Incident Reports

खान नदिएको भन्दै म्यादी प्रहरीको आन्दोलन

2017-05-31

Madhes, Siraha, Lahan

सिरहाबाट छनोट भई सप्तरीमा खटिएका म्यादी प्रहरीले बुधबार इलाका प्रहरी कार्यालय लहानअगाडि प्रदर्शन गरेका छन् । आफूहरूलाई काममा खटिँदा खाना र बस्न नदिएको भन्दै उनीहरूले प्रदर्शन गरेका हुन् । म्यादी प्रहरीका लागि सरकारले उपलब्ध गराएको पोसाकमै जिल्ला प्रहरी कार्यालय सिरहाअगाडि उनीहरूले प्रदर्शन गरेका थिए । सिरहामा छनोट भइ सप्तरीमा खटिएकामध्ये ८० जना म्यादीले प्रदर्शन गरेको बताइएको छ । उनीहरूले आफूहरूलाई एक जिल्लामा छनोट गरेर अर्कै जिल्लामा पठाएर विभेद गरेको आरोप लगाए । उनीहरू जिल्ला प्रहरी कार्यालय सप्तरीअन्तर्गत इलाका प्रहरी कार्यालय रूपनी, कल्याणपुरलगायतका ठाउँमा खटिएका थिए । सप्तरीस्थित इलाका प्रहरी कार्यालय रूपनीबाट करिब २५ किलोमिटर दूरी पार गर्दै म्यादी प्रहरी पैदलै इलाका प्रहरी कार्यालय लहान आइपुगेका थिए। आफूहरूलाई प्रहरी कार्यालयमा बस्न नदिएको, खानका लागि ‘जहाँ मन लाग्छ, त्यही जाऊ’ भनेर हप्काउने गरेको एक म्यादीले बताए । नेपाल प्रहरीले म्यादी प्रहरीमा खटिएका महिलाहरूलाई जिस्क्याउने गरेको, ड्युटीमा खटिँदा नेपाल प्रहरीसँगै नगएकोलगायतका आरोप उनीहरूको छ । निर्वाचनको विरोध गर्दै आएको राजपा सप्तरीले प्रहरीलाई कुनै पनि सामान सहयोग नगर्न आह्वान गरेअनुसार सप्तरीमा प्रहरी पोसाकमा रहेकालाई पसलेले कुनै सामान बिक्री नगर्दा समस्या उत्पन्न भएको उनीहरूले बताए । इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक हीराबहादुर पाण्डेले म्यादी प्रहरीले लहानमा गरेको आन्दोलनको कुनै अर्थ नभएको बताए । उनले भने, ‘म्यादी छनोट जिल्ला प्रहरी कार्यालय सिरहाले गरेको हो, तर जिल्ला प्रहरी कार्यालय सप्तरीमा खटाइएको हो, अब उनीहरूलाई कस्तो व्यवहार भयो भन्ने कुरा सप्तरी प्रहरीले जान्ने हो ।’ तर जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक विश्वमणि पोखरेलले म्यादी प्रहरीले गरेको आन्दोलनबारे आफूलाई कुनै जानकारी नभएको बताए । उनले आफूलाई यस विषयमा लहान प्रहरीले कुनै जानकारी नगराएको प्रतिक्रिया दिए । नेपाल प्रहरीलाई समेत समस्या दोस्रो चरणको निर्वाचनको लागि अन्य जिल्लाबाट थप मद्दतमा आएका नेपाल प्रहरीलाई समेत सिरहामा समस्या भएको छ । सरकारले दोस्रो चरणको निर्वाचनको मिति पटक–पटक परिवर्तन गरेपछि थप मद्दतका लागि आएका नेपाल प्रहरीलाई खान र बस्न समस्या भएको हो । थप मद्दतका लागि चितवनलगायत जिल्लाबाट सिरहामा खटिएका प्रहरीलाई स्थानीय प्रहरी कार्यालयले खानलाई आफैँ व्यवस्था गर्न भनेपछि उनीहरू समस्यामा परेका हुन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Other governance issues
Actor 1 - Number of people 80
Actor 1 - Affiliations Police
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
National/Online Media , Local Newspaper - Dhanusha

0 Comments