Incident Reports

जनकपुर काण्ड’मा १५ जना समातिए

2015-12-28

Madhes, Dhanusha, Janakpur, Ward 10

गृहमन्त्री शक्तिबहादुर बस्नेतले आइतबार अपरान्ह व्यवस्थापिका संसदमा ‘जनकपुर काण्ड’बारे बोल्नै लाग्दा मधेसी मोर्चाका सांसदहरुले चर्को नाराबाजी गरिरहेका थिए । जनकपुरस्थित रामजानकी मन्दिरमा पुस १ र २ गते राष्ट्रपति विद्यादेवी भण्डारीमाथि भएको दुर्व्यवहारका विषयमा गृहमन्त्री बस्नेतले संसदलाई जानकारी गराए । सो घटनामा संलग्न ११ पुरुष र ४ महिलालाई पक्राउ गरिएको मन्त्री बस्नेतले जानकारी दिए । तीमध्ये तीनजनालाई सार्वजनिक अपराध र एकजनालाई प्राचीन स्मारक ऐनअनुसार मुद्दा चलाइएको उनले संसदलाई बताए । जानकी मन्दिरभन्दा ९ सय मीटर टाढा रहेको जनकपुर अञ्चल प्रहरी कार्यालयमा राष्ट्रपति भण्डारी हेलीकोप्टरबाट उत्रिएर मन्दिरमा गएको मँत्री बस्नेतले बताए । मन्दिरमा पुगेर १५ मिनेट पूजाआजा एवं सम्बोधनको कार्यक्रम सकी पुनः अञ्चल प्रहरी कार्यालयसम्म राष्ट्रपति शान्तिपूर्णरुपमा फर्केको मन्त्री बस्नेतले बताए । ‘बाहिरी सुरक्षा घेराभन्दा बाहिर कालोझण्डा देखाउने भइरहेको थियो,’ मन्त्री बस्नेतले भने, ‘अञ्चल कार्यालयमा आउँदासम्मको स्थितिसम्म शान्तिसुरक्षा सामान्य थियो ।’ राष्ट्रपति मन्दिरबाट फर्किसकेपछि सुरक्षा अञ्चल अगाडि केन्द्रित भएको र मन्दिरमा भारत तथा नेपालबाट आएका भक्तजनलाई सहज पूजाआजा गर्नुपर्ने स्थिति रहेको बस्नेतले बताए । ‘जब दर्शनार्थीहरु मन्दिरभित्र पसेर पूजा गर्ने काम सुरु भयो, केही उछृंखल गतिविधि सुरु गरियो । प्रहरीले नियन्त्रण गर्न धेरै प्रयत्न गर्‍यो । तर, उछृंखल तत्वहरु मन्दिरभित्र प्रवेश गरेर लात्ती प्रहार गर्नेक्रममा केही पोलहरु भाँचियो’ मन्त्री बस्नेतले संसदललाई जानकारी गराउँदै भने- ‘पुलिसले स्थिगतिलाई नियन्त्रणमा लिने धेरैबेरको प्रयासपछि नियन्त्रणमा नआइसकेपछि केही लाठीचार्ज र अश्रुग्यास प्रयोग गर्ने स्थितिमा पुग्यो र त्यो स्थितिमा केही नियन्त्रण भयो ।’ मन्दिरबाट राष्ट्रपति फर्किइसकेपछि पूजारीमाथि समेत हातपात भएको मन्त्री बस्नेतले दाबी गरे । उनले भने- ‘एक गते नै राष्ट्रपति फर्किसकेपछि महन्थ पूजारीलाई समेत राष्ट्रपतिलाई किन बोलाएको भनेर हातपात गर्ने काम भयो ।’ भोलिपल्ट सामाजिक सञ्जाललाई समेत दुरुपयोग गरेर लैंगिक हिंसा भड्काउने गतिविधि भएको गृहमन्त्री बस्नेतले बताए । विवाह पञ्चमी सकिएपछि दोस्रो दिनमा सुरक्षाकर्मीले मन्दिर सफाइ गर्ने परम्परा थियो । त्यहाँ सुरक्षाकर्मीलाई लक्षित गरेर साम्प्रदायिक सदभाव भड्काउने काम गरिएको मन्त्री बस्नेतले बताए । धार्मिकस्थलमा भएको घटनाबारे गृह मन्त्रालयले छानविन समितिले बनाइरहेको र सो समितिले एक दुईदिन भित्रमा नै प्रतिवेदन पेश गर्ने मन्त्री बस्नेतले बताए । केही फुटेजहरुका आधारमा बटनामा संलग्नमध्ये ११ पुरुष र ४ महिलालाई नियन्त्रणका लिइएको उनले बताए । संसदमा बोल्ने क्रममा गृहमन्त्रीले शनिबार बिराटनगरको जोगवनी नाकामा राजेन्द्र महतोमाथि आक्रमण भएको घटनाका बारेमा चाँहि केही पनि बताएनन् ।

0 Comments