालकको संख्या पनि धेरै छ । बेपत्ता भएकामध्ये थोरै मात्र फेला पर्ने गरेको प्रहरीको तथ्यांकले देखाउँछ । आयुक्त कार्यालयका अनुसार आर्थिक वर्ष ०७१–७२ मा उपत्यकाबाट दुई हजार दुई सय ५६ जना बेपत्ता भएका थिए । त्यसमा सबैभन्दा धेरै महिला छन् । प्रहरीको तथ्यांकमा बेपत्ता हुने महिलाको संख्या एक हजार दुई सय ६५ उल्लेख छ । यस्तै, बालिकाको संख्या चार सय ३० र बालकको संख्या चार सय ४४ रहेको छ । यो अवधिमा एक सय १७ पुरुष बेपत्ता भएका छन् । प्रहरीको तथ्यांकअनुसार बेपत्तामध्ये सात सय पाँचजना मात्रै फेला परेका छन् । यो संख्या बेपत्ता भएको कुल संख्याको ३१.२५ प्रतिशत हो । फेला पर्नेमध्ये महिलाको संख्या दुई सय ८५ रहेको छ । बालिकाको संख्या एक सय ६८, बालकको संख्या दुई सय २१, पुरुषको संख्या ३१ छ । बाँकी एक हजार पाँच सय ६० जना भने अझै बेपत्ता छन् । बेपत्ता हुनेमध्ये महिलाको संख्या नौ सय ८० छ । बालिकाको संख्या दुई सय ६२ छ । बालकको संख्या दुई सय ३० छ । पुरुषको संख्या भने ८६ छ । आयुक्त कार्यालयका प्रवक्ता एसएसपी नारायणसिंह खड्काका अनुसार उपत्यकाबाट बेपत्ता हुने धेरै घटना प्रहरीमा दर्ता हुने गरेका छन् । तर, फेला परेकाबारे परिवारले प्रहरीलाई जानकारी नदिने गरेकाले बेपत्ताको यकिन संख्या थाहा हुँदैन । ‘उपत्यकाबाट बेपत्ता हुनेको प्रारम्भिक संख्या धेरै देखिन्छ । तर, वास्तविक संख्या त्यही हो वा होइन, यकिन भन्न सकिँदैन,’ एसएसपी खड्काले नयाँ पत्रिकासँग भने, ‘बेपत्ता हुनेबित्तिकै खोजीका लागि प्रहरी कार्यालयमा रिपोर्ट लेखाउनेहरूले फेला परेपछि भने जानकारी दिँदैनन् । त्यसैले पनि संख्या धेरै भएको हो ।’ प्रहरीको तथ्यांकअनुसार आर्थिक वर्ष ०७०–७१ मा उपत्यकाबाट दुई हजार दुई सय १३ व्यक्ति बेपत्ता भएका थिए । त्यसमध्ये ६ सय ७९ मात्रै फेला परेका थिए । बाँकी एक हजार पाँच सय १९ जना अझै बेपत्ता छन् । त्यस वर्ष पनि बेपत्ता हुनेमा महिलाको संख्या धेरै छ । एक हजार दुई सय ४९ महिला बेपत्ता भएका छन् ।
National/Online Media

0 Comments