Incident Reports

लक्ष्मण थारु र धनीराम चौधरीसहित ५८ जना विरुद्ध कर्तव्य ज्यान मुद्धा

2015-09-23

Sudurpashchim, Kailali, Dhangadhi

मुद्धा चलाइएका मध्ये ३६ जना फरार ८ जना सुरक्षाकर्मी र एक बालक गरि ९ मारिएको टीकापुर घटनामा संलग्नको अभियोगमा ५८ जना विरुद्ध जिल्ला अदालत कैलालीमा मुद्धा दर्ता गरिएको छ। सरकारी वकिलको कार्यालयले मंगलबार ५८ जना विरुद्ध कर्तव्य ज्यान मुद्धा दर्ता गरेको हो। पक्राउ परेका २२ जनालाई मंगलबार नै अदालतमा पेश गरिएको छ। मुद्धा चलाइएका मध्ये ३६ जना फरारको सूचीमा छन्। मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका केन्द्रीय सदस्य लक्ष्मण थारु, थरुहट/थारुवान संयुक्त संघर्ष समितीका केन्द्रिय संयोजक तथा थारु कल्याणकारीसभाका अध्यक्ष धनीराम चौधरी, थारु कल्याणकारिणीसभा कैलालीका सभापति एवं थरुहट/थारुवान संयुक्त संघर्ष समितिका जिल्ला संयोजक लाहुराम चौधरी, सद्भावनाका नेता रेशम चौधरीलगायतलाई कर्तव्य ज्यान मुद्धा चलाईएको छ। कर्तव्य ज्यान मुद्धा चलाइएका मध्ये २ जना शिक्षक छन्। लक्ष्मण थारु, भानुराम चौधरीलगायत २२ जनालाई मंगलबार अदालतमा पेश गराइएको थियो भने धनीराम चौधरी, रेशम चौधरीलगायत ३६ जना फरार छन्। रेशम चौधरी, लक्ष्मण थारुलगायत घटनाका मुल्य योजनाकार रहेको प्रहरीले दावी गरेको छ। सबैलाई कर्तव्य ज्यान मुद्धा लगाइएको जिल्ला अदालत कैलालीका श्रेस्तेदार जगदीश भट्टले बताए। यस्तै घाइतेका तर्फबाट कर्तव्य ज्यान उद्योग र मारिएका प्रहरीको एसएलआर र पेस्तोल लगेकोमा डाका चोरी मुद्धा पनि दर्ता गरिएको छ। अनुसन्धान र आवश्यक प्रमाणका आधारमा ज्यान मुद्धा चलाइएको उल्लेख गर्दै जिल्ला सहायक न्यायाधिवक्ता मोहनी प्रसाद जोशीले कर्तव्य ज्यान मुद्धामा दोषी ठहर भए सर्वस्वसहित जन्मकैद सजायको व्यवस्था रहेको बताए। मिसिल ठूलो भएकाले केही दिन अध्ययनपछि बयान शुरु हुने श्रेस्तेदार भट्टले बताए। 'ठूलो मुद्धा हो। मिसिल ठूलो भएकाले २/३ दिन अध्ययनपछि बयान शुरु हुन्छ।' उनले भने,'२२ जना उपस्थित छन्। ३६ जना फरार देखाइएको छ।' अदालत पुर्‍याइएका फोरम लोकतान्त्रिकका केन्द्रीय सदस्य थारुले आफूहरु निर्दोश रहेको दावी गरे। उनले थरुहट आन्दोलनमा सरकारले दमन गरिरहेको भन्दै दमन रोकिनुपर्ने बताए। थरुहट आन्दोलनका क्रममा भदौ ७ गते टीकापुरको चिलम चौराहामा भएको घटनामा एक नाबालक र प्रहरी बरिष्ठ उपरीक्षक लक्ष्मण न्यौपाने सहित ८ जना प्रहरीको हत्या भएको थियो। टीकापुरमा भएको हिंसात्मक घटनापछि अशान्त बनेको कैलालीको अवस्था अहिले पनि सामान्य हुन सकेको छैन। हिंसात्मक घटनापछि टीकापुरलगायत आसपासका क्षेत्रलाई दंगाग्रस्त घोषणा गरेर सुरक्षाका लागि नेपाली सेना परिचालन गरिएको छ भने टीकापुर, धनगढी, भजनी–त्रिशक्ति नगरपालिका तथा केही गाविसमा कर्फ्यु लगाईदै आएको छ। घटनापछि टीकापुर, जोशीपुर, बौनियालगायतका क्षेत्रमा थारु युवाहरुले त्रासले घर छाडेका छन्। भदौ पहिलो साता दुर्गौलीमा अखण्ड पक्ष र थारुवान पक्षबीच भएको झडपपछि टीकापुर क्षेत्रमा जारी निषेधाज्ञा तोड्न गएका सयौं प्रदर्शनकारीले सुरक्षाकर्मीमाथि हमला गरेका थिए। भदौ ७ गते घरेलु हतियार भाला, बञ्चरो, खुकुरीलगायत घरेलु हतियार प्रयोग गरेर सुरक्षाकर्मीको निर्मम तरिकाले हत्या भएको थियो। केही सुरक्षाकर्मीलाई पेट्रोलबाट आगो लगाएर हत्या भएको थियो। नाबालकको टाउकोमा गोली हानिएको थियो। घटनाको सरकारले गठन गरेको उच्चस्तरीय छानविन टोलीले अनुसन्धान गरेको छ। छानविन प्रतिवेदन भने सार्वजनिक भईसकेको छैन। दुई वटा संसदीय टोली र राष्ट्रिय मानव अधिकार आयोगको टोलीले समेत घटनाको अनुसन्धान गरेको थियो।







गत भदौ ७ गते कैलालीको टीकापुरमा भएको हिंसात्मक घटनामा संलग्न रहेको आरोपमा प्रहरीले चैत २३ गते नारायणपुर गाविस-३ वेलवाका ३४ वर्षीय विश्राम चौधरी(कुश्मी)लाई टिकापुर नगरपालिकामा रहेको उनकै पसलबाट गिरफ्तार गरेको छ । आरोपित कुश्मी टिकापुर घटनामा फरार प्रतिवादी रहेकोले अनुसन्धानका गिरफ्तार गरिएको इलाका प्रहरी कार्यलय टीकापुरका डिएसपी गौतम मिश्रले जानकारी दिए । सुमित्रा भट्टराई

0 Comments

Related Trend Analysis