The local administration of the district has imposed indefinite curfew in Krishna Nagar.
The curfew has been clamped from 5 pm on Sunday evening following the clash between the local youths that went out of control.
According to CDO Arjun Prasad Pokhrel, the clash was ignited October 19 during the immersion of the idols of Durga which went out of control for which the local administration has imposed indefinite curfew.
कपिलवस्तुको कृष्णनगरमा नवदुर्गा पूजाको मूर्ति विर्सजनका क्रममा विवाद उत्पन्न भएको छ । कृष्णनगर बजारभित्र नवरात्रभर पूजा गरिएका मूर्तिलाई विसर्जन गर्न लैजाने क्रममा बाटोमा विवाद सिर्जना भएको थियो ।
शनिबारदेखि सुरु भएको विवाद आइतबार दिनभर कायम रह्यो । स्थानीय हिन्दु समुदाय र मुस्लिम समुदायबीच विवाद बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले आइतबार साँझ ५ बजेदेखि कर्फ्यू लगाएको छ । प्रमुख जिल्ला अधिकारी अर्जुनप्रसाद पोखरेलले भारतीय सीमा क्षेत्रको बजार कृष्णनगर क्षेत्रमा शान्ति सुव्यवस्था कायम गर्न ५ बजेदेखि कर्फ्यू लगाएको जानकारी दिए ।
प्रशासनले कार्तिक ४ गते साँझ ५ बजेदेखि कृष्णनगर बजारको दक्षिण क्षेत्र नेपाल–भारत दशगजा, उत्तरतर्फ कृष्णनगर–१ शिवानगरको बढाया पोखरीक्षेत्र, पूर्व सेमरा गाउँ र पश्चिम सिर्सिहवा चोकसम्म कर्फ्यू लगाउने निर्णय गरेको हो ।
कर्फ्यूको समयमा कसैलाई पनि घर बाहिर निस्कन, आवत जावत गर्न, भेला हुन, जुलुस निकाल्न तथा हुलदंगा गर्न नपाउने गरी स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ क (१) बमोजिम आदेश जारी गरिएको जिल्ला प्रशासन कार्यलयले जनाएको छ ।
कसरी बढ्यो विवाद ?
कृष्णनगरबासीका अनुसार मूर्तिविसर्जन गर्न लैजाने क्रममा भिडियो खिच्दै गरेका केही मुस्लिम समुदायका युवा र भिडियो खिच्न रोक्न खोज्ने हिन्दु समुदायका युवाहरु बीच विवाद उत्पन्न भएको थियो । मुस्लिम समुदायका स्थानीय युवाले मूर्तिविसर्जनका बेला भइरहेको जात्रा र नाचको भिडियो खिचिरहेका थिए।
कृष्णनगरमा अवस्थित नैमिया मस्जिद अगाडी ती मुस्लिम युवाले दुर्गा मूर्तीको भिडियो बनाएका खिचेका थिए । सोही भिडियो खिच्दै गरेको अवस्थामा हिन्दु समुदायका केही युवाले भिडियो नलिन आग्रह गरेका थिए । आग्रहलाई मुस्लिम समुदायका युवाले नमानेको भन्दै हिन्दु समुदायका युवा आक्रमणमा उत्रेपछि विवादले उग्ररुप लिएको बताइएको छ । पछि दुर्गा विसर्जन गर्न हिडेकामाथि मुस्लिम समुदायका केही युवाले ढुङ्गा प्रहार गर्न थालेपछि शनिबार दोहोरो ढुङ्गा हानाहान भएको थियो ।
मूर्तिविसर्जनका क्रममा भएको विवाद दुवै पक्षका युवाको कमजोरीमा भएको कृष्णनगरका समाजसेवी कृष्णकुमार गुप्ताले बताए । भिडियो खिच्ने र भिडियो नखिच्न आग्रह गर्ने दुवै पक्षका युवालाई पक्राउ गरी वातावरणलाई शान्त पार्न प्रहरीलाई पटक–पटक आग्रह गरेपनि प्रहरीले कुनै चासो नलिएको गुप्ताले गुनासो गरे ।
‘दुवै पक्षको कमजोरी भएकै हो त्यो स्थानीय प्रशासनले समयमै बुज्न सकेन’ गुप्ताले भने, ‘सामान्य विवादले धार्मिक रुपमा मन्तभिन्नता बढायो।
विजया दशमीको भोलीपल्ट हरेक बर्ष त्यहाँका हिन्दु समुदायले दुर्गाको मूर्तिविसर्जन गर्दै आए पनि यसपालि रोकिन पुगेको छ । विवादले उग्ररुप लिएपछि जिल्लाबाट सुरक्षाकर्मी परिचालन गरिएको थियो ।
सुरक्षाकर्मीको बाक्लो उपस्थितिमा पनि दुर्गाको मूर्ति विसर्जन गर्न समस्या भएको थियो। हिन्दु समुदायले मूर्ति विसर्जनलाई सधैं प्रयोग गर्ने बाटो प्रयोग गर्न पाउनुपर्ने माग गरेका थिए। प्रशासनले सो बाटोको प्रयोग नगर्न आग्रह गरेपनि हिन्दु समुदायले नमानेपछि प्रहरी र हिन्दु समुदायबीच झडपको स्थिति सिर्जना भएको थियो।
झडपबाट स्थानीय दुई युवा घाइते भएका छन् । घाइते हुनेमा कृष्णनगरका सोनु गुप्ता र सोही स्थानमा राम भन्ने युवा रहेको कृष्णनगरबासीले बताएका छन् । गुप्ताको भैरहवामा उपचार भैरहेको छ भने राम भन्ने युवालार्इ उपचारका लागि भारत लगिएको बताइएको छ। झडपमा परी केही व्यक्ति घाइते भएको बताइएको छ।
सामान्य विवाद साम्प्रदायिकतासँग जोडिन थालेपछि जिल्ला प्रशासन कार्यालयले सजकता अपनाएको छ। प्रशासनले राजनैतिक दल, भद्रभलाद्मीसँग बसेर सहमतिको बाटो खोज्ने प्रयास गरेको थियो । शनिबार साँझ मात्र प्रशासनले दुवै समुदायलाई राखेर सहमतिको प्रयास गरेको थियो ।
दुवै धार्मिक आस्था भएका समुदायलाई मर्म नपर्ने गरी सहमतिको विन्दु खोज्ने प्रयास भयो । हिन्दु समुदायले पुरानै बाटोको प्रयोग गर्न पाउनुपर्ने अडान राखेपछि अहिले उक्त बाटोबाट दुर्गाको मूर्तिविसर्जन गर्ने तयारी भइरहेको बताइएको छ ।