Incident Reports

१७ वर्षपछि सामूहिक उजुरी

2016-04-26

Lumbini, Gulmi, Musikot

विद्रोही भएको आरोपमा १५ जना नागरिकको हत्या भएको १७ वर्षपछि उनीहरुका आफन्तले सामूहिक उजुरी दिएका छन् । २०५६ साल फागुन ११ गते राज्यद्वारा गोली हानी हत्या गरिएकाका परिवारले सामूहिक रुपमा सत्य निरुपण तथा मेलमिलाप आयोगमा उजुरी दर्ता गरेका हुन् । स्थानीय शान्ति समिति रुकुममा सोमबार खाराबाट आएका २९ जना सहिद परिवारले उजुरी दिएका हुन् । उजुरी दिनेहरुमा खारा गाविसमा हत्या गरिएका १५ जनाको परिवार छन् भने बाँकी खारामै अन्य समयमा राज्य र विद्रोही पक्षबाट ज्यान गुमाएकाका परिवार रहेका छन् । स्थानीय शान्ति समिति रुकुमका सचिव राजु लामीछानेका अनुसार सहिद परिवार, सम्पति क्षति, घाइते लगायत ४६ जनाले उजुरी दिएका छन् । उहाँका अनुसार खाराबाट उजुरी आउने क्रम जारी छ । ‘उजुरी त दिएको छु तर न्याय पाइन्छ भन्ने भरोसा छैन’ खाराबाट उजुरी दर्ता गर्न आउनुभएकी रतिका ओलीले आफ्नो श्रीमान् तत्कालिन समयमा नेपाली कांग्रेसका गाउँ इकाई सभापति समेत रहेको र घरमा बसिरहेको समयमा श्रीमान् र छोरालाई गोली हानी हत्या गरेको कारण उजुरी दिएको बताउनु भयो । ‘उजुरी त दिएको छु तर न्याय पाइन्छ भन्ने कुरामा भरोसा छैन’ उहाँले भन्नुभयो, ‘कान्छो छोरा गणेश तीन वर्षका थिए, बाबुको हत्यापछि उसलाई पढाउने खर्च भएन, अहिले विदेशी भूमिमा काम गर्न गएको छ ।’ ‘म पुग्दा बुहारीलाई मारिसकेको थियो’ खारागाउँ जलाएपछि बुहारी देउरुपी खत्रीको गोली हानी हत्या भएपछि नातिनीलाई स्याहार गर्दै आएकी खारा पाँचपोखरीकी ६५ वर्षकी पार्वती खड्काले पनि उजुरी दर्ता गराउनुभएको छ । ‘बुहारी घाँस काट्न जंगलमा गएकी थिई, प्रहरी सबैका घरमा आगो लगाउँदै आयो, म बुहारीलाई खोज्दै गएको थिएँ, उहाँले भन्नुभयो, ‘म पुग्दा बुहारीलाई मारिसकेको थियो ।’ ‘अहिले त ढिला भयो’ बिहे गरेको केही महिनामा श्रीमानको प्रहरीद्वारा हत्या भएपछि घरसमेत प्रहरीले जलाइदिँदा अर्काको घरमा बसेर सुत्केरी अवस्था पार गरेकी खाराकै रामकली खड्काले पनि आँसु झार्दै उजुरी दर्ता गर्नुभयो । ‘यस्तो कारबाहीको काम उतिबेलै सुरु गरेको भए श्रीमानका हत्यारालाई कारबाही हुने थियो, अहिले त ढिला भयो’ रामकलीले भन्नुभयो । ‘त्यस्तो पीडा कसरी भुल्न सकिन्छ र’ सरकारले खाराका द्वन्द्व पीडितको पीडा कम गर्न खारालाई नमुना शान्ति गाउँ समेत घोषणा गरेर काम अगाडी बढायो तर त्यसबाट आफूहरुलाई कुनै राहत नभएको समेत पीडितको भनाई छ । १५ जना स्थानीय बासिन्दाको एकै दिन हत्या भएको खाराको वडा नं ५ र वडा नं ३ का बासिन्दा र द्वन्द्व पीडित महिलाले पीडा कत्ति पनि भुल्न सकेका छैनन् । उनीहरु भन्छन्, ‘त्यस्तो पीडा कसरी भुल्न सकिन्छ र ?’ ‘दोषीलाई कारवाही होस्’ २०५६ साल फागुन ११ गते तत्कालिन सरकारले गाउँमा एक जना प्रहरीको माओवादीबाट हत्या भएको रिसमा जङ्लमा घाँस काट्न गएका, दाउरा चिरी रहेका, घरमा बसिरहेका सर्वसाधारण गरि १५ जनाको हत्या गरेको थियो । त्यस्तै १ सय ७२ वटा घर गोठमा आगो लगाएको थियो । उजुरी दिन अधिकांश एकल महिलाहरु आफै उपस्थित भएका थिए । न्याय दिन राज्यलाई दवाव होस् भनेर सामूहिक रुपमा उजुरी दर्ता गर्न आएको पीडितहरुको भनाई छ । उनीहरु भन्छन् ‘हामीलाई उचित राहत दिइयोस र दोषीलाई कारवाही होस् ।’

0 Comments

Related Reports