Incident Reports

अदालतको परमादेशपछि प्रहरीमा उजुरी दर्ता ।

2018-09-28

Madhes, Saptari, Saptakoshi, Ward 9

Alert: Saptari/Sep 28, कञ्चनरुप नपा–९ धरमपुरकी १८ वर्षीया कविता रामसँग बालविवाह गरेको आरोपमा प्रहरीले रामसहित कञ्चनरुप नपा–९ रुपनगरका २० वर्षीय मनिष साहलाई असोज १० गते गिरफ्तार गरी असोज ११ गते उजुरी दर्ता गरेको छ । उच्च अदालत जनकपुर राजविराज इजलाशबाट भदौ २४ गते भएको परमादेशको पत्र असोज २ गते प्राप्त भएकाले बालविवाह गर्ने कविता र मनिषलाई गिरफ्तार गरी बालविवाह विरूद्धको उजुरी दर्ता गरिएको जिल्ला प्रहरी कार्यालयका एसपी राजेन्द्र विष्टले बताए । कविताका बुवा, आमाविरूद्ध यसअघि मनिषका बुवा शिवनारायण साहले दिएको अपहरण तथा शरीर बन्धक एवम् बन्दी प्रत्यक्षीकरण रिट उच्च अदालतले खारेज गरेपछि उनले बालविवाह बदरको उजुरी दर्ता गरी पाउँ भनी उच्च अदालतमा परमादेशको रिट दिएका थिए । मनिषका बुवा शिवनारायणले कविताको उमेर १५ वर्ष पनि पूरा नभएको दावी गरेका छन् । पुष २१ गते परिवारको सहमतिबिना भागेर घरजम गरेका कविता र मनिषलाई अलग गराएर माघ २८ गते आआफ्ना अभिभावकको जिम्मा लगाए पनि अभिभावकसँग बस्न इन्कार गर्दै मनिषले फागुन १ गते हनुमानगर कङ्कालिनी नपा–१ भारदहस्थित कङ्कालिनी भगवती मन्दिरमा कवितासँग प्रेम विवाह गरेर सँगै बस्दै आएका छन् । कञ्चनरुप नगरपालिकाको न्यायिक समितिले समेत मनिष र कवितालाई चैत १३ गते आआफ्नो अभिभावकको जिम्मा लगाएपनि परिवारसँग जान इन्कार गर्दै मनिष र कविता सँगै बस्दै आएका छन् । प्रहरी हिरासतमा रहेकी कविताको स्वास्थ्य अवस्था असोज १० गते राति बिग्रिएपछि उनलाई तत्कालै राजविराजस्थित अञ्चल अस्पताल भर्ना गरिएको छ । आफ्नो पेटमा नौ महिनाको बच्चा रहेको जानकारी दिँदै अस्पतालमा उपचाररत कविताले यस्तो बेलामा पतिसँग शान्तिपूर्ण रूपमा बस्न पाउने र भयमुक्त वातावरणमा बच्चा जन्माउन पाउने अधिकारको गुहार लगाइन् । दलित युवतीलाई बुहारी स्विकार्न नसकेका मनिषका वुवा शिवनारायणले कानुनी छिद्र खोजेर एकपछि अर्को मुद्दा दिएको रामका छिमेकी डिकबहादुर विश्वकर्माले भने–‘सँगै जीउने–मर्ने भनेर आदर्श विवाह गरेका जोडीलाई अलग गर्न अपहरण तथा शरिर बन्धक तथा बन्दी प्रत्यक्षीकरणको रिट खारेज भएपछि शिवनारायणले बालविवाहको लागि परमादेश गराएका हुन् ।’ स्वास्थ्य परामर्श र उपचारको आवश्यक्ता रहेपनि नौ महिनाकी गर्भवतीलाई प्रहरी हिरासतमा थुनेर गर्भको बालकमाथि समेत अन्याय भएको भन्दै कविताकी आमा शान्तिदेवीले दलित भएकै कारण एकपछि अर्को मुद्दा खेप्नु परेकोले कानुनी संरक्षणको माग गरिन् ।

0 Comments