Incident Reports

बलात्कृत किशोरी विद्यालयबाटै विस्थापित

2018-10-11

Province 1, Udayapur, Rautamai

बलात्कृत उदयपुरकी एक किशोरी विद्यालयबाट विस्थापित भएकी छन्। कक्षा १० मा अध्ययनरत १७ वर्षीया किशोरी २०७५ बैशाख २८ गते बलात्कारपछि समाज र विद्यालयबाटै विस्थापित भएकी हुन्। उनलाई कटारी नगरपालिका- ४ सिम्ले पानीट्यांकीका ३५ वर्षीय दिपेन्द्र कोइरालाले बलात्कार गरेको पीडित परिवारले दिएको निवेदनमा उल्लेख रहेको इलाका प्रहरी कार्यालय कटारीका प्रमुख डीसपी ध्रुवकुमार श्रेष्ठले बताए। घटनापछि पीडित परिवारले जेठ १५ गते इप्रका कटारीमा जाहेरी दिएका थिए। निवेदनपछि असार १३ गते गिर्फ्तार परेका कोइराला असार १४ गते जिल्ला प्रहरी कार्यालय परिसरबाटै फरार भएका थिए। डीएसपी श्रेष्ठले भने, 'घटनाको निकै पछि मात्र हामीलाई निवेदन आयो, खोजीकार्य जारी छ, हामी आरोपित नजिक पुगिसेका छौ।' बलात्कारबाट विक्षिप्त बनेकी किशोरी बाहिर निस्कने अवस्था नरहेपछि विस्थापित हुनु परेको परिवारको भनाई छ। घरबाट बाहिर निस्कँदा र विद्यालय जाँदासमेत फलानोले बलात्कार गरेको भन्दै होच्याउन थालेपछि किशोरी विस्थापित हुन बाध्य भएकी हुन्। एसईई परीक्षाको तयारीमा रहेकी किशोरी साँढे चार महिनादेखि विद्यालय नआएको विद्यालयका प्रअले जानकारी दिए। बलात्कृत भएपछि किशोरी जेष्ठ महिनामा ७ दिन मात्र विद्यालय गएकी थिइन्। विद्यालय जाँदा सबै हेला गर्न थालेपछि उनी विद्यालय छाडन बाध्य भएकी हुन्। एसईई परीक्षा फर्म भर्ने समय आएपनि उनी विद्यालयमा उपस्थित नभएको प्रधानाध्यापकले बताए। उनी प्रथम त्रैमासिक र अर्धवार्षिक परीक्षामासमेत अनुपस्थित भएको प्रधानाध्यापकले बताए। प्रअकाअनुसार उनी विद्यालयमा इमान्दार र मेहनती किशोरी हुन्। बालिकालाई मानसिक तनाव, विद्यालयमा जाँदा पनि त्यही घटना झल्को आइरहने, पढ्न मन नलाग्ने, राति आफै तर्सनेजस्ता समस्या देखापरेपछि बसोबास गर्दै गरेको ठाउँ छोडन बाध्य भएको परिवारले बताएका छन्। आरोपितलाई इप्रका कटारीले असार १३ गते गिर्फ्तार गरी जिल्ला प्रहरी कार्यालय उदयपुरमामा बुझाएको थियो । गिर्फ्तार गरेर अनुसन्धान गर्ने र मुद्दा चलाउने अधिकार इप्रका कटारीलाई हुँदा हुँदै प्रहरीले राजनीतिक दबाब आउनसक्ने भन्दै सोही दिन जिप्रका पठाएको बुझिएको छ। निवेदनपछि घटनाको बारेमा दर्ता गर्नु अघि दुवै पक्षलाई झिकाएर बुझ्ने क्रममा आरोपित प्रहरीलाई छलेर फरार भएको प्रहरीको दावी छ। यधपि पीडित परिवारले भने कोइरालालाई प्रहरीले भगाइ दिएको दावी गरेको छ। पीडित परिवारले आरोपितलाई पक्राउ गरेर पीडितलाई न्याय दिनुको साटो भगाएको आरोप लगाएका छन्। उनलाई भाइ राम कोइरालाले प्रहरीकै आँखा अगाडी राजाबास-चुहाडे-मुर्कुची-नेपालटार हुँदै भगाएको पीडित परिवारले आरोप लगाएका छन्। सीसी क्यामरा र बलियो सुरक्षा घेराभित्रबाट कोइराला फरार हुनु रहस्यमय भएको पीडितका बुवाले बताए। पीडितका आफन्तले आरोपित कोइरालालाई प्रहरी कार्यालयबाट उनकै भाइ राम कोइरालाले प्रहरीकै सामुन्ने मोटरसाइकलमा चढाएर भगाएको आरोप लगाएका छन्।

0 Comments