संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले जिल्ला समन्वय समितिको कार्यालय र जलेश्वर नगरपालिकाको कार्यालयमा चैत ११ गते तालाबन्दी गरेको छ ।
जिल्ला समन्वय समिति महोत्तरीको कार्यलयमा मोर्चाका नेता तथा कार्यकर्ताहरूले तालाबन्दी गर्नुका साथै मधेस सरकारसमेत लेखेका छन् ।
स्थानीय पुर्नसंरचना अन्तर्गत गाउँपालिका, नगरपालिका र जिल्लाको सिमाङ्कन बाँडफाँडमा आफूखुशी गरेको र यसले जनतालाई सुविधा हुनुको साटो झन् समस्यामा पार्ने भन्दै मोर्चाले तालाबन्दी गरेको सङ्घीय समाजवादी फोरम नेपाल महोत्तरीका अध्यक्ष रामनरेश रायले बताए । उनले जनसङ्ख्याको आधारमा पुर्नसंरचना गर्नुपर्नेमा अधिकांश गाउँपालिकामा असमानता देखिएको बताए ।
मोर्चाले यसअघि नै जिल्लास्थित मनरा, एकडारा, बल्वा, सोन्मा, सम्सी, लोहारपटटी, मटिहानी, महोत्तरी, पिपरा, भङ्गहालगायतका १२ वटा गाउँपालिकामा तालाबन्दी गरिसकेको छ ।
साथै जिल्ला निर्वाचन कार्यालय महोत्तरीमा समेत चुनावको कार्यक्रम स्थगित गर्न चेतावनी दिएको मोर्चाले जनाएको छ ।
निर्वाचन अधिकृत पिङ्की रायले मोर्चाले कार्य बन्द गर्न चेतावनी दिएको बताउँदै चुनावमा सहयोग गर्न केही दिन अगाडि नै सर्वदलीय वैठक बोलाउँदा मोर्चा आवद्ध मधेसवादी दलले असहयोग गरेको बताइन् । उनले सो असहयोगबारे निर्वाचन आयोगमासमेत जानकारी गराइसकेको बताइन् ।