Incident Reports

No translation available.

2016-08-03

Lumbini, Dang, Ghorahi

डाक्टरसँग बिहे गराइदिने प्रलोभनमा पारी दाङकी एक किशोरीलाई भारत लाँदै गरेको अवस्थामा दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । नेपाल—भारत सिमानामा पर्ने कपिलवस्तुको कृष्णनगरबाट प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा दाङकी ३४ वर्षीया मीना घोराली र भारत बलरामपुरका ५८ वर्षका जफर अहमद सिद्धिकी छन् । दाङ घर भएकी सृजना (नाम परिवर्तन)लाई प्रलोभनमा पारी डाक्टरसँग विवाह गराइदिने भनेर कृष्णनगरको बाटो हुँदै भारत लान लागिएको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । मानव बेचबिखन तथा ओसारपसारविरुद्ध क्रियाशील संस्था केआई नेपाल, प्रहरी र सशस्त्र राजस्व भन्सार सुरक्षा गुल्म कृष्णनगरको संयुक्त टोलीले उनीहरूलाई पक्राउ गरेको हो । डाक्टरसँग विवाह गर्दा सुखसँग बस्न पाइने भन्दै विभिन्न आश्वासनमा पारेर मीनाले सृजनालाई फकाएकी थिइन् । उनलाई कृष्णनगर सीमा कटाउँदै गर्दा शंका लागेर सोधपुछ गरेपछि पक्राउ गर्न सफल भएको केआई नेपालका कपिलवस्तु संयोजक केशर विश्वकर्माले जानकारी दिए । सृजनाका बाबुको उनी सानै हुँदा मृत्यु भएको थियो । आमाले पनि छाडेर गएपछि बेसहारा बनेकी उनको यसअघि नै विवाह भएको थियो । तर, पतिसँग सम्बन्ध बिग्रिएको बताइएको छ । उनी घोराहीमा एक्लै बस्दै आएको प्रहरीले जनाएको छ । सृजना घोराहीमा नै मीनाको सम्पर्कमा आएकी थिइन् । गरिबी र अभावबीचको आशाको अवस्थाको फाइदा उठाउँदै मीनाले भारतीय डाक्टरसँग बिहे गरेर सुखी जीवन बिताउने प्रलोभन दिएर बेच्न लागेको प्रहरीको भनाइ छ । पक्राउ परेकालाई मानव बेचबिखन तथा ओसारपसार मुद्दा चलाउने तयारी भइरहेको इलाका प्रहरी कार्यालयका प्रमुख सञ्जय रिजालले जानकारी दिए । किशोरी हाल केआई नेपाल कृष्णनगरको आपत्कालीन गृहमा छिन् ।

0 Comments