Locals of Itahari protested accusing the Sub-metropolitan office is going to free the corrupted members involved in CFL purchase case. The local youths protest against the decision of December 15 by Itahari sub metropolitan Municipal council. The Itahari Sub metropolitan council had made decision to ask clarification rather than taking action against corrupted officials and people.
सीएफएल खरिदमा भ्रष्टाचार गर्नेलाई मुक्ति दिन खोजेको भन्दै स्थानीय वासिन्दाले विरोध प्रदर्शन गरेका छन् ।
नगर कार्यपालिकाको मंसिर २९ गतेको बैठक भ्रष्टाचारमा संलग्नलाई स्पष्टिकरणमात्रै सोध्ने निर्णय गरेको भन्दै स्थानीय युवाहरुले कारबाही गर्नुपर्ने माग राखेर उपमहानगरपालिकाको गेटमा धर्ना र विरोध प्रदर्शन गरेका हुन् । मंगलबार दिउँसो १ बजेदेखि उपमहानगरपालिकाको गेटमा प्ले कार्डसहित धर्नामा बसेका स्थानीय वासिन्दाले सीएफएल चिम खरिदमा भ्रष्टाचारमा संलग्नलाई माफी नदिन माग गरेका छन् ।
‘सीएफएल प्रकरणमा सम्बन्धित शाखा प्रमुखलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ’, अनलाइनखबरलाई प्राप्त नगर कार्यपालिकाको निर्णयमा भनिएको छ, ‘सामान खरिद र आपूर्ति प्रक्रियामा रहेको त्रुटी कमीकमजोरी अब उप्रान्त दोहोरिन नदिन सम्बन्धित सबैलाई सचेत गरिएको छ ।’ माघ २ गते पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने भनिएको निर्णय पत्रकार सम्मेलन अगाडि नै बाहिरिएको हो । यही निर्णयको विरोधमा स्थानीयले धर्ना दिएका हुन् ।
उद्योग वाणिज्य संघ इटहरीका दिवश पोखरेल, स्थानीय अभियानकर्मी दिब्यराज गुरुङ, उदय सुब्बा, सम्राट थापा लगायतका युवाहरु विरोधमा उत्रिएका छन् । विरोधको नेतृत्वकर्ता दिवश पोखरेलले दोषीलाई कारबाही नगरे चरणबद्ध आन्दोलन गर्ने बताए ।
इटहरी उपमहानगरपालिका गएको साउनदेखि कात्तिक ७ गतेसम्ममा ९७ लाख रुपैयाँको सीएफएल बत्ती खरिद भएको छ । सीएफएल बत्ती खरिदमा भएको भ्रष्टाचार छानबिन गर्न गठित समितिले २० लाख रुपैयाँ भ्रष्टाचार भएको हिसाब देखाएको छ । यद्यपी स्थानीय युवाहरु ६० लाख रुपैयाँसम्म भ्रष्टाचार भएको दाबी गर्छन् । सीएफएल खरिदमा भएको भ्रष्टाचार छानबिन गर्न उपमहानगरपालिकाले दीपक गौतमको नेेतृत्वमा ७ जनाको छानबिन समिति गठन गरेको थियो ।
भ्रष्टाचारमा प्रत्यक्ष जोडिएका लेखा शाखा प्रमुख लखनलाल चौधरी, जिन्सी शाखा प्रमुख मनोज दाहाल र खरिदमा जोडिएका शाखा प्रमुखलाई स्पष्टिकरण मात्रै सोध्ने निर्णयमा स्थानीयले विरोध जनाएका हुन् ।
इटहरी नगरकार्यपालिकाको बैठकमा सीएफएल खरिदमा संलग्नलाई स्पष्टिकरणमात्र सोध्ने निर्णयमा नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिले पनि समर्थन गरेका छन् । ३० जनाको नगरकार्यपालिकामा नेपाली कांग्रेसका १२ जना वडाध्यक्षहरु रहेका छन् ।