Incident Reports

छोरा नपाएको भन्दै पत्नीलाई कुटपिट गरेको घटना बढ्दो

2018-05-03

Bagmati, Makawanpur, Hetauda

छोरा नपाएको भन्दै पतिले पत्नीलाई कुटपिट गर्ने गरेका घटना बढ्दो रहेको जिल्ला प्रहरी कार्यालयको महिला तथा बालबालिका सेवा केन्द्रले जनाएको छ । पाँच ओटा छोरी पाएर छैठौँ बच्चा जन्माउने तरखरमा रहेकी हेटौँडा पदमपोखरीकी ३१ वर्षीया पम्फा थिङलाई पति ३३ वर्षीय सानोकान्छा लामाले छोरा नपाउने गरेको भनेर वैशाख २० गते कुटपिट गरेका छन् । चार महिनाको गर्भवती थिङलाई छोरा नपाएको भनेर कुटपिट गरेकाले पतिलाई कारबाही गराउने उद्धेश्यले उनले केन्द्रमा वैशाख २४ गते उजुरी गरिन् । पत्नीले प्रहरीमा उजुरी हालेको थाहा पाएपछि सानोकान्छा घरमा आएका छैनन् । छोरा नपाएको कारणले पीडा भोग्नबाध्य महिला पम्फामात्र होइनन्, वकैया गाउँपालिका-१ धियालकी सानीकान्छी भोम्जनले पनि यस्तै पीडा भोग्दै आएकी छन् । उनको पनि चार ओटा छोरी छन् । छोरा नपाएका कारणले पति श्रीबहादुर भोम्जनले मादक पदार्थ सेवन गरेर कुटपिट गर्ने गरेका पीडितले आरोप लगाइन् । उनले पनि प्रहरीको महिला तथा बालबालिका सेवा केन्द्रमा उजुरी दिएकी छन् । ‘छोरीमात्र जन्माई भनेर पत्नीलाई कुटपिट गरेको उजुरी महिनामा चार देखि पाँच ओटा पर्छन् ।’-महिला तथा बालबालिका सेवा केन्द्रकी प्रमुख दिपा कार्कीले भनिन्-‘पहिलो कुरा छोरा नभइ नहुने गलत संस्कार र अर्कोतिर छोरीमात्र जन्माई भनेर पत्नीलाई दोषी ठहर्‍याउनु यो कस्तो बिडम्वना हो ?’ जिल्ला प्रहरी कार्यालय हेटौँडास्थित महिला तथा बालबालिका सेवा केन्द्रमा घरेलु हिंसाको मुद्दा दैनिक २ देखि ३ ओटा दर्ता हुने गरेका छन् । दर्ता भएका अधिकांश उजुरी मादक पदार्थ सेवन गरेर पतिले पत्नीलाई कुटपिट गरेको, सासूले बुहारीलाई भुत्ल्याएको, घर परिवारले बुहारीलाई घरबाट निकालेको लगायतका छन् । विशेषगरी मादक पदार्थ सेवनका कारण घरमा महिलाहरू प्रताडित हुने गरेको सेवा केन्द्रकी प्रमुख कार्कीले बताइन् । ‘मकवानपुरमा घरेलु हिंसाका घटनाहरू बढ्दो छ ।’-उनले भनिन् । साउन महिनामा ४३ ओटा घरेलु हिंसाका घटनाका उजुरी दर्ता भएका थिए भने मङ्सिर महिनामा १८ ओटा दर्ता भएका थिए । प्रहरीको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको साउनदेखि चैतसम्म नौ महिनामा २ सय ७५ ओटा घरेलु हिंसाका उजुरी परेका थिए । तीमध्ये १ सय ९१ ओटा उजुरीमा सेवा केन्द्रले नै मिलापत्र लगायतका निर्णय गरेर किनारा लगाइसकेको छ । ८४ ओटा उजुरीको किनारा लगाउन बाँकी छ । पीडित र आरोपित मध्ये एक जना बाहिर भएकाले पनि उजुरी टुङ्गोमा पुर्‍याउन सकेको छैन भने केही मुद्दा अदालतमा पनि पुगेको प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Injured 1
Female Injured 1
INSEC

0 Comments