प्रहरीले प्रहार गरेका गोली लागि शंकराचार्य गेट (नेपालको मुल प्रवेशद्वार) निर एक प्रदर्शनकारीकाे मृत्यु भएकाे छ । उनकाे टाउकाेमा गोली लागेकाे थियाे । प्रदर्शन उग्र भएपछि प्रशासनले दिउसो ३ बजेदेखि अनिश्चितकालीन कर्फ्यु लगाएको छ ।
यस्तै प्रहरीले वीरगन्ज क्षेत्रकाे झडपमा प्रहार गरेकाे रबरकाे गाेली लागी एक दर्जन बढी प्रदर्शनकारी घाइते भएका छन् ।
नारायणी उपक्षेत्रीय अस्पतालका निमित्त मेडिकल निर्देशक इमामुल हकका अनुसार गोली लागी उपचारका लागि अस्पताल ल्याइएका एक २४/२५ वर्षकाे एक युवकको मृत्यु भएको छ । ‘उनको उपचारका लागी ल्याउँदा मृत्यु भइसकेको थियो । उनको टाउकोमा गोली लागेको छ,’ उनले भने ।
वीरगन्जको सीमा क्षेत्रमा प्रहरी माथी व्यापक मात्रामा ढुंगामुढा भएपछि प्रहरीले दर्जनौं राउन्ड अश्रु ग्याँस र गोली प्रहार गरेको हाे । प्रहरी अहिले पछाडी हटेर सीमा सुरक्षा पाेष्ट नजिक अाइपुगेका छन् ।
सुरक्षाकर्मीले बल प्रयोग गरेर नाका खुलाएको ५ घण्टापछि वीरगञ्ज–रक्सौल नाका फेरि आन्दोलनकारीको नियन्त्रणमा आएको छ ।
प्रहरीले लखेटेपछि भारतीय भूमि पुगेका आन्दोलनकारी पुन दशगजाको मितेरी पुलमा फर्किएका हुन् ।
उनीहरुले भारतीय भूमिबाट नेपाली सुरक्षाकर्मीमाथि ढुंगा प्रहार गरिरहेका छन् । नेपालपट्टी नेपाल प्रहरी तैनाथ छ ।
सुरक्षाकर्मीले बल प्रयोग गरेर नाका खुलाएलगत्तै वीरगञ्जमा रोकिएका २ सय बढी भारतीय सवारी रक्सौल छिरेका थिए ।
भारतीय सवारी सीमा नकटुन्जेल आन्दोलनकारीलाई दशगजा क्षेत्रमा छिर्न नदिएको भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले सवारी छिरेलगत्तै आन्दोलनकारीलाई दशगजामा छिर्न दिएका थिए ।
भारतीय प्रहरीको अहसयोगपछि मितेरी पुलमा फेरि आन्दोलनकारी जम्मा भएका हुन् ।
सुरक्षाकर्मीले बल प्रयोग गरेर नाका खुलाएको भन्दै वीरगञ्जमा मधेसी मोर्चा आवद्ध आन्दोलनकारीले ठाउँठाउँमा प्रदर्शन गरेका थिए ।
वीरगञ्जको नगमा र घण्टाघर क्षेत्रमा आन्दोलनकारीलाई तितरवितर पार्न प्रहरीले अश्रुग्याँस र हवाई फायर गर्नुपरेको थियो ।