Incident Reports

स्थानीयको प्रतिकारपछि धर्नाकारीले नाका छाडे

2015-09-29

Lumbini, Rupandehi, Siddharthanagar

स्थानीय प्रतिकारमा उत्रिएपछि भैरहवास्थित बेलहिया नाका थुनेर धर्ना बसेका मधेसी मोर्चाका कार्यकर्ता त्यहाँबाट हटेका छन्। सोमबार ११ देखि सा"झ ५ बजेसम्म धर्ना बस्ने कार्यक्रम तय गरेका उनीहरूले स्थानीयको विरोधपछि एक घन्टामै नाका छाडेका हुन्। नाका खुलेसँगै भारतीय भन्सारबाट जाँचपास गरेर लाइन लागेका ५६ गाडी नेपाल भित्रिएका छन्। भैरहवा भन्सार कार्यालयका अनुसार नेपाल भित्रिनेमा एउटा पेट्रोल ट्यांकर, तीनवटा एलपी ग्यास बुलेट र अन्य तरकार–फलफूल बोकेका गाडी छन्। बेलहियाका घरघरबाट स्थानीय नाका अवरोध नगर्न नारा लगाउँदै अघि बढेपछि तनाबको स्थिति सिर्जना भएको थियो। प्रहरीले उनीहरूलाई सम्झाउँदै पछि हटाएकाले झडप हुन पाएन। भारतीय प्रहरीले आन्दोलनकारी मधेसी मोर्चाका कार्यकर्तालाई धर्नास्थलबाट हटाएपछि सीमा–नाका बेलहियाको तनाब मत्थर भएको थियो। स्थानीयले सीमामा कुनै खालको अवरोध भए प्रतिकार गर्ने बताउँदै आएका छन्। आइतबार पनि स्थानीयको विरोधकै कारण प्रदर्शनकारीले धर्ना र कोणसभा छोट्याएका थिए। धर्नामा मधेसी मोर्चाका जिल्ला संयोजक महेन्द्र यादव, तमलोपा जिल्ला अध्यक्ष अजय बर्मा, सन्तोष पाण्डेलगायत सहभागी थिए। बेलहियामा स्थानीय र प्रदर्शनकारीबीच झडपको सम्भावना बढेपछि प्रशासनले सुरक्षा सतर्कता बढाएको छ। ठूलो संख्यामा प्रहरी परिचालन गरेको छ। सीमामा हुने झडप र तनाबले नकारात्मक सन्देश जाने भएकाले प्रशासनले संवेदनशीलता अपनाएको रूपन्देहीका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकालले जानकारी दिए। अहिलेसम्म दुवै पक्ष संयमित देखिए पनि आक्रोश बढ्दै जाँदा ठूलो घटना निम्तिन सक्ने जिल्ला प्रहरी कार्यालयका एक प्रहरी अधिकृत बताउँछन्। 'धर्ना बसेकाहरूले अवधि छोट्याउँदै लगेका छन्, प्रतिकारमा उत्रनेले पनि चेतावनी मात्रै दिँदै आएका छन्,' उनले भने, 'दुवै पक्ष अहिलेसम्म संयमित छन्, आक्रोश बढ्नेबित्तिकै ठूलो घटना हुन सक्छ।' सीमावर्ती क्षेत्रमा कुनै घटना हुन नदिन एक महिनायता दुई देशका प्रहरीले संयुक्त गस्ती गर्दै आएका छन्। सीमाक्षेत्रमा दुई देशका सुरक्षा निकायबीच समन्वय र सहकार्य हुँदै आएको लुम्बिनी अञ्चल प्रहरी कार्यालयका एसएसपी गणेश केसीले जानकारी दिए। कुहिने खालका तरकारी र फलफूललाई प्राथमिकता बेलहिया नाकामा धर्नाकारीको अवरोध हटे पनि भारतीय पक्षले अत्यावश्यक महत्वको पेट्रोलियम पठाउन आनाकानी गरेको छ। उक्त नाकाबाट सोमबार तरकारी र फलफूलका गाडी बढी भित्रिए। भारतीय व्यवसायीको दबाबमा कुहिने खालका फलफूल, तरकारीसहित खसीबोका बोकेका ट्रकलाई नेपाल प्रवेश गर्न दिए पनि पेट्रोलियमका गाडी भने भन्सार जा"चपास भइसके पनि एसएसबीले फर्काइदिएको छ। रुपन्देही प्रहरीका अनुसार सीमापारि पेट्रोलियम बोकेका दर्जनौं गाडी लाइनमा छन् तर भन्सार जा"चपास भएका गाडीलाई समेत एसएसबीले छिर्न दिएको छैन । शुक्रबार भन्सार जा"चपास भएका चार पेट्रोल ट्यांकरलाई एसएसबीले सीमाबाट फिर्ता गरेर पछाडि लाइन लाग्न भनेको थियो। सोमबार तरकारी र फलफूलका गाडीको चाँडै जाँचपास गरे पनि अन्य गाडीका चालकलाई एसएसबीले अनावश्यक दुःख दिएको भैरहवा भन्सार कार्यालयका एक अधिकृतले जानकारी दिए। सीमापारि सुनौलीदेखि ५० किलोमिटर दुरीसम्म नेपालका लागि सामग्री बोेकेका गाडीको लाइन छ। अवरोधले भारतीय व्यापारीसमेत आक्रोशित छन्। भैरहवा भन्सार कार्यालयका प्रमुख लावण्य ढकालले एसएसबीका अवरोध अन्य दिनभन्दा सोमबार केही खुकुलो भएको जानकारी दिए। यसअघि दैनिक झन्डै ९ करोड रुपैयाँ राजस्व संकलन हुँदै आएको भन्सारमा नाकाबन्दीयता राजस्व राजस्व ह्वात्तै घटेको छ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Other governance issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Madhes-based Parties
Actor 2 - Youth na
National/Online Media

0 Comments