Incident Reports

दाइजोको कारण स्थगित बिहे प्रहरी सक्रियतामा सम्पन्न

2016-09-23

Madhes, Parsa, Pokhariya

दाइजोको कारण स्थगित भएको विवाह इलाका प्रहरी कार्यालय, पोखरियाको अगुवाइमा सम्पन्न हुने भएको छ । भारत मैनाटार थाना, इनर्वा निवासी समसुल हक मियाँकी छोरी आम्ना परवीनको बिहे पर्सा सबैठवा गाविस–५ निवासी अमरूल्लाह मियाँको छोरा नसीम अख्तरसँग तय भएको थियो । गत साउन १५ गते बिहे हुने निधो भएर केटीपक्षले केटापक्षलाई ९० हजार नगद र नेपालमा रहेको मोही ३ कठ्ठा जग्गा पास गरेको थियो । तर माग बमोजिम रकम समयमा नआएको भन्दै अमरूल्लाहले छोरोको जन्ती साउन १५ गते शर्त अनुसार केटीपक्षको दैलोमा लगेनन् । भने मुताबिकका दाइजो दिएको र थप माग पूरा गर्ने प्रतिबद्धता जाहेर गरेका समसुल हकले जन्ती नआएपछि इलाका प्रहरी कार्यालय पोखरियामा उजुरी गरेका थिए । उजुरीपछि काठमाडौं बस्दै आएका अमरूल्लाह र निजका छोरा नसीमलाई भदौ १५ गते इप्रका पोखरियाले नियन्त्रणमा लिएको थियो । प्रहरी नियन्त्रणमा परेपछि अमरूल्लाह छोराको बिहे तय भए अनुसार समसुलकी छोरीसँग गर्न राजी भए । प्रहरीले हिरासतमा रहेका अमरूल्लाहको छोरासँग बिहे गर्न समसुलकी छोरीलाई भारतबाट झिकायो र पोखरियास्थित जामे मस्जिदमा भदौ १७ गते शुक्रवारका दिन मुस्लिम रीति अनुसार निकाह गरायो । इप्रका पोखरियाका प्रनि चक्रबहादुर शाहले लेनदेनको विषय प्रहरीलाई थाहा नभएको तर बिहेको मिति तोकेर जन्त नगएको कसुरमा अमरूल्लाह र निजका छोरा नसीम अख्तरलाई पक्राउ गरिएको र उनीहरू दुवै बिहे गर्न राजी भएपछि प्रहरीको रोहबरमा निकाह गराएको प्रतीकलाई बताए ।
National/Online Media

0 Comments