Incident Reports

बीपीमा आन्दोलन, आकश्मिक बाहेक सबै सेवा ठप्प

2016-02-02

Province 1, Sunsari, Dharan, Ward 9

सञ्चालक परिषद (सिनेट बैठक) र दिक्षान्त समारोह नजिकिँदै गर्दा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कर्मचारीको एक समुहले आन्दोलन चर्काएको छ। एक सातादेखिको आमरण अनसनमा प्रहरी हस्तक्षेप भएको भन्दै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारीको एक समुहले मंगलबारदेखि आकस्मिक र आइसियु बाहेकका सम्पूर्ण सेवा ठप्प बनाएका छन्। पूर्व घोषणाविना ओपिडी सेवा ठप्प भएपछि सयौं विरामी उपचार विना घर फर्कनुपरेको छ। विभिन्न पाँच सुत्रीय माग राखेर कर्मचारी किरण भटराई एक सातादेखि आमरण अनसनमा छन्। उनको स्वास्थ्य स्थिति खराब हुदै गएपछि सोमबार साँझ अस्पताल प्रशासनको आग्रहमा प्रहरीले आकस्मिक उपचार कक्षमा लैजान खोज्दा तनाव भएको थियो। प्रहरी हस्तक्षेप भएको भन्दै आन्दोलनरत कर्मचारीहरुले मंगलबार बिहानैदेखि ओपिडी सेवा सञ्चालनमा आउन दिएनन् । सोमबार अनसनकारीलाई उठाएर उपचार कक्षमा लैजान खोज्दा तनाव हुँदा कर्मचारी हेमबहादुर बस्नेत पनि घाइते भएका छन्। मेरुदण्डका विरामी बस्नेतलाई प्रहरीले उचालेर भूईंमा छोड्दा स्वास्थ्य थप गम्भीर भएको आन्दोलनकारीको भनाइ छ। अनसन बसेका भटराई र घाइते बस्नेतलाई प्रतिष्ठानले गठन गरेको चिकित्सकको एक टोलीले अनसनस्थलमा नै पुगेर स्वास्थ्य जाँच गरिरहेको छ । चिकित्सकका अनुसार अनसन बसेका भटराईको रगतमा चिनीको मात्रा कम भएको छ। प्रतिष्ठानको १२ औं दिक्षान्त समारोह कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा फागुन १ गते हुँदैछ । दिक्षान्तको ठिक एक दिनअघि सञ्चालक परिषद बैठक बस्ने गर्छ । प्रतिष्ठानमा यसअघि पनि भएका आन्दोलन सिनेट बैठक र दिक्षान्त समारोह हुनु अघि चर्कने गथ्र्यो । सिनेट बैठक प्रतिष्ठानको सर्वोच्च निकाय हो, र त्यही वैठकले मात्र नीतिगत निर्णय गर्छ । त्यही भएर कर्मचारीहरु माग पूरा गराउने ध्येयले वर्षेनी सिनेट बैठक अघि आन्दोलन गर्छन्। प्रतिष्ठानका कर्मचारीको आधिकारिक संगठन कर्मचारी कल्याण समाजको नेतृत्वमा विगतमा आन्दोलन सुरु भएको थियो। गत वर्ष भने समाजसँग असन्तुष्टहरुले तदर्थ समितिको नाममा आन्दोलन चर्काएका थिए । तदर्थ समितिलाई कांग्रेसको देउवा गुट र अन्य साना दलको सर्मथन थियो। अहिलेको आन्दोलनमा कर्मचारी समाज र तदर्थ समिति दुवैको संलग्नता छैन। अत्यावश्यक सेवा सञ्चालन ऐन र प्रतिष्ठानको नियमावली दुवैले अत्यावश्यक सेवा प्रभावित हुने गरी बन्द, हड्ताल गर्न निषेध गरेको छ। आन्दोलनमा सर्वसाधारणको स्वास्थ्य उपचारबाट बञ्चित भएको भन्दै परेको रिटमा गएको आन्दोलनको क्रममा नै सर्वाेच्च अदालतले बन्द, हडताल नगर्न, नगराउन आदेश दिएको थियो । तर, अदालत, ऐन र नियमावलीसमेतको धज्जी उडाउदै प्रतिष्ठानमा विभिन्न समुहले आन्दोलन गर्न भने छाडेका छैनन् । अहिले आन्दोलित कर्मचारी समुहले कोठा भाडा तुरुन्त हटाउन, सरकारले तोकेको दरमा विजुलीको शुल्क लिनुपर्ने, स्वास्थ्य विमा निःशुल्क गर्नुपर्ने, तलब कट्टा फिर्ता गर्नुपर्ने, र कार्यवधि, योग्यताको आधारमा आन्तरिक बढुवा गर्नुपर्ने माग राखेको छ। आन्दोलनले प्रतिष्ठान अस्तब्यस्त हुदै गएपछि कर्मचारीहरुको माग सम्बोधन गर्न अघिल्लो सिनेट बैठकले साँसद तथा पूर्व उपकुलपति डा.शेखर कोइरालाको संयोजकत्वमा उच्चस्तरीय तलवमान आयोग गठन गरेको थियो । त्यही आयोगको सुझावको आधारमा कर्मचारीको तलब वृद्धि गर्नुका साथै विभिन्न आर्थिक, प्रशासनिक सुधारको काम थालेको प्रतिष्ठान व्यवस्थापनको भनाइ छ । 'सबैले प्रतिष्ठानलाई दुहुनो बनाउन मात्रै खोजिरहेका छन्, जस्ले जे माग गर्दा पनि हुन्छ भन्ने गलत प्रवृत्ति बढीरहेकोले कडाई गर्ने प्रयास गरिरहेका छौं', उपकुलपति डाक्टर बीपी दासले भने, 'कर्मचारीकै मागवमोजिम तलबमान आयोग बन्यो, र आयोगकै सिफारिश कार्यान्वयनमा ल्याएका हौं । आर्थिक संकट हुने खालको मागहरु पुरा गर्न सकिँदैन ।' अनसन शुरु भएपछि प्रतिष्ठानले कार्यकारिणी सदस्य डाक्टर गुरु खनालको संयोजकत्वमा वार्ता टोली र मेडिकल टिम गठन गरेको थियो । दुवै पक्षबीच वार्ता भए पनि सफल हुन सकेन । उपकुलपति दासले आन्दोलन फिर्ता लिन पत्र पठाएको र सरकार, प्रहरी प्रशासनसँग पनि समन्वय भइरहेको बताए । 'काममा फर्कन पत्र पठाइसकेका छौं, अटेर गरे नियमानुसार कार्वाही गछौं,'दासले भने।
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Strike/Bandh
Secondary Form Demonstration
Primary Cause Other governance issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Health sector/health workers, doctors
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Health sector/health workers, doctors
Actor 2 - Youth na
National/Online Media

0 Comments