Incident Reports

नगरपालिकामा तालाबन्दी

2019-03-31

Karnali, Mugu, Chhayanath Rara

छायानाथ रारा नगरपालिकामा ६ दिनदेखि जारी तालाबन्दीका कारण प्रशासनिक र विकास निर्माणका कामकाज ठप्प भएका छन् । घन्टौं हिंडेर सरकारी सेवा लिन आएका सेवाग्राही तालाबन्दीका कारण रित्तो हात फर्कन बाध्य छन् ।

नगरप्रमुख हरिजंग शाहीले आफूहरूसँग सहकार्य नगरी एकलौटी ढंगले काम गर्न खोजेको भन्दै उपप्रमुख सुन्तला रोकायासहित कार्यपालिकाका सदस्यले तालाबन्दी गरेका हुन् । नेकपाका जनप्रतिनिधिले आइतबारदेखि गरेको तालाबन्दीका कारण कामकाज ठप्प भएको हो । नगरमा कार्यरत कर्मचारी दिनभर घाम तापेर बस्ने र कार्यालय समय सकिएपछि घर फर्कने गरेका छन् । तालाबन्दीका कारण कर्मचारीले हाजिरसमेत गर्न पाएका छैनन् ।

आन्दोलनरत जनप्रतिनिधिले आफूहरूले राखेका ६ बुँदे माग पूरा नभएसम्म तालाबन्दी जारी रहने जनाए । नगर उपप्रमुख सुन्तला रोकायाले माग पूरा नभएसम्म र नगरप्रमुखले आफ्नो व्यवहार नसच्याएसम्म आन्दोलन जारी रहने बताइन् । उनीहरूले प्रदेशसभाको ऐनविपरीत ९ महिनासम्म नगरसभाको बैठक नबोलाएको, चार महिनासम्म नगर कार्यपालिकाको बैठक नबसेको, स्वेच्छाचारी ढंगबाट नगरका कामकाज सञ्चालन गर्न खोजेको लगायतका आरोप लगाएका छन् । नियमित चौमासिक प्रगति समीक्षासमेत नगरिएको उपप्रमुख रोकायाले बताइन् ।

नगरपालिकामा बहुमत र अल्पमतको लडाइँका कारण विकास निर्माणका कामले गति लिन नसकेको स्थानीयको भनाइ छ । नगर कार्यपालिकामा नेकपा पक्षका १६ र कांग्रेस पक्षका ८ सदस्य छन् । त्यस्तै नगरसभामा नेकपामा ३७ र कांग्रेसतर्फका ३५ जनप्रतिनिधि छन् ।

बहुमतको कदर हुनुपर्ने नेकपापक्षीय र नगरप्रमुखको निर्देशनमा अन्य जनप्रतिनिधि चल्नुपर्ने कांग्रेसपक्षीय जनप्रतिनिधिको दाबी छ । ‘बहुमत र अल्पमतको लडाइँ होइन, नगरप्रमुखको कार्यशैलीप्रति विरोध हो,’ वडाध्यक्ष डम्बर रावलले भने, ‘माग पूरा नहुँदासम्म तालाबन्दी जारी रहनेछ ।’

तालाबन्दीको बेवास्ता गर्दै नगरप्रमुख शाही मंगलबार जिल्लाबाहिर गएपछि आन्दोलनरत जनप्रतिनिधि आक्रोशित बनेका छन् । नेकपापक्षीय जनप्रतिनिधिले चैत ६ गते नगरप्रमुखको कार्यशैलीप्रति विरोध जनाउँदै २६ बुँदे प्रेस विज्ञप्ति सार्वजनिक गरेका थिए । नगरपालिकामा अहिलेसम्म चालु आर्थिक वर्षका कुनै पनि योजनाका काम अगाडि बढ्न सकेका छैनन् ।

आन्दोलनमा उत्रिएका जनप्रतिनिधिसँग सहमतिको प्रयास भइरहेको नगरपालिकाका निमित्त नगरप्रमुख पशुराम नेपालीले बताए । उनले नगरप्रमुख कामविशेषले जिल्लाबाहिर गएकाले केही समस्या भएको जनाए । ‘म सकेसम्म सहमति गरेर ताला खोल्ने प्रयासमा छु, अन्य विमति नगरप्रमुख फर्किएपछि राख्न आन्दोलनरत पक्षलाई आग्रह गरेको छु,’ उनले भने, ‘तालाबन्दीका कारण सेवा प्रवाह र विकास निर्माणका काममा समस्या भइरहेको छ ।’

Details and Impacts
Violent / Non-violent Nonviolent
Event Duration More than 1 day
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Other governance issues
Actor 1 - Number of people 5
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments