Incident Reports

संविधान घोषणा समारोहलाई ६ घेरे सुरक्षा

2015-09-19

Bagmati, Kathmandu, Kathmandu

रामवरण यादवले साँझ पाँच बजे विशेष समारोहबीच संविधान जारी गर्दैछन्। काठमाडौं उपत्यकाका तीन जिल्लासँग सीमा जोडिएका जिल्लामा सम्भावित चुनौती बढाउने समूहका गतिविधि निगरानीका लागि सुरक्षाकर्मीको संख्या पनि बढाइएको छ। सिन्धुपाल्चोक, काभ्रे, नुवाकोट, मकवानपुर, धादिङका काठमाडौंसँग सीमा जोडिएका स्थानमा पनि सुरक्षा निगरानी र सतर्कता बढाइएको सुरक्षास्रोतले जानकारी दियो। काठमाडौं भित्रिने नाकामा निगरानी र जाँचपडतालका लागि सुरक्षाकर्मीको संख्या र सक्रियता दोब्बर बनाउँदै भित्रिने सवारीसाधन र यात्रुको खानतलासी बढाइएको छ। आइतबार केन्द्रित सुरक्षाका लागि शनिबारबाटै कलंकी, बालाजु, साँखु, जगाती, र बल्खुमा समेत 'पिकेट' (चेकिङ स्थल) स्थापना गरिएको छ। संविधानसभा भवन क्षेत्रतर्फ जाने माइतीघर, कोटेश्वर, पुरानोबानेश्वर, अनामनगरमा समेत प्रहरी चेक प्वाइन्ट स्थापना गरिएको छ। संविधानसभा भवनपरिसर बाहिरको सुरक्षाका लागि एभरेस्ट होटल अगाडि, निजामती अस्पताल अगाडि, संविधानसभा भवनको पूर्वी र उत्तरपूर्वी कुनामा समेत सुरक्षाकर्मीको संख्या बढाएर चेक प्वाइन्ट राखिएको छ। संविधानसभा भवन वरिपरिका अग्ला भवनमा समेत सुरक्षाकर्मी परिचालित हुनेछन्। स्रोतका अनुसार अग्ला भवनबाट गतिविधि निगरानीमा सशस्त्र प्रहरी खटिनेछन् भने आवश्यकताअनुसार सेनाको समेत सहयोग लिइएको स्रोतले बतायो। संविधानसभा भवनभित्रको सुरक्षामा नेपाल प्रहरी र सशस्त्र प्रहरी खटिएका छन्। संविधानसभा भवनको पूर्वीतिरको सुरक्षा जिम्मेवारी सशस्त्रले पाएको छ भने अन्य तीन क्षेत्रको सुरक्षामा नेपाल प्रहरी खटिएको छ। मूल भवनबाहिरको सुरक्षामा समेत प्रहरी–सशस्त्र संयुक्त रुपमा खटिएका छन्। संविधानसभा भवनभित्रको सुरक्षा प्रबन्धका लागि मर्यादापालकको संख्या बढाइसकिएको स्रोतले जानकारी दियो। नेपाल प्रहरीका प्रवक्ता कमलसिंह बमले सहरको मुख्य स्थान, संविधानसभा भवन क्षेत्र र उपत्यका भित्रिने नाकामा सुरक्षा सतर्कता बढाइएको जानकारी दिए। उनका अनुसार संविधानको विपक्षमा तराईका केही जिल्लामा आन्दोलन जारी रहेकाले त्यसलाई समेत प्राथमिकतामा राखेर सुरक्षा प्रबन्ध मिलाइएको छ। 'विरोधी समूहको बन्द र भिभिआइपी र भिआइपीको समेत मुभमेन्ट हुने भएकाले पर्याप्त जनशक्ति परिचालन गरी सबै सुरक्षा तयारी पूरा भइसकेको छ,' बमले भने। 