Incident Reports

दुराचार आरोपमा शिक्षक निलम्बित

2019-01-28

लगनखेलस्थित ललितपुर माध्यमिक विद्यालयका शिक्षक बोधराज त्रिपाठी यौन दुराचारको आरोप लागेपछि निलम्बनमा परेका छन् । उक्त विद्यालयमा आफू पढदाताका त्रिपाठीले यौन दुव्र्यवहार गरेको आरोप पूर्वछात्राले लगाएको समाचार ‘दि काठमान्डु पोस्ट’ मा शनिबार प्रकाशित भएको थियो ।
ललितपुरको लगनखेलस्थित ललितपुर माध्यमिक विद्यालय परिसरमा आइतबार उक्त विद्यालयका शिक्षकको यौन दुराचारबारे बताउँदै एक विद्यार्थी । तस्बिर : हेमन्त श्रेष्ठ/कान्तिपुर

विद्यार्थी तथा अभिभावक आइतबार विद्यालय घेर्न पुगेका थिए । विद्यार्थीले त्रिपाठीलाई तत्काल कारबाही गर्नुपर्ने मागसहित प्रहरी वृत्त जाउलाखेलमा उजुरीसमेत दिएका छन् । चौतर्फी दबाब सिर्जना भएपछि विद्यालय प्रशासनले त्रिपाठीलाई कारबाही प्रक्रिया अघि बढाउन स्पष्टीकरण सोध्ने निर्णय गरेको भाइस प्रिन्सिपल गीता सिटौलाले बताइन् ।

‘गत बिहीबारदेखि नै बोधराज सर विद्यालय आउनुभएको छैन,’ सिटौलाले भनिन्, ‘विद्यार्थी र अभिभावकसँग बसेर कानुनसम्मत ढंगले कारबाही प्रक्रिया अघि बढाउन निर्णयसहित ६ बुँदे सहमति गरेका छौं ।’ त्रिपाठी २०४८ सालदेखि उक्त विद्यालय पढाउँदै आएका छन् ।

पूर्वविद्यार्थीले यसअघि व्यवस्थापनलाई जानकारी गराए पनि बेवास्ता गरेको बताएका छन् । पूर्वविद्यार्थी सब्रिना बस्नेतले व्यवस्थापन समितिलाई पहिलेदेखि नै त्रिपाठीको आचरणलाई लिएर ध्यानाकर्षण गराएको तर बेवास्ता गर्दा बाध्यात्मक रूपमा अघि बढ्नुपरेको बताइन् ।

‘विद्यालय एक सार्वजनिक संस्था हो, यसको साख जोगाउनुपर्छ तर एक शिक्षकको आचरणले हामी पीडित भयौं भनेर सुनाउँदा बेवास्ता गरियो,’ अधिवक्तासमेत रहेकी बस्नेतले भनिन्, ‘अब दोषी शिक्षकलाई कारबाही र संस्थाको व्यवस्थापन समिति बदलेर स्वतन्त्र छनोट समिति गठन गर्ने सहमति भएको छ ।’

0 Comments