Incident Reports

बालविवाह गरेको कसुरमा एक महिना कैद र १० हजार रुपियाँ जरिबाना

2018-03-06

Karnali, Dailekh, Narayan, Ward 11

१५ वर्षीया बालिकासँग विवाह गरेको आरोपमा नारायण नपा-११ बिन्ध्यवासिनीका २६ वर्षीय हेमन्त थापालाई जिल्ला अदालतले फागुन २२ गते एक महिना कैद र १० हजार रुपियाँ जरिबाना गरेको छ । पीडित बालिकालाई विवाह गराउन फकाएको आरोपमा नारायण नपा-११ बिन्ध्यवासिनीकै गगनबहादुर थापा र शेरबहादुर थापालाई प्रति व्यक्ति एक/एक हजार रुपियाँ जरिबाना गरिएको अदालतका प्रवक्ता नासु विनोद आचार्यले जानकारी दिए । गएको असोज २८ गते राति आमा बुबा घरमा नभएको मौकामा फकाएर विवाह गरेको पीडित बालिकालाई फर्काएर पीडित पक्षले कात्तिक २ गते प्रहरीमा उजुरी दिएको थियो । पीडित पक्षको उजुरीका आधारमा जिल्ला सरकारी वकिल कार्यालयले कात्तिक २२ गते दैलेख जिल्ला अदालतमा बालविवाह मुद्दा चलाएको थियो । न्यायाधीश सनतचन्द्र लवटको इजलासबाट भएको फैसलामा अदालतमा पेश भएको प्रमाणका आधारमा बालविवाह गरेको ठहर गर्दै बालिका आमाबुवासँग गइसकेकोले विवाहको मान्यता कायम नरहने उल्लेख छ । २०६८ को जनगणनाको तथ्यांक अनुसार जनसङ्ख्याको अनुपातमा बालविवाह धेरै हुने जिल्लामा दैलेख तेश्रो स्थान छ । प्रतिशतका हिसावले ३२ दशमलव २५ प्रतिशत भए पनि बालविवाहको मुद्दा अदालतसम्म आइपुगेको यो दोश्रो मुद्दा हो । पाँच वर्षअघि परेको बालविवाहसम्बन्धी पहिलो मुद्दा पीडित बालिका नै ‘होष्टाइल’ भएपछि मुद्दा खारेज भएको थियो ।

0 Comments