'बन्दकर्ता सडकमा देख्नासाथ पक्रनू' माओवादीको नेत्रविक्रम चन्द 'विप्लव' समूहले आइतबारको विशेष समारोह प्रभावित गर्न बन्द आह्वान गरेर थप सुरक्षा चुनौती बढाएको छ। संविधानसभा समारोहसँगै बन्दमा सवारी आवागमन सुचारु गर्न, संविधानसभासम्म भिभिआइपी, भिआइपी, कूटनीतिक नियोगका प्रमुख, विदेशी प्रतिनिधि, पूर्व प्रधानमन्त्रीलगायत विशिष्ट व्यक्तिको सवारीका लागि सुरक्षा संगठनले एकीकृत रणनीति कार्यान्वयनमा ल्याइसकेका छन्। जानकार स्रोतका अनुसार आइतबार संविधानसभामा आयोजना हुने समारोहका लागि बालुवाटार, सिंहदरबार, थापाथली, नयाँबानेश्वर, सिंहदरबार, अनामनगर, गौशाला, एयरपोर्ट तीनकुने क्षेत्रका सडक सबैभन्दा धेरै प्रयोग हुनेछन्। दुई घन्टाअगाडिबाट सुरक्षा तयारी हुने भएकाले ३ देखि ७ बजेसम्म ती सडक क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाइएको एक सुरक्षा अधिकारीले जानकारी दिए। यसअघि बन्दको समर्थनमा सडकमा उत्रनेलाई हिंसात्मक गतिविधि नगरुन्जेल प्रहरीले हस्तक्षेप गर्दैनथ्यो। आइतबारको बन्द समर्थकलाई सडकमा देख्नासाथ पक्राउ गर्ने सुरक्षा निकायलाई निर्देशन आएको स्रोतले जनायो। बन्दकर्ताको सम्भावित अवरोध हटाउन बिहान २ बजेबाटै उपत्यकामा सुरक्षाकर्मी खटिँदैछन्। सहरमा मुख्य चोक, मुख्य सडक र भित्री सडकमा सुरक्षाकर्मी परिचालित हुने महानगरीय प्रहरी आयुक्त कार्यालयका प्रवक्ता एसएसपी नारायणसिंह खड्काले जानकारी दिए। अधिकांश सुरक्षाकर्मी आन्दोलित मधेसका जिल्लामा परिचालित भएपछि उपत्यकामा परिचालन गर्ने सुरक्षाकर्मीको संख्या कमी हुन नदिन प्रहरी प्रधान कार्यालयले यसअघि नै सुरक्षाकर्मीको अत्यावश्यक अवस्थाबाहेक विदामा रोक लगाइसकेको छ। नेपाल प्रहरी–सशस्त्रले कार्यालय प्रयोजनमा १०–५ खटिने सुरक्षाकर्मीलाई समेत आवश्यक परेको अवस्थामा तत्काल परिचालित हुन सक्ने गरी तयारी अवस्थामा रहन सर्कुलर गरेको छ। उच्चपदस्थ सुरक्षा अधिकारीसमेत आइतबार आवश्यक परे सुरक्षामा उत्रिने गरी तयारी अवस्थामा रहनेछन्। शान्ति सुरक्षामा सघाउन सशस्त्र प्रहरी बलले समेत पिकेटिङ, सवारी र पैदल पेट्रोलिङमा ७ हजार बढी जनशक्ति परिचालन गर्नेछ। स्रोतका अनुसार उत्तिकै संख्याका सशस्त्र गण र प्रधान कार्यालयमा तयारी अवस्थामा रहनेछन्। खड्काले आइतबारको सुरक्षाका लागि पर्याप्त सुरक्षा जनशक्ति रहेको बताए। प्रारम्भिक अवस्थामा उपत्यका मातहत तीन जिल्लाका सुरक्षाकर्मी परिचालित भइसकेको जानकारी दिँदै उनले आवश्यकताअनुसार तत्काल परिचालित हुन प्रहरीको तीनवटा गणका सुरक्षाकर्मी तयारी अवस्थामा रहने बताए। 'सशस्त्र प्रहरीका जनशक्तिसमेत परिचालित हुने भएकाले सुरक्षाका लागि जनशक्तिको अभाव हुन्न,' खड्काले भने, 'आवश्यकताअनुसार तत्काल परिचालन गर्न सकिने गरी ब्याकअप फोर्सको प्रबन्ध गरिएको छ।'

0 Comments