भारतले नेपालको आन्तरिक मामलामा हस्तक्षेप गरेको भन्दै युवाहरुले काठमाडौंको भृकुटीमण्डपमा विरोध प्रदर्शन गरेका छन् । ‘ब्याकअफ इण्डिया’ लेखिएको प्लेकार्ड र राष्ट्रिय झण्डासहित उपस्थित युवाहरुले भारत विरुद्ध नाराबाजीसमेत गरे ।
एउटा छिमेकी देशले अर्को छिमेकी देशको आन्तरिक मामिलामा हस्तक्षेप गरेको भन्दै सामाजिक सञ्जालमा समेत चर्को विरोध भैरहेको छ । बुधबार विहान वाम पार्टीसम्बद्ध युवाहरु र केही स्वतन्त्र युवाहरु समेत विरोध प्रदर्शनका लागि भृकुटीमण्डपमा भेला भएका थिए । ‘व्याकअफ इण्डिया’ लेखेको प्लेकार्ड छातिमा टाँसेका उनीहरुले ‘आन्तरिक मामला हल गरौं, भारतीय हस्तक्षेपको विरोध गरौं’ भन्ने नारा लगाएका थिए ।
कार्यक्रममा मोहन वैद्य नेतृत्वको माओवादी युवा नेता लेखनाथ न्यौपानेले संविधान निर्माणमा कसैको समर्थन र कसैको विरोध भए पनि भारतीय हस्तक्षेप विरुद्ध सबै एकठाउँ उभिनुपर्छ भनेर आफू स्वतःस्फूर्त प्रदर्शनमा सहभागी भएको बताए ।
कार्यक्रममा एमालेसम्बद्ध विद्यार्थी नेता राजकुमार राई, एमाओवादी सम्बद्ध विद्यार्थी नेताहरू जागृत रायमाझी, रंजित तामाङ र सुरेन्द्र बस्नेत तथा वैद्य माओवादीसम्बद्ध विद्यार्थी नेता विरेन्द्र बस्नेतलगायत पनि सहभागी थिए ।
उनीहरुले सामाजिक संजालमार्फत् विरोध प्रदर्शनमा सहभागी हुन आह्वान गरेको देखेर आफूहरु भारतीय हस्तक्षेप विरुद्ध भृकुटीमण्डपमा भेला भएको बताए । कार्यक्रममा कुनै पनि राजनीतिक दलको झण्डा वा ब्यानर राखिएको थिएन ।