Incident Reports

सडकको धुलोले विद्यार्थीलाई सास्ती, शिक्षक र अभिभावक उत्रिए विरोधमा

2019-03-15

Bagmati, Dhading, Nilakantha, Ward 12

धादिङ : विद्यालय नजिकै रहेको सडक निर्माणका क्रममा ठेकेदारले लापरवाही गर्दा उडेको धुलोको कारण विद्यालयको पठनपाठन नै प्रभावित भएको छ। निर्माणाधिन धादिङ-साङकोष-तिप्लिङ सडकखण्ड अन्तरगत नीलकण्ठ नगरपालिका-१२ पचघरेमा सडक छेउमै रहेको साँकोष माध्यमिक विद्यालयमा सडक मर्मत गर्दा निक्लिएको अत्याधिक धुलोले गर्दा पठनपाठन प्रभावित भएपछि शिक्षक, विद्यार्थी र अभिभावक विरोधमा उत्रिएका छन्।

सडकको स्तरउन्नतीको काम भइरहे पनि ठेकेदार कम्पनीले काम अलपत्र पारेर छाडेको तथा सडक विस्तार गरेपछिको माटो सडकमै छाडेका कारण उक्त क्षेत्रमा अत्याधिक धुलो उड्ने गरेको छ।

सडक निर्माण गर्दा अत्याधिक धुलो उड्ने क्षेत्रमा नियमित रुपमा पानी हाल्नुपर्ने सम्झौता भएपनि ठेकेदार अटेर गरेकाले शुक्रबार सडकको निर्माण कार्यका लागि पानी बोक्ने ट्याङकरको बाटो छेकेर विद्यार्थी शिक्षक र अभिभावकले विरोध गरेका छन्।

सवारी आवागमन हुँदा अत्याधिक धुलो उड्ने गर्नाले नियमित कक्षा संचालन गर्न समेत समस्या भएको र विद्यार्थी तथा शिक्षक बिरामी पर्न थालेको शिक्षक नवराज सापकोटाले बताए। उनले भने, 'अन्तिम परीक्षा आउन लागेको छ, सडकमा उडेको धुलोले गर्दा विद्यार्थीमा आँखा पोल्ने, रुघाखोकी लाग्नेजस्ता समस्या देखा पर्न थालेपछि विरोधमा उत्रिनुपरेको हो।'

कक्षाकोठामा बस्दा पनि सास रोकेर बस्नुपर्ने अवस्था आएको र पढाउनै नसक्ने अवस्था सिर्जना भएपछि विरोधमा उत्रिनुपरेको उनले बताए। शिक्षक तथा विद्यार्थीरले शुक्रबार सडकमै ओर्लिएर आइतबारसम्म पनि धुलो नियन्त्रणको लागि कसैले पहल नगरे आइतबारबाट उक्त रुट भएर चल्ने सवारी आवागमन ठप्प पार्ने चेतावनी दिएका छन्।

स्थानीय अभिभावक शिवनारायण श्रेष्ठले भने, 'निर्माणाधिन सडकमा उडेको धुलो नियन्त्रण गरिदिनका लागि बाटो बनाउने ठेकेदारलाई पटकपटक अनुरोध गर्दा सुनुवाइ भएको छैन, अब बाटो नै बन्द गर्नु नपरोस भनेर आज हामीले चेतावनीस्वरुप विरोध गरेका हौँ।'

धुलोको कारण सडक छेउछाउमा रहेका घरमा बस्नै नसक्ने अवस्था भएकाले धुलो नियन्त्रणका लागि समन्वय गरिदिन नीलकण्ठ नगरपालिकालाइ समेत मौखिक जानकारी गराइएको अर्का अभिभावक जानुका राउले बताइन्।

सडक निर्माण सम्झौता गर्दा धुलो उडेमा सडकका सबै ठाउँमा पानी हाल्नुपर्ने नियम रहेको हुन्छ तर ठेकेदारले मानवबस्ती भएको र विद्यालय क्षेत्रमा समेत पानी नहालिदिँदा सडक छेउछाउका मानववस्तीहरु र विद्यालय बढी मर्कामा परेका छन्। 

'धुलो टाँसिएर घर वरपरको बोटविरुवा र घाँसपात गाईवस्तुलाई खुवाउनै नमिल्ने भएको छ,' जानुकाले भनिन्, ' धोएका  सुकाउन पाइँदैन, हुँदाहुँदा विद्यालयमा धुलोको असर देखिन थालेपछि बाध्य भएर सडकमा विरोध गर्नुपर्‍यो।'

हिउँदमा ग्रामीण क्षेत्रका अधिकांश सडक आसपासका गाउँहरु धुलोले गर्दा अस्तब्यस्त बन्ने गरेको छन्। त्यसैमाथि सडक स्तरउन्नति गर्दा बाटो फराकिलो बनाउनका लागि भित्ता काट्नुपर्ने र भित्ता काटिसकेपछि निक्लिएको माटो सडकमै छाडिदिनाले अत्याधिक धुलो उड्ने गरेको छ।

निमार्णाधिन अवस्थामा रहेको उक्त सडकको किन्ताङफेदीबाट मर्मतको काम हुँदै आइरहेको छ।तर निमार्ण कार्यमा भइरहेको ढिलासुस्तीले गर्दा सडक आसपासका स्थानीयले हिउँदको समयमा अत्याधिक धुलो र बर्खाको समयमा हिलोको समस्या झेल्नु परिरहेको छ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Other governance issues
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Private company
Actor 2 - Youth na
National/Online Media

0 Comments