Incident Reports

संरक्षण क्षेत्रभित्र भरुवा बन्दुक फेला

2016-05-31

Sudurpashchim, Darchula, Apihimal, Ward 3

अपी नाम्पा संरक्षण क्षेत्रभित्र एक थान भरुवा बन्दुक फेला परेको छ। सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्मबाट खटिएको विशेष टोलीले खण्डेश्वरी गाविस– १ तालडेरा भकारे भन्ने ठाउँबाट एक थान बन्दुक बरामद गरेको हो। यार्सा संकलनसँगै वन्यजन्तुको चोरी सिकारी गर्ने उद्देश्यले भरुवा बन्दुक लगेको अवस्थामा सशस्त्र प्रहरीले उक्त बन्दुक फेला पारेको हो। सशस्त्र प्रहरी सीमा सुरक्षा गुल्म दार्चुलाका सशस्त्र प्रहरी निरीक्षक शैलेन्द्रसिंह चैसिरको नेतृत्वमा खण्डेश्वरीको यार्सा संकलन हुने वनमा गस्ती गर्ने क्रममा बन्दुक फेला परेको हो। यार्सा संकलकसँगै सिकारी बन्दुकसहित गएको चैसिरले बताए। सशस्त्र देख्ने वित्तिकै हतियार छोडेर सिकारी भाग्यो,' उनले भने, 'सिकारीलाई नियन्त्रणमा लिने प्रयास गरेपनि हिउँमा चिप्लेटी खेल्दै भागेका कारण नियन्त्रणमा लिन सकिएन।' सशस्त्र प्रहरी सीमा सुरक्षा गुल्मबाट खटिएको टोलीले जेठ पहिलो सातादेखि दोस्रो सातासम्म संरक्षण क्षेत्र भित्र गस्ती गरेको थियो। सशस्त्र प्रहरीले खण्डेश्वरीको घट्टेखोला, क्षति धरमघर, अन्नीखाना, च्युतोली, तालडेरा, भकारीलगायतका वनहरुमा अनुगमन गरेको थियो। वन क्षेत्रमा चोरी शिकारी तथा अपराधिक गतिविधि नियन्त्रणका लागि सशस्त्र प्रहरी परिचालन भएको थियो। जेठ ९ गते सशस्त्र प्रहरीले फेला पारेको भरुवा बन्दुक नेपाल प्रहरीलाई बुझाइएको सशस्त्र प्रहरी सीमा सुरक्षा गुल्म दार्चुलाका डिएसपी चन्द्रदेव भट्टले बताए। संरक्षण क्षेत्रमा अझै पनि चोरी सिकारी हुने क्रम देखिएको र संरक्षण क्षेत्र भित्रका वनमा बझाङबाट आएका सिकारीले जंगली जनावर मार्ने गरेको पाइएको खण्डेश्वरी–९ का संरक्षण उपभोक्ता समितिका सदस्य शेरसिंह धामीले बताए। बझाङबाट यार्सा संकलनका लागि लेक खुल्नअघि नै जंगल पुगेर यार्सा संकलन र सिकार खेलेको पाइएको छ। विवरणरहित परिचय पत्र वितरण अपी नाम्पा संरक्षण क्षेत्र व्यवस्थापन परिषदबाट जारी भएको परिचय पत्र र नगदी रसीद खण्डेश्वरीका वनमा नाम नलेखेरै वितरण भएकोसमेत भेटिएको छ। सशस्त्र प्रहरी सीमा सुरक्षा गुल्म दार्चुलाले अनुगमनको क्रममा परिचय पत्र र नगदी रसिदमा नाम नलेखेरै वितरण भएको पाइको हो। परिचय पत्रमा क्रम संख्या, नाम, ठेगाना, जन्म मिति, फोटो, नागरिकता नम्बर, लगायतका विवरण नभरिकनै वितरण भएको पाइएको सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म दार्चुलाका प्रहरी निरीक्षक चैसिरले बताए।
National/Online Media

0 Comments