संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले नेपालको संविधान २०७२ प्रमाणीकरण गरेका छन् ।
संविधानसभाको ल्होत्से हलमा शीर्ष नेताहरुको उपस्थितिमा सभाध्यक्षले संविधान प्रमाणीकरण गरेका हुन् । सभाध्यक्षले संविधानमा हस्ताक्षर गरेर प्रमाणीकरण गर्दा प्रधानमन्त्री एवं कांग्रेस सभापति सुशील कोइराला, नेता शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, नेता माधवकुमार नेपाल, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललगायत उपस्थित थिए ।
यसैगरी संविधान उपाध्यक्ष ओनसरी घर्ती, संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईलगायत संसद् सचिवालयका अधिकारीहरुको पनि उपस्थिति थियो ।
सभाध्यक्षले संविधानमा प्रमाणीकरण गर्नुअघि संविधानसभाको ल्होत्से हलमा नै संविधानसभा सदस्यहरुले हस्ताक्षर गरेका थिए ।
दुई दिनअघि पारित भएको संविधान आइतबार राष्ट्रपति रामवरण यादवले संविधानसभाबाटै घोषणा गर्ने कार्यक्रम छ ।